पोखरा/ कास्की कांग्रेसमा महिला पनि क्रियाशील सदस्य छन् । आन्दोलनमा जेलनेल भोगेका, गोली लागेका र पार्टीका हरेक कार्यक्रममा नेतृत्वदायी भूमिका खेलेका महिलाहरु पनि कांग्रेसमा आवद्ध छन् । तर, कास्कीका ७२ वटा वडा कार्यसमितिको अधिवेशनमा एक जना पनि महिला वडा सभापति हुन पाएनन्, हुनै दिएन ।
कास्की कांग्रेसले दिएको विवरण अनुसार जिल्लाभर १९ हजार १४२ जना क्रियाशील सदस्य छन् । जसमा एक तिहाइ बढी महिला सदस्य छन् । यत्तिका महिला हुँदा एउटा वडामा पनि महिला सभापति निर्वाचित हुन महिला सदस्य दोषी नभएको नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट बताउँछिन् । ‘महिला वडा सभापतिको आकांक्षी नभएका होइनन्,’ उनले भनिन्, ‘महिलालाई नेतृत्वमा आउन नदिएका हुन् ।’
कोपिलाले भने जस्तै जिल्लाका नेताहरुले महिला वडा सभापति हुन नदिएको घटना पोखरा ८ मा छ । जहाँ वडा सभापतिको उम्मेदवार बनेकी शारदा गिरीलाई नेताहरुले होटलका गोप्य बैठकबाट हराइदिए । आकांक्षीको उम्मेदवारी फिर्तासमेत नगराई होटलबाट सभापति घोषणा गरिदिए ।
पार्टीले निर्धारण गरेको मिति भदौ १८ गते नै पोखरा महानगर वडा नं. ८ को वडा कार्यसमितिको अधिवेसन थालियो । वडा सभापतिमा ७ जना आकांक्षी थिए । शारदा सभापतिको एक्ली महिला उम्मेदवार थिइन्, बाँकी ६ जना पुरुष थिए । उम्मेदवारी घोषणा गर्दासम्म उनलाई जिल्लाका नेताहरुले वडा सभापति बन्ने भन्दै बधाई समेत दिए ।
वडा कार्यसमिति सहमतिमा चयन गर्ने भन्दै नेताहरुले भदौ १८ गते निर्वाचन प्रक्रिया अघि बढाएनन् । सहमतिका लागि सल्लाह गर्ने भनेर रोकियो । भोलिपल्ट भदौ १९ गते वडा सभापतिका उम्मेदवारहरुले प्रतिवद्धता मन्तव्य राखे । शारदाले पनि राखिन् । वडा सभापतिमा
सहमति हुने छाँट नदेखिएपछि युवा क्रियाशिल सदस्यहरुले निर्वाचन गर्न माग गरे ।
पोखरा–८ कास्कीका ठुला नेताहरु समेत रहेको वडा हो । उक्त वडामा गण्डकी प्रदेशका कानुनमन्त्री बनेका विन्दुकुमार थापा, प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका देवराज चालिसे, महाधिवेसन प्रतिनिधिहरु विरेन्द्रनारायण विजुक्छे, सोभियतबहादुर अधिकारी लगायत नेताहरु छन् । उनीहरुले सहमति गर्ने भन्दै निर्वाचन प्रक्रिया अघि बढाएनन् ।
वडा अधिवेसनमा कार्यसमिति चयन गर्न सहमति नभए चुनाव मार्फत गर्न सकिने कांग्रेसको विधानमै छ । नेताहरु भने वडा तहको निर्वाचनदेखि डराउन थाले । जसरी पनि सहमति गर्ने भन्दै होटलतिर लागे । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बनेका थापाले त चुनाव भए बेइज्जत हुने तर्क पेश गरेको शारदाले बताइन् ।
