कहिलेकाहीँ प्रकृतिमा घटेको एउटा सामान्य देखिने घटनाले हामीले बनाएको सम्पूर्ण संसारबारे सोच्न बाध्य बनाउँछ । पहाडबाट खसेको पहिरो, नदीमा आएको असामान्य बाढी, असमयमा परेको पानी वा हिउँ पग्लिएको समाचार हामीलाई अलग–अलग घटना जस्तो लाग्न सक्छ । तर यस्ता घटनालाई जोडेर हेर्दा हाम्रो समयको एउटा ठूलो तस्बिर देखिन थाल्छ – मानिस र प्रकृतिबीचको सम्बन्ध बिस्तारै असन्तुलित हुँदै गएको तस्बिर ।
भदौ ९ गते हामी पनि पर्यावरण, बदलिँदो विश्व व्यवस्था र मानिसले रोजेको विकासको बाटोबारे कुरा गरिरहेका थियौँ । कुरा केवल राजनीति वा तत्कालीन घटनामा सीमित थिएन । हामी पूँजी, प्रविधि, विकास र प्राकृतिक स्रोत बीचको सम्बन्धबारे सोचिरहेका थियौँ । मानिसले आफ्नो सुविधा र समृद्धिका लागि प्रकृतिलाई कति टाढासम्म उपयोग गर्न सक्छ र प्रकृतिको आफ्नै सीमा कहाँबाट सुरु हुन्छ भन्ने प्रश्न त्यतिबेला पनि हाम्रो छलफलको केन्द्रमा थियो ।
त्यसको केही समयपछि हिमाली क्षेत्रमा घटेका घटनाहरूले यही प्रश्नलाई अझ गम्भीर बनाए । भदौ १० मा नेपाल–चीन सीमाक्षेत्रको हिमाली भूभागमा हिमनदी तथा हिम–चट्टानसँग सम्बन्धित ठूलो घटना भयो । हिम, चट्टान र पानीको ठूलो बहावसँगै बाढी र पहिरोको जोखिम बढ्यो । यस्तो घटना कुनै एउटा ठाउँमा घटेर त्यहीँ समाप्त हुँदैन । हिमालको परिवर्तन नदीमा पुग्छ, नदीको परिवर्तन बस्तीमा पुग्छ र अन्ततः मानिसको जीवनमा पुग्छ ।
यस्ता घटनालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै परिणाम भनेर मात्र व्याख्या गर्नु उचित नहोला तर हिमपहिरो, पहिरो वा हिमनदीसँग सम्बन्धित घटनामा भूगर्भीय अवस्था, तापक्रम, हिउँको संरचना, वर्षा र स्थानीय भौगोलिक परिस्थितिजस्ता धेरै कारणले भूमिका खेल्छन् । तर पछिल्ला दशकमा हिमाली क्षेत्रमा तापक्रम बढ्नु, हिमनदीहरू खुम्चिँदै जानु र प्राकृतिक प्रणालीहरूमा परिवर्तन देखिनु पनि उत्तिकै गम्भीर वास्तविकता हो ।
हिमाललाई हामी प्रायः सुन्दर दृश्यका रूपमा हेर्छौँ । तर हिमाल केवल आँखाले देखिने सौन्दर्य होइन । हिमाल पानीको भण्डार हो, नदीहरूको स्रोत हो र करोडौँ मानिसको जीवनसँग जोडिएको प्राकृतिक प्रणाली हो । हिमालमा भएको परिवर्तन हिमालमै सीमित रहँदैन । त्यसको असर तल बग्ने नदी, खेतीयोग्य जमिन, ऊर्जा, पर्यटन, बस्ती र मानिसको दैनिक जीवनसम्म पुग्छ ।
यहीँबाट पर्यावरणीय संकटलाई हेर्ने हाम्रो दृष्टिकोण बद्लिन आवश्यक हुन्छ ।
प्रकृतिले मानिसले बनाएका राजनीतिक सीमा मान्दैन । नदीले सीमास्तम्भ देखेर आफ्नो बहाव रोक्दैन । हिमनदीले आफ्नो अगाडि कुन देश पर्छ भनेर निर्णय गर्दैन । तापक्रम बढ्दा त्यसले कुनै राष्ट्रको सीमा पार गरेपछि आफ्नो प्रभाव रोक्दैन ।
प्रकृतिको कुनै राजनीतिक सीमा छैन ।
