बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

जेनजी विद्रोहदेखि आत्माबोधसम्म

जेनजी विद्रोहदेखि आत्माबोधसम्म


  • आस्मीन शेख
  • भाद्र २५ २०८३, बिहिबार

भाद्र २३,
त्यो दिन म आन्दोलनको लागि सडकमा नभएपनि आन्दोलनले उठाएका मूल प्रश्नहरूसँग म असहमत थिइनँ ।

भ्रष्टाचार शून्य हुनुपर्छ । युवाले रोजगारी पाउनुपर्छ । युवाको भविष्य सुनिश्चित हुनुपर्छ । राज्य नागरिकप्रति जवाफदेही हुनुपर्छ । यी लगायतका धेरै मुद्दामा मेरो पनि सहमति थियो ।

आफू प्रशासनतर्फको काममा व्यस्त हुनुपर्ने भएकाले म आफैँ सहभागी हुन नसके पनि भाइबहिनीहरूलाई आन्दोलनमा सहभागी हुन खबर गरेको थिएँ । उहाँहरू सहभागी पनि हुनुभयो ।

बागलुङ बजारमा भाद्र २३ गतेको जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । तर केही समयपछि फेसबुक खोल्दा देशको अवस्था अर्कै भइसकेको थियो ।

निहत्था युवामाथि गोली चलाइएको खबर आयो । १९ जना युवाले ज्यान गुमाएको खबर आयो । मन विचलित भयो ।

राजनीतिक रूपमा म तत्कालीन सरकार पक्षको विचारधारासँग नजिक रहेको पार्टीलाई प्रतिनिधित्व गर्ने व्यक्ति थिएँ । तर त्यस दिनको घटनाले कुनै विचार, कुनै पक्ष र कुनै राजनीतिक आवरणभन्दा माथि उठेर सोच्न बाध्य बनायो । गलतलाई गलत भन्नुपर्छ भन्ने लाग्यो । प्रहरीबाट गोली चल्यो । जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो । राजीनामा मागियो । विशेष गरी विद्यालयको पोसाकमै रहेका बच्चासम्म सुरक्षाकर्मीको निशानामा परेको दृश्यले मनमा जुन आक्रोश पैदा ग¥यो, त्यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । त्यो क्षणमा त्यही प्रतिक्रिया सही थियो ।

भाद्र २४ को बिहान
विद्यार्थी संगठनको प्रतिनिधिका रूपमा हामी क्याम्पसमा जम्मा भएका थियौँ । आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै र नैतिक समर्थन व्यक्त गर्दै विज्ञप्ति निकाल्ने तयारीमा थियौँ ।

अचानक खबर आयो– “क्याम्पसमा आक्रमण गर्न जेनजी समूह आउँदैछ ।” हामीले सकेसम्म संवाद गर्ने प्रयास ग¥यौँ ।

आक्रोशित समूहलाई क्याम्पस प्रवेश गर्न नदिन पनि सकेको प्रयास ग¥यौँ ।

मनभित्र भने अर्कै कुरा चलिरहेको थियो । सडकमा गएर जेनजी आन्दोलनमा आफैँ सहभागी भएर, ज्यान गुमाएका युवाको हिसाब माग्न मन थियो । तर परिस्थिति त्यस्तो रहेन ।

चारैतिरबाट घेराबन्दी जस्तो वातावरण बन्यो । फोन आउन थाले । धम्की आउन थाले ।

सडकमा निस्कनै नसक्ने अवस्था सिर्जना भयो ।

त्यही बेला क्याम्पसमा रहनुभएका अखिल क्रान्तिकारीका दाइ र तत्कालीन माओवादीका नेता ज्यूले मलाई सम्झाउनुभयो– तिम्रो नियत गलत छैन । जेनजी उमेर समूहको भएकाले तिमी आन्दोलनमा जान चाहनु स्वाभाविक हो । तर अहिले केही मानिसको नियत तिमीप्रति नकारात्मक देखिएको छ, तिमीलाई नै लक्ष्य गर्ने अवस्था आउन सक्छ । सकेसम्म क्याम्पसबाट निस्केर सुरक्षित ठाउँमा जाउ । भन्नुभयो ।

म छात्राबासमै बस्ने भएकाले त्यतैतिर गएँ । तर पछि मलाई लिन मेरो दाइहरु नै आउनुभयो । एउटा व्यक्तिको कारण अरू विद्यार्थीलाई अप्ठ्यारो नहोस् भनेर घरसम्म पु¥याएर घरमा चाबी लगाइदिनुभयो र उहाँहरू आफैँ आन्दोलनमा सहभागी हुन जानुभयो ।

त्यो दिन मेरो दिमागमा एउटा अनौठो शून्यता थियो ।

क्याम्पसमा केही अप्रिय घटना पो हुने हो कि भन्ने डर मनको गहिराइमा बसेको थियो । सौभाग्यवश, बागलुङका जेनजी अगुवाहरूले पनि संयमता अपनाउनुभयो ।

उहाँहरूप्रति धन्यवाद । तर देश भने त्यतिबेला लगभग शून्य अवस्थामा थियो ।

काठमाडौँमा आन्दोलनले धेरै युवाका लागि नयाँ अवसरका ढोका खोल्यो । हाम्रो जस्तो सानो ठाउँबाट जेनजीलाई प्रतिनिधित्व गर्ने युवाहरूका लागि exposure को कमी थियो होला । अवसर पाए, अगाडि बढे– यो स्वाभाविक कुरा हो ।

