पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर सभापतिको लागि ६ जना प्रत्यासी देखिएका छन् । पोखरा महानगरको सभापतिमा पत्रकारसमेत रहेका गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला,युवा नेता मिलन तिवारी एवं क्रियाशिल पत्रकारसमेत रहेकी ज्योति हमालले उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन अधिकृत अधिवक्ता आरसी विमलका अनुसार २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जना र २ जना नै सहसचिवको लागि ७ जनाले उम्मेदवारी दिएका छन् । उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा,प्रयागराज भण्डारी,भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले दावी पेश गरेका छन् । यसैगरी सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले मनोनयन पेश गरेका छन् । सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,शिवमोहन अधिकारी,संजय आले र संघर्ष कोइरालाले मनोनयन पत्र बुझाएका छन् । काग्रेसमा कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ ।
कांग्रेसको विधान अनुसार स्थानीय तहको प्रत्येक वडाबाट एकजना महिलासहित ३ जना सदस्य हुनुपर्ने उल्लेख छ । यसअनुसार पोखरा महानगरका ३३ वटा वडाबाट ९९ जना सदस्य रहनेछन् । यस्तै, पदाधिकारी ८ जना रहनेछन् । अल्पसंख्यक र समावेशीताका आधारमा पोखरा महानगरमा कांग्रेसको १६५ सदस्यीय कार्यसमिति रहने निर्वाचन अधिकृत अधिवक्ता विमलले बताए । उनका अनुसार, सदस्य पदका लागि आवश्यक भन्दा कम संख्यामा मात्र मनोनयन दर्ता भएको छ ।
नगर चुनाव असोज ९ मा
नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ । पोखरा सहित देशका विभिन्न जिल्लाका महानगर÷नगर÷गाउँपालिकामा मनोनयन पत्र दर्ता गरिए पनि अधिवेशनको नयाँ मिति तय भएपछि कार्यतालिका प्रभावित हुने भएको छ ।
कांग्रेस पदाधिकारी बैठकले गरेको प्रस्तावका आधारमा निर्वाचन समितिले गाउँ–नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनको नयाँ मिति तय गरेको हो । निर्वाचन समितिले जारी गरेको नयाँ निर्वाचन कार्यतालिका अनुसार भदौ २७ गतेका लागि निर्धारण गरेको गाउँ–नगरपालिका अधिवेशन असोज ५ गतेका लागि तय भएको छ । यस्तै, असोज १ गतेका लागि निर्धारित प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तय गरिएको छ भने असोज ५ गतेका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तोकिएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १८ का लागि तोकिएको समितिले जनाएको छ। यसअघि उक्त अधिवेशन असोज १० गते गरिने निर्णय गरिएको थियो । आगामी कार्तिक १०–१२ मा हुने भनिएको क्षेत्रीय अधिवेशन र मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको मिति भने यथावत राखिएको छ ।
उम्मेदवार थपिन सक्ने
कार्यतालिका परिवर्तन भएसँगै अहिले मनोनयन पत्र बुझाएकाहरुलाई प्रभाव परेको छ । यद्यपि, अहिले मनोनयन दर्ता भएपनि असोज ९ गतेको निर्वाचन प्रक्रियामा थप उम्मेदवारहरु सहभागी हुने कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए ।
‘केन्द्रले तोके अनुसारकै मितिमा अधिवेशन हुन्छ, अहिले उम्मेदवारी दिएका साथीहरुको उम्मेदवारी त्यतिबेलासम्मै कायम रहन्छ,’ सभापती केसीले भने । परिवर्तित महाधिवेशन तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता र अहिले दर्ता भएका उम्मेदवारी फिर्ता गर्न पनि प्रशस्त समय मिलेको उनले बताए ।
यसअघि पोखरा महानगरको १४औं अधिवेशनको गण्डकीका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका थिए । पोखरा महानगर सभापति बजिरमान श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्र सम्पन्न भएको थियो ।





