बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

किन निराश छन् मानिस ?

किन निराश छन् मानिस ?

मानिसको हर समस्या उसको व्यक्तिगत हुँदैन, सामाजिक हुन्छ


  • केशव सिलवाल
  • भाद्र २५ २०८३, बिहिबार

समाजमा बढिरहेको निराशा, कुण्ठा र मनोवैज्ञानिक समस्याका बारेमा विभिन्न चर्चा र बहस हुँदै आएका छन् । यसले नयाँ पिढीको भविष्य कतै अन्धकार बनाउने त होइन भन्ने चिन्ताले आमअभिभावक र समाजका प्रबुद्ध व्यक्तिलाई निकै सताएको छ । त्यसैले यसको चासो र चर्चा हुनु आमकुरा हो । तर, यसको बुझाइ र निराकरणमा भने गम्भीर समस्या र त्रुटि देखिन्छ । यसको हल समाजशास्त्रीय चिन्तनबाट मात्र सम्भव छ भन्ने कुरा धेरैलाई थाहै छैन ।

समाज परिवर्तनको वेगले संसारलाई एउटै जालोमा बेरिरहेको छ । पुँजीवाद, भुमण्डलीकरण, सामाजिक सञ्जाल र अहिले एआई प्रविधिसम्म आइपुग्दा सामाजिक संगठन, सामाजिक सम्बन्ध, संस्कृति, मूल्य, मान्यता र मानिसको स्वत्व निर्माणमा आमूल परिवर्तन गरेको छ । यससँगै मानिसको दैनिकी र मानसिकताको निर्माणमा विभिन्न समस्या पैदा भएका छन् । मानिसको हर समस्या उसको व्यक्तिगत हुँदैन, सामाजिक हुन्छ, संसारकै समस्या हुन्छ ।

हामीले व्यक्तिगत ठान्दै आएका धेरैजसो समस्या व्यक्तिगत वा मनोवैज्ञानिक मात्र हुँदैनन् । तिनलाई व्यक्तिगत घेरामा मात्र सीमित राखेर हेर्दा नै मानिसमा चरम निराशा र अन्य जटिलता पैदा भइरहेका छन् । व्यक्तिको समस्या सामाजिक–सामुदायिक विषय बनिसकेपछि मात्रै त्यो व्यक्तिसँग जोडिन पुग्छ । बेरोजगारी, महँगी र आर्थिक कठिनाइजस्ता मुद्दाहरू व्यक्तिले चाहेर मात्र समाधान गर्न सक्दैनन्, किनभने यी सामाजिक र संरचनात्मक समस्या हुन् । तर, यस्ता विषयलाई व्यक्तिकै कमजोरी मानिदिँदा मानिसहरू डिप्रेसनसम्म पुग्ने गरेका छन् ।

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने यी साझा सामाजिक समस्या हुन् । तिनको समाधान पनि सामूहिक तवरबाटै खोजिनुपर्छ । जब मानिसले राज्य, आर्थिक प्रणाली, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जित समस्यालाई आफ्नै मात्र असफलता मान्छ, तब उसले निराशा र हतास महसुस गर्छ ।

मानिस किन निराश छन् ?, किन आफ्नो अस्तित्व नै समाप्त गर्नेजस्तो चरम र कष्टकर निर्णयसम्म पुग्छन् ?, आधुनिक विश्वमा विज्ञान, प्रविधि र भौतिक समृद्धिको अभूतपूर्व विकास भए तापनि मानिसभित्रको शून्यता र निराशा झनै गहिरिँदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष लाखौँ मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन् ।

आत्महत्या र निराशालाई व्यक्तिगत दुर्बलता, तात्कालिक मानसिक तनावको नतिजा मान्दै यसलाई चिकित्साशास्त्र वा मनोविज्ञानको विषय बनाइन्छ । तर, यो दृष्टिकोण आफैँमा एकांकी र दोषपूर्ण छ । समाजशास्त्रले आत्महत्यालाई एउटा व्यक्तिको निजी त्रासदी वा जैविक समस्या मात्र मान्दैन, यसलाई सम्पूर्ण सामाजिक संरचनाको असफलता, संस्थागत हिंसा र सांस्कृतिक विचलनको उपजका रूपमा हेर्छ ।

