शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरे : गुरुङ

माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरे : गुरुङ


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७८, शुक्रबार
नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको भेला।

म्याग्दी – नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य किरण गुरुङले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक आत्महत्या गरेको टिप्पणी गरेका छन्।

नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताद्वयले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीप्रति लक्षित गरेर यस्तो धारणा व्यक्त गरेका हुन्।

‘माधव नेपालले आत्मकेन्द्रित भएर पदका लागि विचार, सिद्धान्त त्यागेर राजनीतिक आत्महत्या गर्नुभयो,’ सचिव गुरुङले भने, ‘उहाँको कुनै राजनीतिक भविष्य छैन। त्यो पार्टीमा भुलवस, आवेशमा आएर गएका र सनाखत गरेकाको पनि राजनीतिक मृत्यु हुन्छ।’

धेरै लचकता र प्रयासका बावजुद पनि नेपालले कसैसँग अनैतिक सम्झौता गरेर एमालेलाई विभाजन गरेको आरोप लगाए।

‘पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने, महाधिवेशनसम्म दुई जना अध्यक्ष बनाउने सम्मको प्रस्ताव गर्दा पनि मान्नुभएन,’ गुरुङले भने, ‘उद्देश्य नै एमालेको शक्ति क्षय गराउने रहेछ। तर फुटेको पार्टिले नेपालमा मात्र नभएर विश्वमै कहीं कतै प्रगति गरेको इतिहास छैन।’

स्थायी कमिटी सदस्य गुरुङले नेता नेपाल विसर्जनवादी भएको र उनले बनाएको पार्टीमा नलाग्न कार्यकर्तालाई आग्रह गरे। ‘मुल विचार, सिद्धान्त र सही नेतृत्व हामीसँग छ,’ गुरुङले भने, ‘यो पार्टी विभाजन नभएर शुद्धीकरण हो। एमाले बलियो भएर नै पाँच वटा पार्टीले गठबन्धन गरेका हुन्। आत्तिनु पर्दैन।’

पछिल्लो देशको राजनीतिक घटनाक्रम, केन्द्रीय कमिटी बैठकले गरेका निर्णय, आगामी महाधिवेशनका विषयमा कार्यकर्तालाई प्रशिक्षण गर्न र जनस्तरसम्म पार्टीको धारणा लैजान भेला आयोजना गरेको एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले बताए।

जिल्ला, पालिका, वडा तह, जनवर्गीय संगठनको नेता र एमालेबाट निर्बवाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको भेलामा प्रदेश कमिटि सदस्य नवराज शर्मा, बागलुङ जिल्ला कमिटिका अध्यक्ष इन्द्रलाल सापकोटा, म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->