मानिसले पृथ्वीलाई देशमा बाँडेको छ । नक्सामा रेखा कोरेको छ । आफ्नो भू–भाग छुट्याएको छ । तर प्रकृतिको संसार त्यसरी विभाजित छैन । हिमाल, नदी, जंगल, हावा, पानी र जलवायु एकअर्कासँग जोडिएका छन् । एउटा ठाउँमा भएको परिवर्तन अर्को ठाउँमा पुग्न सक्छ ।
त्यसैले पर्यावरणीय संकट कुनै एउटा देशको मात्र समस्या होइन । यो मानव सभ्यताको साझा समस्या हो । तर यहाँ एउटा अर्को महत्वपूर्ण कुरा पनि छ – संकट साझा हुँदैमा त्यसको जिम्मेवारी समान हुँदैन ।
विश्वका सबै मानिसले प्रकृतिबाट समान मात्रामा स्रोत लिएका छैनन् । सबै समाजले समान मात्रामा प्रदूषण गरेका छैनन् । कसैले अत्यधिक ऊर्जा र प्राकृतिक स्रोत प्रयोग गरेर ठूलो आर्थिक समृद्धि हासिल गरेको छ भने कतिपय समाज अझै आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका छन् । तर पर्यावरणीय संकटको असर भने धेरैपटक त्यही कमजोर समाजले बढी भोग्नुपर्छ ।
यही असमानताले पर्यावरणको प्रश्नलाई सामाजिक न्यायसँग जोड्छ ।
र यहींबाट प्रकृति, पूँजी र मानिसबीचको सम्बन्धलाई फेरि एकपटक हेर्नुपर्ने आवश्यकता हुन्छ ।
आजको संसारमा प्रकृति र मानिसबीचको सम्बन्धलाई उत्पादन, बजार र पूँजीले ठूलो हदसम्म प्रभावित गरिरहेको छ । पूँजीवादी उत्पादन प्रणालीमा विस्तारको निरन्तर दबाब हुन्छ । उत्पादन बढाउनुपर्छ, बजार बढाउनुपर्छ, बिक्री बढाउनुपर्छ र नाफा बढाउनुपर्छ । एउटा कम्पनी विस्तार गर्न खोज्दा अर्को कम्पनी पनि प्रतिस्पर्धामा टिकिरहन विस्तार गर्न बाध्य हुन्छ । यसरी उत्पादन र उपभोगको चक्र निरन्तर घुमिरहन्छ ।
पूँजीका लागि स्थिर रहनु पर्याप्त हुँदैन । त्यसले आफूलाई बढाउन खोज्छ ।
आजको नाफा भोलिको लगानी बन्छ । भोलिको लगानीले अझ धेरै उत्पादन खोज्छ । उत्पादन बढाउन ठूलो बजार चाहिन्छ र ठूलो बजारका लागि उपभोग बढाउनुपर्छ । उपभोग बढाउन नयाँ वस्तु, नयाँ चाहना र नयाँ बजार सिर्जना गरिन्छ । मानिसको आवश्यकता कति हो भन्ने प्रश्नभन्दा बजारले कति बेच्न सक्छ भन्ने प्रश्न महत्वपूर्ण हुँदै जान्छ ।
यहीँबाट प्रकृतिमाथिको दबाब बढ्न थाल्छ ।
उत्पादनका लागि कच्चा पदार्थ चाहिन्छ । कच्चा पदार्थ प्रकृतिबाट आउँछ । जंगलबाट काठ, जमिनबाट खनिज, नदीबाट पानी, पहाडबाट ढुंगा, माटोबाट कृषि उत्पादन र भूमिबाट ऊर्जा निकालिन्छ । प्रकृतिका वस्तुहरू बिस्तारै बजारमा मूल्य राखिएका वस्तुमा परिणत हुँदै जान्छन् ।
जंगल जंगल मात्र रहँदैन, काठको स्रोत बन्छ । नदी नदी मात्र रहँदैन, ऊर्जाको सम्भावना बन्छ । पहाड पहाड मात्र रहँदैन, निर्माण सामग्री र खनिजको भण्डार बन्छ । जमिन जीवनको आधारबाट किनबेच गर्न सकिने सम्पत्तिमा बदलिन्छ । पानीसमेत व्यापारिक वस्तु बन्न पुग्छ ।
