बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

द्वन्द्वकालका बेपत्ताको खोजी गर्दै आफन्त

द्वन्द्वकालका बेपत्ताको खोजी गर्दै आफन्त


  • ढोरपाटन संवाददाता
  • भाद्र १४ २०७८, सोमबार

बागलुङ– बेपत्ता दिवसको अवसर पारेर बागलुङका २ जना पीडितले आफन्तको खोजी थालेका छन् । आफ्नै प्रयासमा पटक पटक खोजी अभियान चलाइरहेका ती दुवैजनाले पहिलो पटक प्रहीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा पुगेर तत्कालीन बोहोरागाउँ गाविस, हालको निसीखोला गाउँपालिका ४ का खुमलाल शर्माले आफ्नी श्रीमती सुशिलाको खोजी गरिदिन आग्रह गर्दै जाहेरी दिएका हुन् ।
उनकी श्रीमती सुशिलालाई माओवादीका कार्यकर्ताले जवरजस्ती अपहरण गरेर लगेपछि अहिलेसम्म फिर्ता नदिएको बताए । उनले श्रीमती खोजी गरिदिन र पीडकलाई कारवाही गर्न माग गरेका छन् । उनले माओवादीका गाउँ, इलाका र जिल्ला इन्चार्जविरुद्ध जाहेरी दिएको बताए । २०६२ साल मंसिर १३ गते सुशिला बेपत्ता भएकी थिइन् ।
त्यस्तै तत्कालीन राङखानी गाविस हालको जैमिनी नगरपालिका १० का विमल केसीले आफ्नो छोरा सेनाले बेपत्ता पारेको भन्दै आइतबार प्रहरीमा जाहेरी दिएका छन् । उनले छोरा खोजी गरिदिन प्रहरीलाइ आग्रह गरे । उनको छोरालाई सेनाले जबरजस्ती लगेपछि फिर्ता नदिएको गुनासो छ । २०५८ सालमा १३ वर्षमात्रै पुगेका केसीका छोरा गणेशलाई सेनाले बेपत्ता बनाएको थियो । केसीलाई सेनाले विद्रोही भन्दै नियन्त्रणमा लिएपछि फिर्ता नदिएको उनले बताए ।
गणेश बलेवास्थित आफन्तको घरमा गएको मौकामा सेनाले पक्राउ गरेको उनको भनाइ छ । केसीले तत्कालीन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनसहित सेनाविरुद्ध मुद्दा दिएको बताए । पीडितहरुले राहत तथा खोजी अभियानमा राज्यको साथ समेत नपाएको गुनासो गरेका छन् ।
आइतबार अधिकारकर्मी राम शर्मासहित प्रहरीमा पुगेका उनीहरुले जाहेरी बुझाएका थिए । प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जाहेरी बुझेर राखेका छन् । राज्यको नीति अनुसार जाहेरी दर्ता गर्ने आश्वासन दिएर उनले पीडितलाई फिर्ता पठाइदिएका हुन् । अधिकारको क्षेत्रमा काम गरेको वकालत मञ्चका अनुसार सशस्त्र द्वन्द्वको समयमा जिल्लामा २५ जना बेपत्ताको सूची छ ।
बेपत्ता बनाइएका पीडितले अफन्तको खोजीमा वर्षौं बिताएको गुनासोसमेत गरेका छन् । ‘मरेका भए बरु बिर्सन सकिन्थ्यो, बेपत्ताले सधैं पिरोलेको छ,’ केसीले भने, ‘कि लास देउ, कि सास देउ भनेर कराएको कसैले सुनेनन् ।’ मृतक परिवारले बिर्सेको घाउ बेपत्ता परिवारले बिर्सन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->