पोखरा/ गण्डकीमा पछिल्लो २४ घन्टामा पछिल्लो एक महिना यताकै कम कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा थप जना संक्रमितको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्याङजाका २ जना र कास्कीका एकजना छन् । यो संख्या साउन तेस्रो साता यताकै सबैभन्दा थोरै हो । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २९३ पुगेको छ ।
यसअघि साउन १९ गते गण्डकीमा २ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता घटिरहेको मृत्युदर फेरि उकालो लागेको थियो भने संक्रमणदर पनि उच्च बनेको थियो । साउन १९ यतामात्रै गण्डकीमा १ सय ९० जना संक्रमितले मृत्यु ज्यान गुमाएका छन् ।
पछिल्लो एकहप्तादेखि कोरोना पुष्टि हुने भन्दा दोब्बर संख्यामा निको हुने बढेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । सोमबारमात्रै प्रदेशभर १ सय ७० जनामा कोरोना संक्रमण देखिँदा ३ सय ३ जना निको भएका छन् । आइतबार पनि २ सय ३० जना संक्रमित थपिँदा ५ सय ४ जना संक्रमित निको भएका थिए ।
संक्रमित निको हुने संख्या बढेसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । साउन अन्तिम साता ६ हजारसम्म पुगेका सक्रिय संक्रमित अहिले घटेर ३ हजार २ सयमा पुगेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माकाअनुसार कुल संक्रमितमध्ये २ हजार ९ सय होम आइसोलेसनमा छन् । अझै ३ सय ७१ जना अस्पतालमा उपचाररत छन् ।
साउनको अन्तिममा गण्डकीमा कोरोना संक्रमणदर सँगै मृत्युदर पनि उच्च बनेको थियो । उक्त समय एकैदिन १२ जनासम्म संक्रमितले ज्यान गुमाएका थिए । संक्रमणदर बढेर प्रदेशभरका कोरोना उपचार गर्ने अस्पतालका बेडहरु पुनः भरिएका थिए भने अक्सिजनको मागसमेत बढेको थियो ।
कोरोना संक्रमणसँगै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्न थालेपछि बागलुङले बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी तेस्रो चरणको निषेधाज्ञा जारी गर्नुपरेको थियो । कास्कीले समेत यातायातमा फेरि जोरविजोर प्रणाली लागू गर्दै निषेधाज्ञामा कडाइ गर्नु परेको थियो । बागलुङमा निषेधाज्ञा खुकुलो भइसकेको छ भने कास्कीमा जोरविजोर प्रणाली जारी छ ।
कोरोनाको दोस्रो लहरमामात्रै गण्डकीमा १ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् । सोमबारसम्म कास्कीका मात्रै ५ सय ९५ जना संक्रमितले ज्यान गुमाका छन् । अझै १ हजार ४ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
संक्रमितमात्रै घटेका हुन्, जोखिम होइन : डा गौचन
पछिल्लो एकहप्तादेखि संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर हुँदै आएको छ । सोही अनुपातमा मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक हप्तामा २ हजार संक्रमित हुँदा ४ हजार बढी संक्रमित निको भएका छन् ।
प्रदेशमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । कोरोना उपचारका लागि प्रदेशबाट तोकिएको ५० बेड क्षमताको संक्रामक तथा सरुवा रोग अस्पतालमा अहिले ४० जनामात्रै उपचाररत छन् । तर, कोरोना उपचारमा कार्यरत चिकित्सक भने संक्रमण घटे पनि जोखिम भने उस्तै रहेको बताउँछन् ।
तोकिएको संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा विकास गौचन भन्छन्, ‘अस्पतालमा संक्रमित घटेको पक्का हो । तर, गम्भीर संक्रमित घटेका छैनन् । सक्रिय संक्रमित हुँदासम्म जोखिम कायमै हुन्छ ।’ लक्षण देखा परेर पनि ढिलो गरी परीक्षण गर्दा जोखिम झन् बढेको उनको भनाइ छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पनि प्रदेशभर अझै १ सय ७३ जना अझै हाइफलोयुक्त शैय्यामा उपचाररत छन् । ११ जना भेन्टिलेटरमै छन् । डा गौचनका अनुसार संक्रमणदर घटे पनि अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिको विरामीमा भने कमी आएको छैन । उनी भन्छन्, ‘अस्पतालमा भर्ना हुनेहरुको संख्यालाई आधार मान्ने हो भने मृत्युदर झन् बढेको मान्नुपर्छ ।’