पुँजीवादी व्यवस्थाले मानिसका हरेक दुःख, पीडा र निराशालाई ‘मानसिक रोग’को ठप्पा लगाएर त्यसको जिम्मेवारी व्यक्तिमाथि नै थुपारिदिन्छ । जब कुनै युवा बेरोजगारी, गरिबी, छुवाछुत वा चर्को ऋणका कारण निराश हुन्छ, समाजले उसलाई ‘डिप्रेसन’ भएको भन्दै औषधि खान सल्लाह दिन्छ । यसरी समाजको आर्थिक र राजनीतिक संरचनाले पैदा गरेको पीडा व्यक्तिको दिमागको ‘रासायनिक असन्तुलन’मा सीमित गरेर राजनीतिक र संरचनात्मक उत्तरदायित्वबाट पन्छिने काम भइरहेको छ ।

निराशा र तनावलाई औषधि र थेरापीको व्यापार बनाइएको छ । मानिसलाई निराश बनाउने सामाजिक परिवेश (जस्तैः शोषणकारी कार्यस्थल, सामाजिक अलगाव, आर्थिक असमानता)लाई बदल्नुको सट्टा उसलाई औषधिको माध्यमबाट सोही शोषणकारी व्यवस्थामा अनुकूलन गराउने प्रयास गरिन्छ । जबसम्म हामी निराशालाई व्यक्तिको आन्तरिक कमजोरी नभएर सामाजिक संरचनाको नतिजा मान्दैनौँ, तबसम्म यसको वास्तविक जरोसम्म पुग्न सकिँदैन ।

निराशाको चरम अवस्था
निराशाको चरम अवस्था भन्नु आफैँलाई घात गर्नु हो । इमाइल दुर्खिमअनुसार आत्महत्या एउटा व्यक्तिगत वा मनोवैज्ञानिक घटना होइन, यो विशुद्ध सामाजिक विषय हो । मानिस समाजसँग कत्तिको जोडिएको छ र समाजको नियमन वा नियन्त्रणभित्र छ कि छैन भन्ने कुराले आत्महत्यालाई निर्धारण गर्छ । जब मानिस र समाजबिचको सम्बन्धको गहनता कमजोर हुन्छ, तब मानिस आत्महत्यातर्फ धकेलिन्छ । डिप्रेसन वा मानसिक स्वास्थ्यको विषय मात्रै भनेर यसलाई व्याख्या गरिनु गलत हो । धेरैजसो मनोवैज्ञानिक धारणासमेत समाजबाटै निर्मित हुन्छन् ।

जब मानिस र समाजबिचको सम्बन्ध कमजोर हुन्छ, मानिस समुदायबाट अलग्गिन्छन् र आफूलाई एक्लो महसुस गर्छ । परम्परागत समाजमा पारिवारिक सामूहिक ऐक्यबद्धता र साझा मूल्य–मान्यताहरू हुन्थे, जसले मानिसलाई संकटको वेला भावनात्मक सुरक्षा दिन्थे ।

आधुनिक सहरीकरण र औद्योगिकीकरणले मानिसलाई ‘अत्यधिक व्यक्तिवादी’ बनाएको छ । एकल परिवार, छिमेकीसँगको सम्बन्धहीनता र प्रविधिको अत्यधिक प्रयोगले मानिसलाई मानिसबाटै टाढा पुर्‍याएको छ । जब मानिस सामाजिक सहयोगको सञ्जालबाट टाडिन्छन्, व्यक्तिभित्र जीवनको निरर्थकता र चरम निराशा जन्मिन्छ ।

एनोमी अर्थात् मूल्यहीनता वा नियमहीनताको स्थिति तब आउँछ जब समाजमा तीव्र आर्थिक, सामाजिक वा प्रविधिको परिवर्तन हुन्छ । पुराना नियम तथा मर्यादाहरू भत्किन्छन् । आजको पुँजीवादी समाजले मानिसलाई असीमित इच्छा र आकांक्षा पाल्न सिकाउँछ । तर, ती इच्छाहरू पूरा गर्ने सामाजिक र आर्थिक साधन सीमित हुन्छन् । जब समाजले व्यक्तिको आकांक्षालाई सन्तुलन वा नियन्त्रण गर्न सक्दैन । तब मानिसमा असन्तोष र दिशाहीनता पैदा हुन्छ । बैंकको ऋण, सेयरबजारको गिरावट, वा एक्कासि आउने आर्थिक मन्दीका वेला हुने आत्महत्या ‘एनोमिक आत्महत्या’का उदाहरण हुन् । कार्ल मार्क्सको ‘अलगावको सिद्धान्त’ आधुनिक मानिसको निराशा बुझ्न अर्को बलियो समाजशास्त्रीय आधार हो । मार्क्सका अनुसार पुँजीवादी उत्पादन प्रणालीले मानिसलाई चार तहमा अलग गराउँछ ।
आजको नवउदारवादी अर्थतन्त्रले मानिसलाई ‘श्रमको साधन’ वा ‘उपभोक्ता’मा परिणत गरिदिएको छ । रोजगारीको कुनै ग्यारेन्टी छैन । मानिसहरू चौबीसै घण्टा कामको तनावमा छन् । तर, न उनीहरूलाई काममा आत्मसन्तुष्टि छ, न भविष्यको सुरक्षा नै ।

