बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सरकारले हामीलाई बिर्सियो

सरकारले हामीलाई बिर्सियो

आफैं होटलमा काम गरेर उपचार गराइराखेको छु । सरकारले केही हेरेको छैन ।


  • विजय नेपाली
  • भाद्र २४ २०८३, बुधबार

पोखरा/मंगलबार जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन पोखरामा आन्दोलनका गम्भीर घाइतेहरू भेला भए । त्यो बेला आन्दोलन सुरु भएको पोखरा सभागृहअघि उनीहरु जम्मा भएका हुन् । जेनजी दिवस मनाइरहेका उनीहरु राज्यप्रति भने बेखुस देखिए ।

गम्भीर घाइते भएकाहरुल्े राज्यबाट पाउनुपर्ने सुविधा अहिलेसम्म पनि नपाएको भन्दै गुनासो गरे । आन्दोलनको बलमा सरकार बने पनि आन्दोलनका मुद्दाहरू बिर्सिइएको उनीहरुको गुनासो छ ।

आफूहरुले राज्यबाट न्यायको अनुभूति गर्न नपाएको र सरकार काठमाडौंमात्रै केन्द्रित भएको उनीहरूको गुनासो छ । आन्दोलनमा पोखरामा ३ जनाको मृत्यु भएको थियो भने ५६ जना घाइते भएका थिए । तीमध्ये ५ जना गम्भीर घाइते भएका थिए । ढकबहादुर नेपाली अझै पनि आइसियुमै उपचाररत छन् ।

रमेश शर्मा, अनिस सापकोटा, चोकबहादुर गुरुङ र विवश घर्ती मगर गम्भीर घाइते भएका थिए । उनीहरुले एक वर्षअघि आन्दोलन सुरु गरेकै स्थान पोखरा सभागृहबाट राज्यलाई पुनः पुकारेका छन् । भ्रष्टाचार विरुद्ध सुशासन माग्दै भएको त्यो आन्दोलनमा राज्यको दमनबाट घाइते हुँदा न उनीहरुले रोजगारी पाएका छन्; न त राज्यले उचित सम्बोधन गरेको छ ।

घाइते चोकबहादुर एउटा आँखाले देख्दैनन् । राज्यबाट पाउने सुविधा नपाएको गुनासो गर्दै पोखराको आन्दोलनप्रति समेत राज्य उदासिन भएको उनी सुनाउँछन् । ‘महानगरपालिका अघि म घाइते भएको हुँ । फिस्टेलमा तत्काल उपचार हुँदा मेरो आँखाले देख्दैन भन्नुभयो । पछि आँखा अस्पताल जाँदा राम्रोसँग उपचार भएन,’ उनले भने, ‘परिवारको अवस्था कमजोर छ । आफैं होटलमा काम गरेर उपचार गराइराखेको छु । सरकारले केही हेरेको छैन ।’

उपचार निशुल्क हुन्छ भनिएको भए पनि अहिलेसम्म आफैंले खर्च गर्नु परेको उनको गुनासो छ । उनले ३ महिनामा २७ हजार रुपैयाँमात्रै सरकारको सहयोग प्राप्त गरेको सुनाए ।

अर्का घाइते ढकबहादुर नेपाली अस्पतालको आइसियुमै छन् । उनकी दिदी लक्ष्मीले भाइको उपचार भइरहेको बताउँदै अवस्था अझै पनि उस्तै रहेको सुनाइन् । अहिले उनको माग घर जाने र राष्ट्रिय परिचयपत्र बनाउने छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सो माग राखेको र त्यहाँबाट प्रतिनिधि आउने भनिए पनि अहिलेसम्म नआउँदा पाउने सुविधाहरूबाट बञ्चित भएको उनको गुनासो छ ।

‘राष्ट्रिय परिचयपत्रकै कारण धेरै काम रोकिएका छन् । हामी घर जान चाहान्छौं । हामीलाई राज्यले ती सुविधा दिए अस्पतालबाट घर जाने थियौं,’ उनले भनिन् । अनिस सापकोटाको देब्रे आँखामुनिको जोर्नी भाच्चिएको थियो । अहिलेसम्म शल्यक्रिया गर्नका लागि उनी भौतारिइरहेका छन् ।

उनकी आमा अम्बिका शल्यक्रियाका लागि ठूलो रकम लाग्ने र त्यो रकम तिर्न सक्ने अवस्था नभएको सुनाउँछिन् । ‘आँखाको जोर्नी तल झरिसकेको छ । अप्रेसन गर्न भौतारिएको छु । धेरै पैसा लाग्छ रे, कहाँबाट ल्याउने,’ उनी निराश सुनिइन्, ‘छोराहरुको नागरिकता पनि छैन । राज्यबाट पाउनुपर्ने सुविधा पनि पाउन सकिरहेका छैनन । यसमा राज्यले हेरिदिन प¥यो ।’

उनको समस्या छोराहरुको नागरिकतामा हो । श्रीमानले सानैमा छाडेर गएका कारण अहिले निकै समस्या परिरहेको उनी बताउँछिन् । नागरिकता नहुँदा घाइते भएपछि पाउनुपर्ने सुविधाबाट समेत अनिस बञ्चित छन् । जेनजी अभियन्ता सुवानी पौडेलले जेनजीको रगतमा टेकेर सांसद बनेकाहरूले अहिले बाटो बिराएको गरिन् ।

‘सुशासन कायम गर्न र भ्रष्टाचार विरुद्ध हामीले आन्दोलन गरेका थियौं तर, अहिलेसम्म त्यो पूरा भएन । घाइते भएका जेनजीले सुविधा पाएका छैनन् । सहिद भएकाले सम्मान पाएका छैनन्,’ उनले भनिन्, ‘गृहमन्त्रीले केश हेर्दै छौ भन्छन्, केही भएको छैन । सडकबाट सदनमा पुगे, आफ्नो स्वार्थ पूरा गरे ।’

जेनजी कास्की संयोजक सरोज पराजुलीले जेनजीको मुद्दा सडकबाट सदनमा पुग्न नसकेको जिकिर गर्छन् । अझै पनि आन्दोलनले सार्थकता नपाएको उनको भनाइ छ । ‘आन्दोलनपछि जसरी सरकार बन्यो र एक्सनमा गएर पक्राउ पनि ग¥यो तर, के भयो ? अहिले बिर्सिएको छ । पोखराका घाइते जेनजीको मुद्दा उस्तै छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->