पोखरा/ गण्डकी प्रदेश सभाका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ बैशाख १६ गते पहिलो पटक युवा तथा खेलकुदमन्त्री नियुक्त भए । पहिलो पटक मन्त्री बनेको १० दिनमै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए । मनाङे मन्त्री रहेनन् ।
तत्कालीन प्रदेश प्रमुख सीताकुमारी पौडेलले फेरि ठूलो दलका नेताको हैसियतले फेरि मुख्यमन्त्रीमा एमाले नेता गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरे । स्वतन्त्र सांसद मनाङे जेठ ९ गते दोस्रो पटक सोही मन्त्रालयमा दोहोरिए ।
सत्ता रस्साकस्सी चलिरहेकैबेला ‘क्याम्प’ बदल्दै विपक्षी गठबन्धनलाई साथ दिए । र, गुरुङ नेतृत्वको सरकार ढल्न पुग्यो । मनाङेको साथले विपक्षी गठबन्धनमा बहुमत पुग्यो, फेरि मनाङे तेस्रो पटक जेठ २९ गते विनाविभागीय मन्त्री नियुक्त भए ।
कांग्रेस नेतृत्वको गठबन्धनबाट युवा तथा खेलकुदमन्त्रीका रुपमा तेस्रो पटक कार्यभार सम्हालेका मनाङेले अब सत्ता गठबन्धनमा समस्या नआउने बताएका छन् । उनको यो भनाइले डेढ महिनामा ३ पटक मन्त्री नियुक्त भएका मनाङेको तेस्रो कार्यकाल भने पहिलो र दोस्रोजस्तो अस्थिर नहुने संकेत गरेको छ ।
गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्रीहरुले भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नपर्छ । तर, यसअवधिमा पनि युवा तथा खेलकुद मन्त्री मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन ।
मन्त्रीका रुपमा मनाङेले पहिलो पटक आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरे । मन्त्रालयले तयार पारेको प्रेस विज्ञप्ति प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङलाई पढ्न लगाए । त्यसपछि बल्ल पत्रकारसँग उनले सवाल–जवाफ गरे ।
पत्रकार सम्मेलनको अन्त्यतिर मनाङेलाई सोधियो, ‘सम्पत्ति विवरण किन सार्वजनिक नगर्नुभएको हो ?’ जवाफमा मनाङेले आप्mनो सम्पत्ति विवरण के कति छ कि छैन आफैंलाई थाहा नभएको बताए ।
‘म आफैं कन्फ्युज छु, के छ के छैन,’ मनाङेले भने, पहिलो श्रीमतीलाई दिए, छोराको नाममा पास गरिदिएको छु, अहिले के छ के छैन मलाई नै थाहा छैन ।’ सम्पत्तिबारे उनी यतिमै रोकिएनन् । उनले आफूसँग भएको सम्पत्ति उठ्नै बाँकी रहेको दाबी गरे ।
‘पहिला बिजनेस गर्दाको पैसा छ । तर, आएको छैन,’ उनले भने, ‘रामेले २० लाख, श्यामेले २ करोड लगेको छ भने लेख्ने कुरा भएन, अहिले त मसँग केही छैन ।’ मनाङेले विगतमा मुद्दा लड्दा बैना स्वरुप दिएको रकम पनि ठगी गरेको दाबी गरे । कसले ठगी गरेको उनले खुलाएनन् ।
नेपालमा पहिलो पटक ‘मनी लाउन्ड्री’को मुद्दा आफूलाई चलाएको समेत मनाङेले बताए । उनले प्रहरीका हाकिमहरु अझै पनि आप्mनो विरोधी रहेको दाबी गरे । ६० प्रतिशत प्रहरी असल भए पनि ४० प्रतिशत खराब भएको उनले बताए ।
मनी लाउन्ड्रीको मुद्दामा आफूले अदालतमा बयान दिँदा त्यतिबेला अहिले जस्तो आइएमई नभएकाले हुण्डी गरेको बयान दिएको बताए । ‘राजाको छोराले पनि हुण्डी गरेर पैसा पढेको हो,’ मनाङले भने, ‘त्यतिबेला मुख्य न्याधिशले पनि हुण्डी गरेर विदेशमा छोरा पढाएको हो, मेरो मुद्धा अदालतले खारेज गरिदियो ।’