बिहानदेखि रातिसम्म जीवन धान्नका लागि गरिने निरन्तरको दौडधुपले मानिसलाई भावनाविहीन र मेसिनजस्तै बनाएको छ । श्रममा आफ्नोपन नहुनु र बचावटका लागि संघर्ष गरिरहनुले मानिसलाई एउटा ठुलो भावनात्मक शून्यतातर्फ धकेल्छ, जसको परिणति निराशा र आत्महत्यासम्म पुग्छ ।

आधुनिक समाजमा निराशा बढाउन ‘उपभोक्तावाद’ र डिजिटल प्रविधिको भूमिका अत्यन्त घातकसिद्ध भएको छ । पुँजीवादी बजारले सफलताको एउटा अत्यन्त कठोर र भौतिकवादी मापदण्ड खडा गरिदिएको छ, अथाह धन, महँगो गाडी, भव्य घर । बजारले मानिसलाई लगातार यदि तिमीसँग यी कुराहरू छैनन् भने तिमी असफल हौ भन्ने मनोविज्ञान सिर्जना गरिदिएको छ ।

प्रविधि कति जिम्मेवार ?
फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता प्लाटफर्महरूले मानिसको सामाजिक सम्बन्ध, परिवार, विवाह र छोराछोरी तथा आमाबाबिचको सम्बन्धमा व्यापक फेरबदल ल्याइदिएको छ । टाढाका मानिसलाई नजिक र नजिकका मानिसलाई टाढा बनाइदिएको छ । प्रविधिको विकासले सामाजिक सम्बन्धमा ल्याएको उथलपुथललाई बुझ्न नसक्दा विभिन्न सामाजिक समस्या पैदा हुन्छन् । पुरानो सम्बन्ध र नयाँ सम्बन्ध भएका मानिसहरूमा द्वन्द्वको विकास भएका छन् । यसले कतिपय मानिसमा ‘तुलनात्मक हीन भावना’ पैदा गरेका छन् । सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको वास्तविक संघर्ष लुकाएर सुखद र सफल क्षणहरू मात्र प्रदर्शन गर्छन् । अरूको यो ‘देखावटी सफलता’सँग आफ्नो वास्तविक र संघर्षपूर्ण जीवन तुलना गर्दा विशेष गरी युवा पुस्तामा चरम हीनताबोध, निराशा र ‘म केही पनि होइन’ भन्ने भावना विकास हुन्छ ।

प्रविधिले मानिसहरूलाई भर्चुअल रूपमा जोडे पनि भावनात्मक रूपमा झनै टाढा बनाएको छ । हजारौँ ‘फलोअर्स’ र ‘फ्रेन्ड्स’ भएका मानिसहरू पनि आफ्नो मनको पीडा साट्ने एउटा वास्तविक मानिस नपाएर छटपटाइरहेका छन् । विकासोन्मुख देशहरूमा यसको रूप भयावह छ, जसको पछाडि ‘संरचनात्मक हिंसा’ जिम्मेवार छ । लघुवित्त र मिटरब्याजीको शोषण, जलवायु परिवर्तनका कारण कृषिमा हुने घाटा र वैदेशिक रोजगारीका नाममा हुने ठगीले न्यून आय भएका मानिसहरूलाई आत्महत्याको बाटोसम्म पुर्‍याउँछ ।

समाजमा विद्यमान पितृसत्ता, जातीय भेदभाव र यौनिक तथा अल्पसंख्यकहरूप्रतिको संकुचित दृष्टिकोणले गर्दा उत्पीडित समुदायका मानिसहरू निरन्तर अपमान र बहिष्कार झेल्न बाध्य छन् । राज्य र समाजबाट सम्मानजनक जीवन जिउने अधिकार खोसिँदा उनीहरूमा आत्मसमर्पणको भावना पैदा हुन्छ । शैक्षिक बेरोजगारी, भ्रष्टाचार र सम्भावनाहरूको ढोका बन्द हुनुले युवाहरूमा निराशाको लहर सिर्जना गरेको छ । आफ्नो देशमा भविष्य नदेख्नु र विदेश जाँदा पनि शोषणको सिकार हुनुले युवाहरूलाई मानसिक रूपमा विक्षिप्त बनाइरहेको छ ।

