बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

पर्यटन नअस्ताउने अस्ताम

पर्यटन नअस्ताउने अस्ताम


  • दिवस गुरुङ
  • भाद्र २१ २०७८, सोमबार

१७ वर्षअघि गाईको गोठबाट उम्रेको विश्वराजको ‘इको भिलेज’ को सपना आज फूलेको छ । फलेको छ । झ्याङ्गिन र मौलाउन त अझै बाँकी नै छ ।

 

गाउँको यस्तो डाँडामा कहाँको विदेशी बस्न आउँछन् र ? १७ वर्षअघि विश्वराज अधिकारीले आफ्नो गाईगोठलाई मर्मत संहार गरेर एककोठे भवन बनाउँदा उनी सबैका हाँसोका पात्र बन्थे । ‘यसको दिमाग खुस्किएछ, कोदो बारी मासेर के को छाप्रो बनाएछ यसले’, गाउँलेहरुले अनेक भन्न भ्याएका थिए । तर, आज त्यहीँ डाँडाबाट सूर्योदय नियाल्दै योग ध्यानमा रमाउन भनेर नै सात समुन्द्र पारिका पर्यटकहरु आउँछन् । एकपटक हैन, दोहो¥याइ– तेह¥याइ आउँछन् ।
उनी १९९० सालदेखि पर्यटन क्षेत्रमा लागेका मान्छे । सुरुवात पोर्टर गाइडबाट । समयसँगै उनी निखारिदै गए । गाइड बने । दिन आएपछि आफ्नै ट्रेकिङ एजेन्सीसमेत चलाए । पछि लेकसाइडमा फ्रेन्च कटेज सञ्चालन गरी होटल यात्रा पनि सुरु गरे । कति अरुको ठाउँमा मात्र पसिना बगाउने, यत्तिकै खटिए त आफ्नै डाँडापाखामा पनि केही हुँदो हो, उनलाई लाग्यो । अनि सुरु भयो उनको ‘इको भिलेज’ को यात्रा ।
उनका बुबाका तीन भाइछोरा । अस्तामको डाँडैमा उनको परिवारको सम्म परेको बारी थियो । मकै–कोदो फलाउँथे । छेवैमा गाईको गोठ । घर भने अलि पल्तिर थियो । अन्नपूर्ण बेस क्याम्पका कुनाकन्दरामा पर्यटन पुग्छन् भने हाम्रै यो डाँडामा किन पर्यटक नल्याउने, त्यही बारीमा कोदो रोप्दै गर्दा उनले आफ्नी श्रीमतीलाई खुसुक्क सुनाएका थिए । कुरा थियो, २००४ को । सुरुमा त्यही गाईगोठलाई मर्मतसंहार गरेर बस्न मिल्ने छाप्रो बनाए । पछि उनका दुई भाइहरु वेदनिधि र पूर्णप्रसादको साथ थपियो ।

उनले हेम्जा मिलनचोकबाट खच्चड र कामदारलाई ढुंगा ओसार्न लगाए । तीन वर्षमा दुईवटा कटेज निमार्ण सम्पन्न भयो । बिस्तारै पर्यटकहरु थपिदै गए । अनि थपिदै गए, कटेजका कोठाहरु पनि । आजको दिनमा १७ वटा कटेजहरु सञ्चालनमा छन् । कुल अकुपेन्सी ४० जनाएको छ ।

आज अन्नपूर्ण इको भिलेज कास्की नै नभई नेपालकै ब्रान्ड बनेको छ । इको भिलेजको कन्सेप्टको बारेमा उनी भन्छन्, ‘मैले धेरै देशहरुमा इको भिलेजको कन्सेप्ट सुनेको थिएँ । एउटा रिसोर्ट मात्र हैन, पूरै गाउँ नै इको भिलेज । नेपालमा विभिन्न मोडेलका होटल, रिसोर्टहरु आइसक्दा इको भिलेज कन्सेप्ट भने अझै त्यति चल्तीमा थिएन । त्यसैले हामीले यो मोडेलको सुरु गरेका हौं । म त चाहन्छु, यस्तै मोडलको सिको गर्दै सरकारले विभिन्न पर्यटकीय गाउँहरुलाई इको भिलेजको मोडेलमा रुपान्तरण गर्नुपर्छ । अनि मात्र नेपालको पर्यटनले केही हदसम्म फड्को मार्छ ।’

