काठमाण्डौ/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई ‘रिजेक्ट’ गर्नुभन्दा राष्ट्र हितको पक्षमा संशोधन गरेर पास गर्नुपर्ने नीति लिएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकका क्रममा एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले एमसीसीलाई ‘रिजेक्ट’ गरेर जाने भन्दा संशोधनसहित पास गर्नु उचित हुने बताए ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाइरहेका बेला एमालेले संशोधनसहित पास गरेर अमेरिकी अनुदान सदुपयोग गर्नुपर्ने बताएको छ ।
‘हामी प्रतिपक्षमा छौँ । त्यसैले पहिलो कुरा त सत्तारुढ गठबन्धनले एमसीसीलाई संसदमा टेबुल गर्नुपर्छ’, भट्टराईले भने, ‘तर उहाँहरु (सत्तारुढ पाँच दलीय गठबन्धन) ले के गर्नुहुन्छ थाहा छैन ।’
उनले एमसीसीलाई स्वीकार्नै नहुने पक्षमा एमाले नरहेको बताए । ु‘मसीसीलाई’ रिजेक्ट’ गर्ने पक्षमा एमाले छैन । हाम्रो त्यो निष्कर्ष होइन’ भट्टराईले भने, ‘एमसीसीलाई राष्ट्रिय हित अनुकुल बनाउनुपर्छ भन्ने हो । हाम्रो पार्टी अहिले पनि त्यही निर्णयमा कायम छ । एमसीसीलाई संशोधनसहित अघि बढाएर अमेरिकी सहयोगको सदुपयोग गर्दा हुन्छ ।