विगतमा मानिसलाई संकटका वेला सम्हाल्ने केही सामाजिक र सांस्कृतिक संरचनाहरू थिए । गाउँघरमा चौतारी, पर्म, र सामूहिक पर्वहरू हुन्थे, जहाँ मानिसहरू दुःख–सुख साट्थे । कुनै एउटा परिवारलाई विपत् पर्दा सिंगो गाउँ सहयोगमा जुट्थ्यो । तर, आधुनिकताको तीव्र लहरले यी सामाजिक र सुरक्षाकवचलाई ध्वस्त पारिदिएको छ । आजको मानिस विशाल भिडभित्र पनि एक्लो र असहाय छ । संकट पर्दा ओत लाग्ने सामाजिक संस्था कमजोर हुँदै गएका छन् ।

मानिसको निराशा र आत्महत्याको बढ्दो दर कुनै व्यक्तिविशेषको मानसिक कमजोरी, कायरता वा जैविक खराबीमा मात्र होइन । यो त हाम्रो सामाजिक, आर्थिक र राजनीतिक प्रणाली बिरामी परेको गम्भीर संकेत हो । आधुनिक समाजले मानिसलाई असीमित प्रतिस्पर्धामा धकेलेको छ । तर, उसलाई मानिस भएर बाँच्ने वातावरण दिएको छैन । हामीले मानिसको आत्मसम्मानलाई उसको आर्थिक क्षमता, बैंक ब्यालेन्स वा बजारको उपयोगितासँग जोडेर हेर्ने गम्भीर भुल गरिरहेका छौँ ।

नेपालकै सन्दर्भमा भन्नुपर्दा यहाँ भएका सुस्त परिवर्तनले संसारको परिवर्तनको वेगलाई पछ्याउन सकिरहेको छैन । मानिसको बाह्य संसारसँगको लगातार र गहिरो सम्पर्क, तर आफ्नो समाजको अवस्था निकै पिछडिएको पाउनु र अवसर पनि पर्याप्त नहुनुले निराशाको अवस्था सिर्जना गर्छ । गत वर्षको जेन–जी आन्दोलन पनि निराशाको प्रकटीकरण नै हो । लगातारको प्रयासपछि पनि सोचेको जस्तो सफलता नमिल्नु, व्यापार–व्यवसाय नचल्नु आदिले व्यक्तिमा निराशा र अलगाव पैदा गर्छ । नयाँ राजनीतिक परिवर्तनपछि यी समस्या जादुजस्तै समाधान हुन्छन् भन्न सकिन्न । यसका लागि लामो तयारी र सामाजिक अवस्थामा सुधार गर्नुपर्छ ।

हाम्रो समाजले सबैलाई समान अवसर उपलब्ध गराउन सकेको छैन । समाजमा तीव्र विभेद, आर्थिक अभाव, वर्गीय खाडल छ । त्यसमाथि नवउदारवाद, पुँजीवाद र विश्वव्यापी भूमण्डलीकरणको दबाबले गर्दा मानिसहरू आफूलाई पछाडि परेको महसुस गर्छन् । त्यसैले आत्महत्याको दर घटाउन राज्य र समाज बलियो हुनुपर्छ । समाजमा एकता, भाइचारा र सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्छ । जब राज्यले गुणस्तरीय शिक्षा, रोजगारी र समानता सुनिश्चित गर्दै प्रणालीलाई व्यवस्थित बनाउँछ, तब मात्र यो गम्भीर सामाजिक समस्या कम भएर जान्छ ।

तसर्थ, निराशा र आत्महत्या रोकथामका लागि अस्पताल, थेरापिस्ट र औषधिको संख्या बढाएर पुग्दैन । यसका लागि आलोचनात्मक सामाजिक पुनर्संरचना आवश्यक छ । निराशालाई ‘रोग’ नभई सामाजिक असन्तुलनको संकेतका रूपमा बुझ्नुपर्छ । यसका संरचनात्मक कारणहरू (गरिबी, बेरोजगारी, विभेद)को समाधान गरिनुपर्छ । समाजशास्त्रीय चिन्तनबाट समाजलाई बुझ्न र त्यसतर्फ उन्मुख हुने योजना कार्यान्वयन गर्न सकियो भने मात्र व्यक्तिको समस्या समाधान सकिन्छ । (समाजशास्त्री सिलवालसँग शान्ति तामाङले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->