तर यहीबीच मेरो व्यक्तिगत जीवनमा भने अर्को कथा सुरु भयो । जेनजी अभियानसँग जोडिएका केही page admin देखि साथीहरू सम्मबाट सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण हुन थाल्यो । धम्कीहरू आए ।

क्याम्पस निर्वाचनको रिस जेनजीको आवरणमा पोखिएको महसुस हुने अवस्था पनि आयो । एक समय त ज्यानकै धम्की आउने अवस्था बन्यो ।

भाद्र २५ गतेतिर जेनजी अभियानमा सक्रिय एक युवाले फोन गरेँ । फोनमा उहाँको पहिलो प्रश्न थियो–
“राजीनामा कहिले दिने ?”

मैले सोधेँ– “मैले राजीनामा कहाँ दिने ? सामाजिक सञ्जालमा ?”

उहाँले फेरि त्यही प्रश्न दोहो¥याउनुभयो ।

मैले भनेँ– “मेरो राजीनामा चाहिएको हो भने मेयरसँग माग्नुस्, उद्योग वाणिज्य संघसँग माग्नुस्, वडा वा सम्बन्धित निकायसँग माग्नुस् । होइन भने टियुले जुन दिन मेरो पद खारेज गर्छ, त्यही दिन मेरो पद स्वतः समाप्त हुन्छ ।”

फोन काटियो ।

सामाजिक सञ्जालका धम्कीहरू त छँदै थिए ।

पछि उहाँकै पेजको एउटा पोस्ट सम्पादन भयो । भाषा केही सभ्य बन्यो, मुद्दा थपियो– “क्याम्पसलाई गैरराजनीतिक बनाउनुपर्छ” भन्ने आशयका कुरा आए । तर त्यो सम्पादन हुनुअघि आएका धम्कीहरू भने यति स्पष्ट थिए कि त्यसमा क्याम्पस निर्वाचनको रिसको गन्धसमेत देखिन्थ्यो ।

म आन्दोलनको विरोधी थिएँ भनेर आज आफ्नो इतिहास बदल्न चाहन्नँ । म आन्दोलनको सबै मागसँग सहमत थिएँ भनेर पनि आफूलाई नायक बनाउन खोज्दिनँ ।

मसँग आफ्नो राजनीतिक विचार थियो । सरकारप्रति गोली चलेका कारण असन्तुष्टि थियो, तर सरकारले गलत गरोस् भन्ने नियत कहिल्यै थिएन । जेन्जी आन्दोलन कुनै राजनितिक दलको विरुद्ध थिएन, आन्दोलन त केवल भ्रष्टचार विरुद्ध थियो, म पनि जेनजी आन्दोलनको समर्थक नै थिए । यो दिन गोली चल्यो– गलत भयो भन्ने लाग्यो गलत भनियो ।

मलाई व्यक्तिगत रूपमा पनि यो समयले धेरै कुरा सिकायो ।

राजनीतिमा लागेर फाइदा उठाउँला भनेर आएको व्यक्ति म थिइनँ । कुनै नातावादको बलमा माथि पुगेको पनि होइन । संघर्ष, मेहनत र धेरैको साथले निर्वाचन लडेको थिएँ । समय यति छिटो यसरी बदलिन्छ भन्ने सायद सोचेको थिइनँ । तर जीवन यस्तै रहेछ । “धैर्यको फल मिठो हुन्छ” भन्छन् । सायद राजनीति पनि यस्तै घटनाहरूले मानिसलाई निखार्दै लैजाने प्रक्रिया रहेछ । आज म कसैसँग बदला खोजिरहेको छैन । कसैलाई दोषी प्रमाणित गर्न पनि खोजिरहेको छैन । इतिहासलाई केवल भावनाले भन्दापनि चेतनाले पढुन् भन्ने चाहन्छु । शहीदको फोटोमा फूल चढाएर मात्र उहाँहरूको सम्मान हुँदैन । उहाँहरूले उठाएका प्रश्नको उत्तर खोज्नु नै वास्तविक सम्मान हो । पीडा जीवनको हिस्सा हो । त्यसलाई बुझेर अघि बढ्नुपर्छ । र, कहिलेकाहीँ आफ्नो पक्षमाथि पनि प्रश्न उठाउन सक्नु नै सबैभन्दा ठूलो चेतना हो ।

जिन्दगीको गोरेटो अझै बाँकी छ । पहाड चढ्न बाँकी छ ।

अगाडिको बाटो कति कठिन हुनेछ, थाहा छैन ।

तर एउटा कुरा सिकेको छु, गलतलाई गलत भन्न सक्ने साहस र आफूलाई पनि प्रश्न गर्न सक्ने चेतना जोगाएर हिँड्न सकियो भने, बाटो जति कठिन भए पनि यात्रा अर्थपूर्ण हुन्छ ।

जेजी विद्रोहको १ वर्ष भएको छ । भाद्र २३ का सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली । उहाँहरूको बलिदान राजनीतिक नारामा सीमित नहोस्– नेपालको भविष्य बदल्ने चेतनाको आधार बनोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->