थापा तिनै मन्त्री हुन्, जसले तनहुँबाट निर्वाचित प्रदेश सांसद डोबाटे विश्वकर्माको नाम मन्त्रीको लिस्टबाट काटेर अन्तिम अवस्थामा सपथ खान पुगेका थिए । व्यवसायिक पृष्ठभूमिका थापा भन्दा शारदा नेपाली कांग्रेसको पुरानो क्रियाशील सदस्य हुन् । कांग्रेसको राजनीतिमा आउने वित्तिकै थापा सांसद बनेर मन्त्री भए । शारदा भने वडा सभापतिको उम्मेदवार बन्दा पनि निर्वाचन हुन नदिएर पार्टीबाटै हटाउन खोजेको उनको गुनासो छ ।
वडा अधिवेशनमा सहमति गर्न नेताहरु होटलमा बसेर छलफल गरे । अन्तिममा रमेश बराललाई वडा सभापतिमा सहमति भएको भनेर घोषणा गरिदिए । सभापति उम्मेदवार बनेकी शारदालाई यसमा सहमति छैन । उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी पनि छैनन्, र नेताहरुको उक्त निर्णयमा हस्ताक्षर पनि गरिनन् ।
‘म चुनावमा जान्छु भनेर सही गरेको छैन, चुनावमा हार भएपनि स्विकार्छु भन्दा बाटो छेकियो,’ उनले सोधिन्, ‘लोकतन्त्रमा यो कत्तिको न्याय हो ?’ चुनाव गर्न नेताहरु नै डराएर सहमतिका नाममा आफ्नो बाटो छेकेको उनले बताइन् । निर्वाचन हुँदा कतिपय नेताहरु वडामै चिप्लिने भएकाले चुनाव हुन नदिएको उनको दाबी छ ।
सहमतिमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छान्दा उम्मेदवारहरुवीच सहमति हुनुपर्ने हो । उनीहरुको चित्त बुझाउनुपर्ने हो । पोखरा– ८ मा त्यसो गरिएन । उम्मेदवारी दिएका आकाँक्षीको समझदारी विपरित निर्वाचन पनि नगराई वडा समिति घोषणा गर्नु अलोकतान्त्रिक काम भएको शारदालाई लागेको छ ।
पार्टीमा इमान्दार र निष्ठामा लागेका व्यक्तिलाई यसरी नै अलोकतान्त्रिक तरिकाले हटाउने खेल भइरहेको समेत उनको भनाइ छ । सहमति नै नभएको वडामा सहमति भयो भनेर कार्यसमिति घोषणा गरेको विषयमा पार्टीले हेर्नुपर्ने उनको धारणा छ । तर, पार्टीले हेर्छ भन्नेमा उनलाई विश्वास छैन । ‘नेताहरुले निर्णय गर्दा आँटेको महिलालाइ छेक्नु भनेको राम्रो होइन,’ उनले भनिन्, ‘भित्रदेखि घाम लागेको छैन मलाई ।’
आन्दोलनमा गोली खाएकी शारदा
पोखराकी शारदा गिरी नेपाली कांग्रेसका पूराना कार्यकर्ता हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएकी उनी कांग्रेसले आह्वान गरेका अनेक आन्दोलनमा सहभागी भएकी छिन् । सानो पसल चलाएकी शारदा पार्टीको कार्यक्र भनेपछि पसल बन्द गरेर जान्छिन्, पार्टी कार्यक्रममा नेतृत्वदायी भूमिका निभाउँछिन् ।
उनको घरमा पञ्चायतकालमै प्रजातन्त्र पक्षधर मानिसहरु आइराख्थे । उनीहरुले जेलनेल भोगेका विपी, नोना कोइराला र शैलजा आचार्यका कुरा गरेको शारदाले सुनेकी थिइन् । घरमा आउने मानिसहरुले गरेको कुरा सुनेरै उनले कांग्रेस पार्टी रोजेकी थिइन् । ‘प्रजातन्त्रमा सबै खुला हुन्छ, कांग्रेसमा लाग्नुपर्छ भनेर पञ्चायतकालमै नेविसंघमा लागेकी हुँ,’ उनले भनिन्, ‘हाम्रो वडाको अधिवेसन हेर्दा त कांग्रेसले नै प्रजातन्त्र नमानेको देखियो ।’
