पोखरा/ गण्डकी प्रदेशमा पछिल्लो २ महिनामा ३३ जनाले बाढीपहिरोबाट ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार असार १ गतेदेखि शुक्रबारसम्म मनसुनजन्य विपद्बाट मृत्यु हुनेमा १३ जना पुरुष र २० जना महिला रहेको जानकारी दिए । त्यसमध्ये ४/४ जना बालकबालिका छन् ।
मनसुनको सुरुआतमै आएको बाढीपहिरोमा परी सबैभन्दा पहिले असार १ गते कास्कीको माछापुच्छ«े गाउँपालिकामा क्षति पु¥याएको थियो । स्थानीय खैरे खोलाको बाढीले बगाउँदा माछापुच्छ«े १ टुसेकी ४० वर्षीय लीला परियारको मृत्यु भएको थियो ।
त्यसयताका निरन्तर बर्षात्मा परी प्रदेशभर ३३ जनाले ज्यान गुमाइसकेका छन् भने अर्बौंको क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीका अनुसार बाढीपहिरोबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी भदौमै छन् । भदौको तेस्रो साता बित्न नपाउँदै गण्डकीका विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट २२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मनसुनजन्य विपद्बाट सबैभन्दा बढी मानवीय क्षति पर्वतले व्यहोरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक केसीका अनुसार मनसुन यतामात्रै पर्वतका १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, बाढीपहिरोमा परी कास्कीका १० जना, नवलपुरका ३ जना, स्याङ्जाका एकजना, म्याग्दी, गोरखा र तनहुँका २/२ जना छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मनसुन यता २ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बागलुङ र पर्वतमा १/१ जना छन् । दुवै जना असार २३ गते परेको अविरल बर्षाको बाढीपहिरोमा परेर बेपत्ता भएका हुन् ।
असार २३ गते मध्यरातमा आएको दोबिल्ला खोलामा आएको बाढीले बगाउँदा मध्यपश्चिम लोकमार्गको ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनमा काम गर्ने काठमाडौं स्थायी ठेगाना भएका राजाराम आचार्य बेपत्ता भएका थिए ।
त्यस्तै, सोही दिननै बागलुङ ताराखोला गाउँपालिका ३ घुस्मेलीका कृष्णबहादुर कार्कीको गोठ पहिरोले पुर्दा उनका १८ वर्षीय छोरा राजेन्द्र कार्की बेपत्ता भएका थिए । ‘ती दुवै खोजतलास गर्ने काम भइरहेको छ,’ प्रदेश प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक केसीले भने ।
असार पहिलो साता यताका बाढी, पहिरोमा परी गण्डकीका ४४ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालय गण्डकीको छ । तथ्यांकअनुसार घाइते हुनेमा २८ पुरुष, १२ महिला र एकजना बालक छन् ।
३५ सय बढी विस्थापित
मनसुनको सुरुआतीमै आएको बाढीपहिरोले गण्डकीको २ हिमाली जिल्ला मनाङ र मुस्ताङमा ठूलो क्षति पु¥याएको थियो । मानवीय क्षति नपु¥याए पनि अर्बौं मूल्य बराबरको भौतिक क्षति पु¥याएको थियो ।
बाढीपहिरोबाट मनाङकामात्रै एकहजारभन्दा बढी विस्थापित हुन पुगे । बाढी, पहिरोले प्रभावित भएको लामो समय भइसक्दासमेत दुर्गम भेग भएकै कारण उनीहरुको अझै उचित पुनस्र्थापना हुन सकेको छैन । क्षति पुगेका भौतिक संरचनाहरु पनि पुनर्निर्माणमा हुन सकेका छैनन् ।
मनसुनयता प्रदेशभर ३ हजारभन्दा बढी जनसंख्या बाढीपहिरोबाट विस्थापित हुन पुगेको प्रदेश प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । ‘बाढीपहिरोले कुल ६ सय ८९ घर विस्थापित हुनु परेको थियो । ती परिवारका ३ हजार ६८१ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ,’ उनले भने । उनका अनुसार विस्थापितमध्ये कतिपय पीडितलाई ठाउँ अभावका कारण गोठमा समेत राख्नु परेको छ ।
३६ वटा पुल, २३ वटा हाइड्रोमा क्षति
मनसुनयताका बाढीपहिरोले गण्डकीका ३६ वटा पुलमा क्षति पुगेको छ । जसमध्ये ३ वटा पक्की पुल पूर्णरुपले क्षतिग्रस्त बनेका छन् । वरिष्ठ प्रहरी उपरीक्षक केसीका अनुसार बाढीपहिरोले सबैभन्दा बढी १३ वटा काठे पुल र ९ वटा झोलुंगे पुल पूर्ण रुपमा क्षति पुगेकोछ ।
मनसुनको सुरुआतीमै आएको बाढीपहिरोले मनाङका १७ झोलुंगे पुलमा क्षति पुगेको थियो । झोलुंगे पुलमा क्षति पुगेकै कारण मनाङका तल्लो र माथिल्लो भेग लामो समयसम्म सम्पर्क विच्छेद हुनु परेको थियो ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुखको नेतृत्व गरेको स्थलगत अध्ययनलेसमेत क्षति पुगेकामध्ये अधिकांश पुलको पुनर्निर्माण नै गर्नुपर्ने देखिएको प्रतिवेदन गृहमन्त्रालयलाई पठाएको थियो ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार यस अवधिमा २३ हाइड्रो पावर र ४ सय ८७ घरमा क्षति पुगेको छ । जसमध्ये ५ वटा सरकारी कार्यालय, ७ वटा स्कुल र ६ वटा सामुदायिक भवन छन् । बाढीपहिरोले प्रदेश भरका १ सय ६२ ठाउँको सडक अवरुद्ध हुन पुगेको केसीले जानकारी दिए ।
असारयता बाढीपहिरोबाट प्रभावित हुने तथ्यांक
जिल्ला मृत्यु घाइते
गोरखा २ ३
कास्की १० ९
तनहुँ २ ११
म्याग्दी २ ११
पर्वत १३ ०
नवलपुर ३ ०
स्याङ्जा १ ४
बागलुङ ० २