मानिसले प्रकृतिबाट स्रोत लिनु आफैँमा गलत होइन । मानिस प्रकृतिबाट बाहिर बसेर बाँच्न सक्दैन । खेतीदेखि आवाससम्म, ऊर्जादेखि औषधिसम्म मानव जीवन प्रकृतिसँगको सम्बन्धमै टिकेको छ । समस्या स्रोत प्रयोग गर्नुमा भन्दा त्यो सम्बन्ध कस्तो हुँदै गएको छ भन्नेमा छ ।
प्रकृतिबाट कति लिने, कसरी लिने, किन लिने, त्यसको पुनःपूर्ति कसरी गर्ने र त्यसबाट आएको लाभ कसले लिने – यी सबै प्रश्न आर्थिक संरचनासँग जोडिएका छन् ।
पूँजीवादी चिन्तनको समस्या त्यतिबेला गहिरो हुन्छ, जब प्रकृतिको मूल्यलाई मुख्यतः बजार मूल्यमा सीमित गरिन्छ । जंगलबाट काठ बेचेर कति आम्दानी हुन्छ भन्ने हिसाब गर्न सकिन्छ । तर त्यही जंगलले पानीको चक्र जोगाएको छ, माटोको क्षय रोकेको छ, असंख्य जीवजन्तुको बासस्थान बनेको छ र स्थानीय वातावरणलाई सन्तुलित राखेको छ भन्ने मूल्य बजारको सामान्य हिसाबले देखाउँदैन ।
बजारले वस्तुको मूल्य तोक्न सक्छ, तर प्रकृतिको सम्पूर्ण मूल्य पैसामा नाप्न सकिँदैन ।
यही ठाउँमा पूँजीको विस्तार र पृथ्वीको सीमाबीचको विरोधाभास देखिन्छ । पृथ्वी सीमित छ, तर पूँजीको विस्तारको चाहना निरन्तर बढिरहन्छ । नदीको पानी सीमित छ, तर उत्पादन बढिरहनुपर्छ । जंगल हुर्कन वर्षौँ लाग्छ, तर बजारलाई कच्चा पदार्थ तत्काल चाहिन्छ । खनिज बन्न लाखौँ वर्ष लाग्न सक्छ, तर मानिसले त्यसलाई केही दशकभित्रै निकालेर सक्न सक्छ ।
प्रकृति आफ्नै गतिमा पुनःनिर्माण हुन्छ । पूँजी आफ्नो गतिमा विस्तार हुन खोज्छ । यी दुई गति धेरै टाढा पुग्दा पर्यावरणीय संकट गहिरिँदै जान्छ ।
यही कारण कार्ल माक्र्सलाई आज पर्यावरणको सन्दर्भमा फेरि पढ्नु अर्थपूर्ण हुन्छ ।
माक्र्सले आज हामीले बुझ्ने अर्थमा जलवायु संकटको सिद्धान्त दिएका थिएनन् । तर मानिस, श्रम, उत्पादन र प्रकृतिबीचको सम्बन्ध उनको चिन्तनको महत्वपूर्ण हिस्सा थियो । मानिस प्रकृतिबाट अलग कुनै अस्तित्व होइन । आफ्नो जीवन धान्न उसले प्रकृतिसँग निरन्तर सम्बन्ध राख्छ । प्रकृतिबाट वस्तु लिन्छ, श्रममार्फत त्यसलाई उपयोगी बनाउँछ र त्यसैबाट आफ्नो जीवन चलाउँछ ।
तर उत्पादनको विशेष सामाजिक संरचनाले मानिस र प्रकृतिबीचको यो सम्बन्धलाई असन्तुलित बनाउन सक्छ ।
माक्र्सका लेखनमा प्रकृति र मानिसबीच हुने भौतिक आदानप्रदानका विचारलाई पछि पर्यावरणीय माक्र्सवादीहरूले अझ विस्तार गरे । त्यसै क्रममा ‘मेटाबोलिक रिफ्ट’ अर्थात् सामाजिक र प्राकृतिक चक्रबीचको विच्छेदको अवधारणा अगाडि आयो । सरल भाषामा भन्नुपर्दा, मानिसले प्रकृतिबाट लगातार स्रोत लिइरहने तर त्यसलाई प्राकृतिक चक्रमा फर्काउने र पुनः सन्तुलन कायम गर्ने प्रक्रियालाई कमजोर बनाउने अवस्था हो ।
आज यसको उदाहरण वरिपरि नै देख्न सकिन्छ ।
