पोखरा/ राष्ट्रिय ह्यान्डबलका पूर्व खेलाडी एवम् बास्केटबल संघ जिल्ला अध्यक्ष ध्वजकुमार गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्षमा नियुक्त भएका छन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।
उनलाई बिहीबार युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । खेलकुद मन्त्रालय छुट्टिनु अघि सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेश खेलकुद परिषद् गठन गरेको थियो । उक्त समयमा खेलकुदमा योग्दान दिएका व्यक्तिलाई पछि राख्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले विदेशमा रहेका व्यक्तिलाई उपाध्यक्ष बनाएकी थिइन् । उनले आफ्नै जिल्लाका नारायण पुनलाई उपाध्यक्षमा नियुक्ति गरेकी थिइन् । मन्त्रालयले उपाध्यक्षमा नियुक्ति दिएपनि नारायण भने लन्डन भएकाले सपथ लिनसमेत आएका छैनन् ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले विदेशमा भएकालाई कुनै पदमा राख्न नसकिने बताउँदै ध्वजकुमारलाई उपाध्यक्षका लागि सिफारिस गर्दै उपाध्यक्षको कार्यभार सम्हाल्न दिएका हुन् । उनलाई साउनमै उपाध्यक्ष बनाउने निणर्य गरिएको थियो । ध्वजकुमार खेलकुद मन्त्री राजीव गुरुङका सल्लाहकारसमेत हुन ।
उपाध्यक्ष गुरुङलाई बधाइ दिँदै परिषद्का सदस्य सचिव तेज गुरुङले खेलकुद विकासका सधैं कटिबद्ध भएर लाग्न आग्रह गरे । युवा तथा खेलकुद मन्त्रालयका सचिव विनोद बहादुर कुँवरले अब १÷२ खेलको मात्र नभई समग्र खेलको जिम्मेवारी आएको बताए । उनले सबै खेल र खेलाडीको मनोभावना बुझेर काम गर्न आग्रह गरे ।
यस्तै परिषद्ले बिहीबारनै परिषद्को वेभसाइटको पनि उद्घाटन गरेको छ । युवा खेलकुद सम्बन्धी सम्पूर्ण जानकारीहरुलाई विद्युतीय माध्यमबाट जानकार दिन वेभसाइटको निमार्ण भएको सदस्य सचिव तेज गुरुङले जानकारी दिए ।
मनाङ र लमजुङमा साहसिक खेलको सुरुआत भएको छ : मन्त्री गुरुङ
खेलकुद मन्त्री राजिव गुरुङले मनाङ र लम्जुङमा साहसिक खेलको सुरुआत गरेको बताएका छन् । उनले मनाङमा आइस क्लाइमिङ र लम्जुङमा क्यानोइङको सुरुवात भएको बताए ।
‘हामीले मनाङ र लम्जुङमा साहसिक खेलको सुरुवात गरेका छौं । मनाङमा आइस क्लाइमिङको सुरुआत भएको छ भने, लम्जुङमा क्यानोनिङको सुरुआत भएको छ,’ उनले भने । उनका अनुसार आइस क्लाइमिङ ३ वर्षअघि देखि आएपनि हाल भने खेलकुद मन्त्रालयले सहयोग गर्दै साहसिक खेलको रुपमा विकास गर्न लागि परिरहेको छ ।
यी बाहेक मस्र्याङ्दी नदीमा २ डोरीको सहायतामा अर्को नयाँ साहसिक खेलको योजना ल्याएको बताए । ‘हेर्दा आर्मी पुलिसको तालिम जस्तो देखिन्छ । आर्मी पुलिसको तालिममा जसरी एउटा डोरीको सहायताले डोरीमा झुन्डिएर पार गरिन्छ त्यसरी नै हामीले २ डोरीको सहायताले पार गर्नेगरी खेल ल्याएका हौं,’ उनले भने ।
साहसिक खेलमा जोखिम निकै हुने हुँदा पर्यटकको रोजाइको केन्द्रबिन्दु बन्न सक्ने विश्वास रहेको उनले सुनाए । खेलकुदमा लगानीको अभाव हुँदा आवश्यक विकास गर्न नसकेको उनको धारणा रहेको छ । बजेट अभावले भौतिक पूर्वाधारसमेत निमार्ण गर्न नसकेको उनले बताए ।
गण्डकी प्रदेश सरकारले बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासमेत अन्योलमा परेको मन्त्री गुरुङले बताए । उनले बर्षेनि करोडौं रुपैयाँ फ्रिज हुँदै आएको बताउँदै उक्त रकम फ्रिज नगरी खेलकुदलाई दिए शत्प्रतिशत खर्च गर्ने बताए ।