सचिव आउनै मानेन, मन्त्रालयको बैंक खातासमेत छैन
पत्रकार भेटघाटमा मन्त्री मनाङेले उत्पादनमा लाग्ने युवाहरुको समूहलाई २५ लाख रुपैयासम्म ऋण दिने घोषणा गरे । यसका लागि कम्तिमा ७ जनाको समुह हुनुपर्ने र दश बर्षभित्र सरकारलाई उक्त रकम फिर्ता गर्नुपर्ने उनको भनाई छ । यसरी प्रवाह गरेको ऋणमा सरकारले ब्याज अनुदान दिएको उनले बताए ।
युवाको समुहले बुझाएको प्रस्ताव अनुसार फिल्डमा हेरेर मात्र अनुदान रकम दिने उनले जानकारी गराए । मन्त्रालयमा ५७ करोड रुपैया बजेर रहेको भन्दै उनले त्यसको ६० प्रतिशत खेलकुदमा लगाउने र ४० प्रतिशत युवा स्वरोजगारका कार्यक्रममा लगाउने उनले घोषणा गरे ।
गण्डकी सरकारले साढे ३ बर्षसम्म खेलकुदको क्षेत्रमा केही नगरेको दाबी गर्दै मनाङेले प्रशिक्षण दिने ठाउँ समेत नभएको बताए । ‘सिकाउने ठाउँ नै नभएपछि खेलकुदमन्त्रीको के काम,’ उनले भने, ‘कस्तो ठाउँमा परेछु, केही पनि छैन ।’
अघिल्लो सरकारले म्याग्दी र बागलुङमा खेलकुदका क्षेत्रमा धेरै बजेट दिएको उनले बताए । यी दुई जिल्लामा मात्र २ करोड रुपैया हालेको भन्दै उनले गण्डकीका ११ जिल्ला मध्ये बाँकी ९ जिल्लाका लागि पनि २ करोड बजेट रहेको उनले बताए । बाँकी जिल्लामा आफुले बजेट थप्न लागेको मनाङेको भनाई छ ।
मनाङेले आप्mनो निर्वाचन क्षेत्र समेत रहेको मनाङमा एउटा मात्र योजना राखेको बताए । ‘मेरो जिल्लामा जनतालाई ‘कन्भिन्स’ गरेको छु’, मनाङेले भने, ‘जनसंख्या पनि थोरै छ, बरु तिमीहरु तास खेल्न ठाउँ बनाउ, सहयोग गर्छु भनेको छु ।’
युवा तथा खेलकुद मन्त्रालयले शिक्षा, कृषि, अर्थ लगायतका क्षेत्रलाई पनि छोएको भन्दै उनले गृहलाई पनि छुने आप्mनो योजना रहेको मनाङेले सुनाए । स्कुलका खेलमैदान बनाउन सहयोग गर्ने योजना बनाएका उनले नेपालका सबै मन्त्री, सचिव, मुख्य सचिव सरकारी स्कुलमा पढे पनि कसैले चासो नदिएकाले आफुले चासो दिएको उनको भनाई छ ।
संघ सरकारले होटल, रेष्टुरेण्ट, बार, क्लब लगायत खोल्ने निर्णय गर्नुअघि आफु सुझाव दिन काठमाडौं गएको उनले बताए । ‘म २ दिन बिरामी भएर सुतेको थिए, सरकारले गलत तरिकाले निर्णय गरेछ,’ उनले भने, ‘सबै कुरा खोल्ने हो, तर भ्याक्सिन लगाएको मान्छे मात्र जान पाउने गरी खोल्नुपर्छ भनेर सुझाव दिन गएको थिए, बिगारेर निर्णय गरेछ ।’
गण्डकी युवा तथा खेलकुद मन्त्रालय बनेको लामो समय वित्दा समेत अहिलेसम्म सचिव आउन नमानेको मन्त्री मनाङेले बताए । ‘सचिव अहिलेसम्म पाएको छैन, सचिव आउ भन्दा बजेट छैन भन्छ,’ उनले भने, ‘तलब खान पाएकै छ, सचिवको काम बजेट हेर्ने हो र ?’
युवा तथा खेलकुद मन्त्रालयको अहिलेसम्म बैंक खाता पनि नखोलेको मन्त्री मनाङेले खुलाए । खाता नभएकै कारण खेलाडीलाई जर्सी वितरण गर्दाको पैसा अहिलेसम्म तिर्न नसकेको उनले बताए ।
पोखरा रंगशालामा शौचालय सभा गर्नेदेखि सबै एमालेको भएको भन्दै उनले आफुलाई अप्ठ्यारो परेको बताए । ‘ट्याइलेट सफा गर्ने पनि एमाले, खेलाडी एमाले, कोज एमाले, पत्रकार एमाले मलाई कम्ता गा्रहौ छ काम गर्न,’ उनले भने, ‘जनता भएर बाच्नुपर्छ, सबै पार्टीका भएर बिग्रियो ।’