माटोबाट निरन्तर उत्पादन लिइन्छ, तर माटोको स्वास्थ्यलाई त्यही अनुपातमा फर्काउने कुरा उपेक्षित हुन्छ । नदीबाट पानी र ऊर्जा लिइन्छ, तर नदीको आफ्नै प्राकृतिक जीवनलाई गौण बनाइन्छ । जंगलबाट स्रोत लिइन्छ, तर जंगल पुनः हुर्कन लाग्ने समयलाई बजारको गतिले पर्खंदैन । खनिज निकालिन्छ, उत्पादन हुन्छ, वस्तु प्रयोग हुन्छ र अन्ततः ठूलो परिमाणमा फोहोर थुप्रिन्छ ।
यसरी समस्या मानिस प्रकृतिबाट टाढा हुनु मात्र होइन । समस्या मानिस र प्रकृतिबीचको सम्बन्ध असन्तुलित हुँदै जानु हो ।
त्यसैले पर्यावरणीय संकटलाई केवल व्यक्तिको नैतिक कमजोरीका रूपमा हेर्नु पर्याप्त हुँदैन । प्लास्टिक कम प्रयोग गर्नु, पानी जोगाउनु, ऊर्जा बचाउनु र रुख रोप्नु आवश्यक काम हुन् । तर उत्पादनको मूल संरचनाले नै अत्यधिक स्रोत प्रयोग गर्न र अत्यधिक उपभोग बढाउन प्रेरित गरिरहेको छ भने व्यक्तिगत प्रयासले मात्र सम्पूर्ण संकटको भार बोक्न सक्दैन ।
एक व्यक्तिले घरमा बत्ती निभाएर बचाएको ऊर्जाको महत्व आफ्नै ठाउँमा छ । तर ठूलो उत्पादन प्रणालीले एकै दिनमा प्रयोग गर्ने ऊर्जा, पानी र कच्चा पदार्थको मात्रा अर्कै स्तरको हुन्छ । त्यसैले व्यक्तिगत जिम्मेवारीसँगै उत्पादन र उपभोगको सामाजिक संरचनाबारे पनि सोच्नुपर्छ ।
यहाँ प्रविधिको प्रश्न पनि आउँछ ।
प्रविधि आफैँ पर्यावरणको शत्रु होइन । मानिसले प्रविधिको सहायताले रोग उपचार गरेको छ, सञ्चारलाई सहज बनाएको छ, ऊर्जा उत्पादन गरेको छ र प्राकृतिक जोखिमबारे पहिलेभन्दा धेरै जानकारी हासिल गरेको छ । आज हिमनदीको अवस्था मापन गर्न, मौसमको पूर्वानुमान गर्न, बाढीको जोखिम पहिचान गर्न र स्वच्छ ऊर्जाका नयाँ माध्यम खोज्न प्रविधि आवश्यक छ ।
समस्या प्रविधि हुनुमा होइन, त्यसको उद्देश्य र प्रयोगको दिशामा छ ।
प्रविधिलाई प्रकृतिबाट अझ धेरै स्रोत निकालेर नाफा बढाउने माध्यम बनाइयो भने त्यसले दोहनको गति झन् तीव्र पार्न सक्छ । तर त्यही प्रविधिलाई ऊर्जा बचत गर्न, प्रदूषण घटाउन, वस्तुको पुनः प्रयोग बढाउन, प्राकृतिक जोखिमको पूर्वसूचना दिन र मानिसको जीवन सुरक्षित बनाउन प्रयोग गर्न सकिन्छ ।
त्यसैले प्रविधिलाई दोष दिएर मात्र पुग्दैन । प्रविधिमाथिको सामाजिक नियन्त्रण, त्यसको उद्देश्य र त्यसबाट प्राप्त लाभ तथा क्षतिको वितरणबारे पनि सोच्नुपर्छ ।
समाधानको बाटो पनि यहीँबाट खोज्न सकिन्छ ।
हामीलाई विकास रोक्नु छैन । मानिसलाई राम्रो जीवन चाहिन्छ । शिक्षा, स्वास्थ्य, ऊर्जा, यातायात, आवास र रोजगारी मानिसका वास्तविक आवश्यकता हुन् । पर्यावरणको नाममा यी आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन । तर विकासको अर्थ के हो भन्नेबारे भने हामीले गम्भीर भएर सोच्नुपर्छ ।
धेरै उत्पादन भयो भने मात्र विकास भएको मान्ने कि मानिसको जीवन कति राम्रो भयो र प्रकृतिको आधार कति सुरक्षित रह्यो भनेर पनि हेर्ने ?