नामै काफी छ, इको भिलेजको । नामजस्तै हरेक पाइलामा वातावरण मैत्रीको छनक भेटिनु यहाँको खासियत हो । मिनिरल वाटरको बोत्तल पूर्ण रुपमा प्रतिबन्ध छ । पहिला पिउने पानीको हाहाकार थियो डाँडामा । आकाशे पानी संकलन गरिन्छ । अनि स्यान्ड फिल्ट्रेसन विधि अर्थात विभिन्न तहमा बालुवा, गिटीले छानेर निस्किएको शुद्ध पानी पाहुनाहरुले पिउन पाउँछन् ।
रिर्सोटको आफ्नै गाई फार्म छ । अर्गानिक दूध, मही, घिउ अनि विभिन्न दूधका परिकारहरु पाहुनाले चाख्न पाउँछन् । रिर्सोट परिसरमै कफीका बोटहरु उमारेका छन् । यहाँ आउँदा ताजा अर्गानिक कफीको स्वाद हत्तपत्त जोकोही छुटाउँदैनन् । अझ पाहुनाको स्वागतका लागि तयार पारिने ग्रीन टी यहाँको विशेष पहिचान हो । केमो माएल, स्टेभिया, लेमनग्रास र वनपाखामा पाइने विभिन्न सिनामनलगायतका जडिबुटी मिस्रित चिया हो,यो । कोसेली स्वरुप पाहुनाहरु सँगै यो चिया युरोप, अमेरिकासम्म पुग्छ ।

अन्नपूर्ण इको भिलेज । आँगनबाटै अन्नपूर्ण, माछापुच्छे« हिमालधितमरुन्जेल नियाल्न पाइन्छ । अर्गानिक चियाको चुस्कीसँगै सूर्योदय र सुर्यास्तमा हराउन जो कोही लालायित हुन्छन् । अनि धीतमरुन्जेल कैद गर्छन् यादहरु, कति क्यामरामा त कति हृदयको अन्तरकुनामा। हेम्जाको हरिया फाँट, टाढाटाढाका देखिएका कास्कीकोट, नौडाँडा, सराङकोट अनि पारि क्षितिजसम्मको सुन्दरताको दृश्यपान । आउनेहरु त्यसै स्वर्गीय आनन्दमा हराइजान्छन् ।
गाईको गोबर र ट्वाइलेटमा जम्मा मानव फोहोरलाई सिधै ठूलो ट्याङ्कीमा जम्मा गरिन्छ । अनि निकालिन्छ, बायो ग्यास । खाना पकाउन मात्र हैन यो, केही हदसम्म बत्ती बाल्न पनि प्रयोग गरिन्छ । ‘हामीप्रदुषण न्यूनिकरणका लागि थ्री आर सिद्धान्त पालना गर्छौँ । रि युज, रि साइकल एण्ड रिड्युस । कसरी हुन्छ, वातावरणलाई कम असर पु¥याउने हाम्रो सोच रहन्छ’, अधिकारी भन्छन् ।

प्राकृतिक छटाले यति लोभलाग्दो छ यहाँको वातावरण, आउनेहरु योग अनि ध्यानमा मस्त हराउँन चाहन्छन् । दैनिक मोनोटोनस स्याडुलबाट आजित मानिसहरु त्यसैले हेम्जा मिलनचोक मेलबोटबाट माथि उकालो लाग्छन् । लालीगुँरासै गुँरासको जंगल । थकान मार्ने चौतारी । चराचुरुंगी र चिसो बताससँग साउती मार्दै अस्ताम पुगेको पत्तै हुँदैन । झन् माथि पुगेरैध्यानमा लिप्त हुने, धेरैले सपना नै बुनेका हुन्छन् । ‘योग र ध्यान यहाँको विशेषता हो,’ माइला भाइ वेदनिधि अधिकारी भन्छन्, ‘म आफैं योग प्रशिक्षण गराउँछु । हामी कहाँ दुई–तीनदेखि हप्तौंको योग प्याकेज हुन्छ । कति त दिन हप्ता थपेरै यहीँ हराउने पाहुनाहरु पनि हुन्छन् ।’
अधिकारीका तीन दाजुभाइका सपरिवार नै दिनरात खटिन्छन् यहाँ । दुई–चारजना स्टाफबाहेक सबै घरैका । कोही व्यवस्थापन पाटो समाल्छन्, कोही खानपान त कोही पाहुना सत्कार अनि बिदाइमा । मिलेर गरे के हुँदैन, यो आफैंमा ज्वलन्त उदाहरण हो ।