कांग्रेसले आह्वान गरेको कुनै पनि आन्दोलन नछुटाएकी शारदाले २०६२÷०६३ को जनआन्दोलनमा गोलीको छर्रा खाएकी छिन् । पोखराको सभागृहचोकमा प्रहरीलाई फुलको गुच्छा दिने आन्दोलनको कार्यक्रम थियो । जहिल्यै अघि सर्ने स्वभावकी शारदा प्रहरीका डिएसपीलाई फुलको गुच्छा दिन निषेधित क्षेत्रतर्फ अघि बढिन् । उनलाई पछाडीबाट पार्टीका नेताहरुले ढाडस दिएका थिए ।
शारदाले प्रहरीलाई गएर फुलको गुच्छा दिइन्, त्यसपछि प्रहरी दमन शुरु भयो । उनी बेपत्ता भाग्न थालिन् । अरु त पहिल्यै भागिसकेका थिए । त्यहीबेला प्रहरीले चलाएको गोलीको छर्रा लागेर उनी घाइते भइन् । जनआन्दोलनका घाइते भनेर अरुले राहत र उपचार खर्च लिए, शारदाले भने दाबी नै गरिनन् ।
शान्ति प्रक्रियापछि माओवादीको दबदबाका विरुद्ध पनि शारदाले लडेकी छिन् । पोखराको जनप्रिय क्याम्पसमा विद्यार्थी संगठन बनाउने विषयमा २०६५ मा माओवादीले लफडा शुरु ग¥यो । माओवादीको तारोमा परिन् क्याम्पसकी प्राध्यापक सविता वैद्य । कांग्रेस निकट प्राध्यापक सवितालाई माओवादीले पेट्रोल छर्केर आगो लगाउन खोजे । शारदा छेक्न गइन् । माओवादीलाई रोक्न खोज्दा उनको सारी च्यातियो, सवितालाई जलाउन नपाएको झोंकमा माओवादीले क्याम्पसको झ्याल, ढोका जलाएको उनले बताइन् । त्यतिबेला माओवादीले च्यातिदिएको सारी शारदाले अहिले पनि सुरक्षित राखेकी छिन् ।
शारदा अहिले नेपाली कांग्रेस निकट नेपाल महिला संघको क्षेत्रीय सभापति छिन् । त्यसअघि उनी पोखरा महानगर समितिको सदस्य थिइन् । गत स्थानीय निर्वाचनमा वडा नं. ८ कै वडा अध्यक्षको उम्मेदवार बनेकी उनी ७१ मतले पराजित हुन पुगेको बताइन् । पार्टीभित्र अन्तर्घात भएका कारण पराजित हुन पुगेको उनको ठम्याइ छ । ‘वडा अध्यक्षको भोट सुर्यमा हालेका छन्, अरुमा रुखमा हालेका छन्, यो अन्तर्घात नभएर के हो त,’ उनले भनिन् ।
कास्कीको एउटा पनि वडामा महिला सभापति चुनिन नसक्नुको कारण कोटा प्रणाली भएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीको दाबी छ । ‘अहिले सबैतिर महिलालाई कोटा छुट्याएको छ, त्यसो भएर महिला वडा भन्दा माथिल्लो तहमा जान सक्ने भएकाले वडा सभापति नभएका होलान्, सभापति केसीले भने, ‘कांग्रेसको जुनसुकै पद महत्वपूर्ण भएपनि वडा सभापति भएर नेतृत्वमा जाने मौका यसपाली काँस्कीका महिलाले गुमाए ।’
सभापति केसीको भनाइमा भने नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटको सहमति छैन । जिल्लाका एउटा वडामा पनि महिला सभापति नहुनु लज्जास्पद भन्दै उनले सहमतिका नाममा महिलालाई पछाडी पारिएको बताइन् । ‘सहमतिका नाममा महिलाले नै त्याग गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘हामी उम्मेदवार बन्छम्, चुनाव लड्छम् भन्दा पनि पुरुष नेताहरुले दिएनन् ।’