आज ठूलो आर्थिक लाभका लागि नदी नष्ट गरियो भने भोलिको पुस्ताले के पाउँछ ? जंगलबाट तत्काल आम्दानी भयो भन्दैमा त्यसको पानी, माटो र जैविक जीवनको मूल्य कसरी हिसाब गर्ने ? हिमाललाई पर्यटनको वस्तु बनाउँदा त्यसको प्राकृतिक वहन क्षमता नाघ्यौँ भने त्यही पर्यटन भविष्यमा कसरी टिक्छ ?
यी विकासविरोधी प्रश्न होइनन् । बरु विकासलाई लामो समयसम्म टिकाउने प्रश्न हुन् ।
नदीबाट ऊर्जा लिन सकिन्छ, तर नदीलाई मृत वस्तुजस्तो व्यवहार गर्न हुँदैन । पहाडमा सडक बनाउन सकिन्छ, तर पहाडको भूगोललाई बेवास्ता गरेर होइन । उद्योग चलाउन सकिन्छ, तर हावा र पानीलाई प्रदूषणको थलो बनाएर होइन । पर्यटन विस्तार गर्न सकिन्छ, तर प्रकृतिले धान्न नसक्ने भार थोपरेर होइन ।
यसका लागि उत्पादनको उद्देश्यबारे पनि पुनः सोच्नुपर्छ ।
मानिसको आवश्यकता पूरा गर्न उत्पादन गर्नु र मानिसलाई निरन्तर उपभोग गराइराख्न उत्पादन गर्नु एउटै कुरा होइन । आधुनिक उपभोक्तावादी संस्कृतिले मानिसलाई आवश्यकताभन्दा धेरै उपभोग गर्न प्रेरित गर्छ । नयाँ वस्तु किन्नु, केही समय प्रयोग गर्नु, पुरानो फाल्नु र फेरि नयाँ किन्नु – यो चक्र व्यक्तिगत इच्छाको परिणाम मात्र होइन; बजारको संरचनाले पनि यसलाई निरन्तर चलाइरहेको हुन्छ ।
यही कारण पर्यावरणको प्रश्न अर्थतन्त्रको प्रश्नबाट अलग रहन सक्दैन ।
यदि उत्पादनको मुख्य उद्देश्य नाफा अधिकतम बनाउनु हो भने समाजले कति उत्पादन गर्ने भन्ने निर्णय बजारको शक्तिले निर्धारण गर्छ । तर उत्पादनलाई सामाजिक आवश्यकतासँग जोड्ने हो भने प्रश्नको आधार नै फरक हुन्छ । समाजलाई वास्तवमा के चाहिएको छ, कति चाहिएको छ र त्यसका लागि प्रकृतिमाथि कति दबाब दिन उचित हुन्छ भन्ने कुरा महत्वपूर्ण बन्छ ।
समाजवादी पर्यावरणीय चिन्तनको सम्भावना यही ठाउँमा देखिन्छ । प्राकृतिक स्रोतलाई केही व्यक्तिको निजी सम्पत्तिका रूपमा मात्र होइन, समाजको साझा आधारका रूपमा हेर्ने सोच, उत्पादनलाई सामाजिक आवश्यकतासँग जोड्ने प्रयास र नाफाको अन्तहीन विस्तारभन्दा मानिसको वास्तविक आवश्यकतालाई प्राथमिकता दिने दृष्टिकोणले पर्यावरणीय संकटको अर्को बाटो खोज्न सक्छ ।
तर स्वामित्व परिवर्तन हुँदैमा मात्र समस्या समाधान हुन्छ भन्ने पनि होइन । इतिहासमा आफूलाई समाजवादी वा साम्यवादी भनेर चिनाएका समाजहरूले समेत प्रकृतिमाथि गम्भीर क्षति पु¥याएका उदाहरण छन् । त्यसबाट एउटा महत्वपूर्ण शिक्षा लिन सकिन्छ– पर्यावरणीय समाजवाद भनेको केवल निजी सम्पत्तिको विरोध होइन । उत्पादनको उद्देश्य, उपभोगको संस्कृति, प्रविधिको प्रयोग, प्राकृतिक सीमाको सम्मान र निर्णय प्रक्रियामा मानिसको वास्तविक आवश्यकता समेटिएको व्यापक दृष्टिकोण आवश्यक हुन्छ ।