पर्यटकहरु गाउँले रहनसहन र चालचलन बुझ्न चाहन्छन् । यहाँ आफ्नै आँखाले पाहुनाहरु गाउँले रहनसहन देख्न सक्छन् । बुझ्छन् अनि सिक्छन् । गाई दुहेको, ठेकीमा मोही पारेको, जातो र ढिकीमा मकै र चामल पिसेको पाहुनाका लागि फरक स्वाद मिल्छ । परालको टौवा, मकैको सुली अनि पृष्ठभूमिमा माछापुच्छे«, फोटोजेनिक मुड बन्छ। सुन्दरतामा पर्यटन त्यसै हराइजान्छन् ।
मर्दी हिमाल पदमार्ग । अर्थात पछिल्लो छोटो समयमा छुट्टै ब्रान्ड बन्न सफल पदमार्ग । हो, पदयात्रीहरु हेम्जा अस्ताम हुँदै धम्पुस भएर मर्दी क्याम्प उक्लन्छन् । अघिल्लो वर्ष मात्र हेम्जा मेलबोट अस्ताम हुँदै मर्दीका लागि नयाँ पदमार्ग निमार्ण सुरु भएको हो । पछिल्लो समय नामी पदमार्गहरुलाई सडक विस्तारले विस्तापित गरिरहँदा यसले केही राहत दिनेमा अधिकारी बताउँछन् ।
जति इको भिलेजको अहिलेको वर्तमान सफलतामा डाहा गर्छन्, यो स्थानमा आइपुग्दाका अफ्ठ्यारा खुड्किलाहरु र संघर्षका कथाहरु सुन्ने दुस्साहस कमै गर्छन् । त्यतिको मिहिनेत र लगनशीलता गर्ने धैर्यता त झन् कमैका होलान् । १७ वर्षअघि इको भिलेज दर्ता गर्दाको त्यो झन्झटिलो विगत विश्वराज अधिकारी यसरी सम्झन्छन्, ‘मलाई च्याउसरी उम्रेका होटल, लज वा कुनै त्यस्तै प्रोडक्ट पस्कने मनसाय थिएन । सपना थियो इको भिलेजको । यहीँ दर्ता गर्न कार्यालय पुग्दा इको भिलेज भन्ने अप्सन नै थिएन । त्यसैले दर्ता गरें, अन्नपूर्ण लज । नेपालमा आजको मितिसम्म इको भिलेजलाई नयाँ प्रोडक्टको रुपमा लिने त के सोच्नेहरु नै कम छन् । अझ नीतिगत तहमा त बिजोक नै छ । यहाँ गर्न चाहनेहरुलाई पनि सम्बन्धित निकाय बाधक बनेर आएको छ ।’

उनै अधिकारी लामो समय ट्रेकिङ व्यवसायमा लागेको अनुभव छ । पदयात्राको छाता संगठन टानमा समेत उनी धेरै वर्ष रहे । यस्तै इको भिलेजको अवधारणाबारे उनले आफ्नै संगठनमा समेत कुरा नउठाएका हैनन् । तर उनका अगाडि हो मा हो मिलाएर पछाडिबाट विरोध गर्ने आफ्नै साथीहरु भेट्दा उनी दुःखी भए । नेपालको अबको पर्यटन इको पर्यटन हो, उनलाई लाग्छ ।
‘होमस्टेको जुन अवधारणा छ, त्यो त पुरानो भइसक्यो । पाहुनासँगै बजारबाटै पाहुनाका लागि माछामासुदेखि तरकारी बजारबाटै ल्याएर के को होमस्टे र अर्गानिक प्रोडक्टको गफ ? होमस्टे कन्सेप्ट अब पुरानो भइसक्यो । ल्वाङ घलेलजस्ता गाउँहरुलाई अब इको भिलेजको कन्सेप्टमा लगिनुपर्छ । इको भिलेजै भिलेजको नेपालको अबको ३० वर्षपछिको नेपाल, कल्पना गरौं त ? ब्रान्ड बनाउन सक्नु नसक्नु आफ्नो मिहिनेत र परिश्रमको कुरा हो । जो खटिन सक्छ, उसको लागि इको भिलेजको भविष्य राम्रो हुनेमा दुई मत छैन ।

कोभिडले पछिल्लो तीन वर्षदेखि थला परेको नेपालको पर्यटन उकास्ने भनेकै अब पदयात्रा र यस्तै नयाँ नयाँ प्रोडक्टहरुले नै हो । १७ वर्षअघि गाईको गोठबाट उम्रेको उनको सपना आज फूलेको छ । फलेको छ । झ्याङ्गिन र मौलाउन त अझै बाँकी नै छ । होमस्टे पर्यटन खस्किदै जाँदा र नयाँ नयाँ स्वाद चाख्न आतुर पर्यटकहरुका लागि इको भिलेज मोडलले केही राहत दिन सक्छ ।
सपना छ उनको, आफ्नै गाउँलाई इको भिलेजको मोडलमा लग्ने । यो आफैंमा त्यति सजिलो कदम भने पक्कै हैन । त्यसैले उनले सपना बुनेका छन्, छेवैमा यसैका लागि भनेर विद्यालय खोल्ने । इच्छुकहरुका लागि अन्नपूर्ण इको भिलेज पाठशाला बन्न सकोस्, उनी चाहन्छन् । अर्गानिक खेती, इको प्रोडक्ट अनि विभिन्न विविध पक्षहरु सिक्न सक्छन् । साँच्चै नै नेपालकै पर्यटन क्षेत्रको इतिहासमा अन्नपूर्ण इको भिलेज सुनौलो अक्षरले लेखिने छ । कल्पना गरौं त, नेपालका गाउँ नै भर, इको भिलेज नै भिलेज । अनि भित्रिएका हुनेछन्–तीसौ लाख पर्यटकहरु । सँगै ओइरिएको हुनेछ,लाखौं डलर ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->