पोखरा/ पोखरालाई केन्द्र बनाएर एउटा नयाँ टेलिभिजनले प्रशारण सुरु गरेको छ । सिटी वान टेलिभिजन सोमबारबाट परीक्षण प्रशारण थालेको हो । पोखरामा यसअघि नै गोल्डेन आइ,गण्डकी,पोखरा र फेवा टेलिभिजन संचालनमा छन् ।
परीक्षण प्रशारणको टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे । ‘समाचार र मनोरञ्जनका लागि सिटी वान’ भन्ने नारालाई टेलिभिजनले मूलमन्त्र बनाएको छ । अध्यक्ष प्रजापतिले टेलिभिजनले गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज बोल्ने उद्घोष गरे ।
स्टार नेपाल मिडिया हव प्रालिद्वारा संचालनमा आएको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेजमार्फत् हेर्न सकिने जनाइएको छ । टेलिभिजनले आगामी असोजबाट नियमित प्रसारण गर्ने प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् ।