हामीले प्रकृतिको सीमा बुझ्ने समाज बनाउनुपर्छ ।
प्रकृतिको सीमा स्वीकार्नु विकास रोक्नु होइन । बरु भविष्य जोगाउनु हो । नदीको सीमा छ, जंगलको पुनर्जीवनको गति छ, माटोको उत्पादन क्षमता छ, हिमालको सहनशीलता छ । यी सीमालाई नचिन्ने विकास अन्ततः आफ्नै आधारलाई कमजोर बनाउने विकास हुन्छ ।
प्रकृतिलाई जित्ने सोच मानव सभ्यताको एउटा पुरानो अहंकार हो । प्रकृतिलाई बुझेर, त्यसका सीमालाई स्वीकार गरेर र त्यससँग मिलेर अघि बढ्नु सभ्यताको अर्को चरण हुन सक्छ ।
आज हिमालमा देखिएका परिवर्तनलाई टाढाको समाचारजस्तो मात्र हेर्न मिल्दैन । हिमालको बरफ बदलिँदा पानीको स्वरूप बदलिन्छ । पानी बदलिँदा खेती र बस्ती प्रभावित हुन्छन् । खेती कमजोर हुँदा खाद्य प्रणालीमा असर पर्छ । वातावरण बिग्रँदा मानिसको स्वास्थ्य र जीवनयापन प्रभावित हुन्छ । अन्ततः पर्यावरणीय संकट मानिसकै जीवनको संकट बन्न पुग्छ ।
त्यसैले पर्यावरण कुनै छुट्टै विषय होइन । यो अर्थतन्त्रसँग जोडिएको छ, उत्पादनसँग जोडिएको छ, प्रविधिसँग जोडिएको छ, असमानतासँग जोडिएको छ र अन्ततः हाम्रो भविष्यसँग जोडिएको छ ।
कार्ल माक्र्सको प्रकृति र उत्पादनसम्बन्धी विचारलाई आज फेरि पढ्नुको अर्थ पुराना किताबबाट आजको संकटको तयार उत्तर खोज्नु होइन । उनले उठाएका मानिस, श्रम, उत्पादन र प्रकृतिबीचको सम्बन्धका प्रश्नलाई आजको संसारमा राखेर हेर्नु हो ।
आज मानिससँग विज्ञान र प्रविधिको अभूतपूर्व शक्ति छ । हामी हिमाल नाप्न सक्छौँ, मौसमको अनुमान गर्न सक्छौँ, समुद्रको तापक्रम मापन गर्न सक्छौँ र नयाँ ऊर्जा प्रविधि विकास गर्न सक्छौँ । तर ज्ञान र प्रविधिको शक्ति बढ्दै जाँदा हाम्रो आर्थिक सोच पनि प्रकृतिको सीमाभित्र बस्न सिकेन भने त्यो शक्ति आफैँ संकटको कारण बन्न सक्छ ।
हामीलाई नयाँ प्रविधिसँगै नयाँ चेतना चाहिन्छ । नयाँ उत्पादनसँगै उत्पादनको नयाँ उद्देश्य चाहिन्छ । नयाँ विकाससँगै विकासको नयाँ परिभाषा चाहिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, प्रकृतिप्रतिको हाम्रो दृष्टिकोण बदलिनुपर्छ ।
पृथ्वी मानिसले जितेको भूमि होइन । हामी आफैँ यही पृथ्वीको एउटा हिस्सा हौँ ।
