
बागलुङ/ राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १ सय ७८ वटा घर/गोठ र टहराहरुको करिब ८ करोड क्षतिपूर्ति वितरण गर्न थालेको हो ।
आयोजनाको कार्यालयका प्रशासन प्रमुख नारायण पौडेलले ११ मिटर फराकिलो हुने स्तरोन्नतिको क्रममा रहेको सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपर्ति वितरण सुरु गरेको बताए ।
सबै संरचनाको क्षतिपूर्ति दिन ८ करोड बजेट माग गरिएकोमा पहिलो चरणमा ३ करोड आइसकेको जानकारी दिदै पौडेलले म्याग्दी र मुस्ताङका लागि एक करोड ५० लाखका दरले प्राप्त भएको बजेट बितरण गरेपछि दोस्रो चरणमा थप बजेट मागिने पौडेलले बताए ।
म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घर, टहरा र गोठ हटाउन सम्बन्धित धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताए ।
बेनी—जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी बिकास तथा भवन डिभिजन कार्यालय बागलुङका ईञ्जिनियरको नेतृत्वमा प्राबिधिक टोलीले नापजाँच गरि क्षतिपुर्तिका लागि सिफारिस गरेको थियो । नापजाँच गरेको २ वर्ष ६ महिनापछि क्षतिपूर्ति उपलब्ध गराउन थालिएको हो ।