हिमाल हाम्रो स्वामित्वको वस्तु मात्र होइन, जीवनको आधार हो । नदी उपयोग गर्न सकिने स्रोत मात्र होइन, आफ्नै प्राकृतिक प्रणाली भएको जीवित धारा हो । जंगल काठको भण्डार मात्र होइन, एउटा पूरा संसार हो । माटो उत्पादन गर्ने मेसिन मात्र होइन, जीवन धान्ने आधार हो ।
प्रकृति बजारमा राखिएको कुनै वस्तु मात्र होइन । प्रकृति नै त्यो आधार हो, जसमा मानिसले आफ्नो समाज, संस्कृति, अर्थतन्त्र र सभ्यता निर्माण गरेको छ ।
त्यसैले पर्यावरणको बहस केवल प्रकृति कसरी बचाउने भन्नेमा सीमित हुनु हुँदैन । हामी प्रकृतिसँग कस्तो सम्बन्धमा बाँच्न चाहन्छौँ भन्ने प्रश्नसम्म पुग्नुपर्छ ।
यदि हाम्रो लक्ष्य मानिसको आवश्यकता पूरा गर्ने, सामाजिक न्याय कायम गर्ने र प्रकृतिको सीमालाई सम्मान गर्ने समाज हो भने उत्पादन र उपभोगको हाम्रो सोच पनि बदलिनुपर्छ । हामीलाई नाफा कमाउन सक्ने समाज मात्र होइन, भविष्य जोगाउन सक्ने समाज चाहिन्छ । प्रकृतिमाथि विजय हासिल गरेको सभ्यता होइन, प्रकृतिसँग बाँच्न सिकेको सभ्यता चाहिन्छ ।
प्रकृतिको सीमा छ । हिमालको सीमा छ । नदीको सीमा छ । जंगलको सीमा छ । माटोको सीमा छ । पृथ्वीको पनि सीमा छ ।
तर पूँजीको विस्तारको चाहनाले यी सीमालाई नचिन्ने हो भने संकट प्रकृतिले मात्र भोग्ने छैन । अन्ततः त्यसको मूल्य मानिसले नै तिर्नुपर्नेछ ।
मानिसले बनाएका राजनीतिक सीमाहरू समयसँगै बदलिन सक्छन् । देशका नक्सा बदलिन सक्छन् । व्यवस्था बदलिन सक्छ । बजारको स्वरूप बदलिन सक्छ । प्रविधि बदलिन सक्छ । तर बाँच्नका लागि हामीसँग अन्ततः एउटै पृथ्वी छ ।
त्यसैले प्रकृतिबारे सोच्दा नक्साभन्दा बाहिर हेर्नुपर्ने समय आएको छ । हाम्रो नदी, हाम्रो हिमाल, हाम्रो जंगल भनेर छुट्याउनुभन्दा पहिले ती सबै एउटै प्राकृतिक चक्रका हिस्सा हुन् भन्ने कुरा बुझ्न आवश्यक छ ।
प्रकृतिको कुनै राजनीतिक सीमा छैन । तर मानिससँग आफ्नो लोभ, आफ्नो उपभोग र आफ्नो उत्पादनको सीमाबारे निर्णय गर्ने क्षमता छ ।
कहाँसम्म लिने र कहाँनेर रोकिने भन्ने निर्णय पनि मानिसकै हातमा छ ।
सायद आजको पर्यावरणीय संकटको सबैभन्दा गहिरो शिक्षा यही हो– पृथ्वीलाई आफ्नो आवश्यकता पूरा गर्ने ठाउँका रूपमा मात्र हेरेर पुग्दैन; आफू पनि यही पृथ्वीको एउटा हिस्सा भएको कुरा स्वीकार गर्नुपर्छ ।
किनकी प्रकृतिको सीमा नबुझी बनाइएको कुनै पनि समृद्धि अन्ततः आफ्नै आधारमाथि उभिएको अस्थायी भवनजस्तै हुनेछ ।




