आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

विप्लवको प्रश्न : नेपालमा सेना, प्रहरी छैन, लप्सीफेदी टावरको सुरक्षा गर्न अमेरिकी आउनुपर्ने ?

विप्लवको प्रश्न : नेपालमा सेना, प्रहरी छैन, लप्सीफेदी टावरको सुरक्षा गर्न अमेरिकी आउनुपर्ने ?


  • Dhorpatan News
  • भाद्र २८ २०७८, सोमबार

 

काठमाडौ/ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जबर्जस्ती लाद्ने प्रयास भइरहेको बताएका छन् ।

एमसीसीविरुद्ध सोमबार खुलामञ्चमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले सम्झौता नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र नेपाली जनताको हितविरुद्ध रहेको दाबी गरे । सम्झौतामा लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन एमसीसीको सुरक्षामा रहनेलगायत थुप्रै राष्ट्रघाती प्रावधान रहेको भन्दै उनले आपत्ति जनाए ।

‘एमसीसीमा लप्सीफेदीदेखि बुटवल, गोरखपुरनजिकसम्म अमेरिकी सुरक्षा हुनेछ भन्ने छ । अमेरिकाको राष्ट्रिय सुरक्षाको निम्ति यो लागू हुनेछ भन्ने छ । अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीका लागि नेपाललाई प्रयोग गर्ने रणनीति छ । एमसीसीको कानुन लागू हुने भन्ने छ,’ उनले भने, ‘नेपालमा सेना, प्रहरी छैन लप्सीफेदी टावरको सुरक्षा गर्न ? अमेरिकीहरू आउनुपर्ने सुरक्षा गर्न ? कुन स्वाभिमानी नेपालीले मान्छ ?’

विप्लवले नेपालको सेना, अदालत जनतालाई दमन गर्नमात्रै हो भनेर प्रश्न गरे । ‘नेपालको कानुन अदालत छैन ? नेपालको अदालत र सेना जनतालाई दमन गर्न मात्रै हो ? क्रान्तिकारीहरूको विरुद्ध फैसला गर्न अदालत न्यायाधीश बनाइएको हो ? जनताविरुद्ध बनाइएको हो ?’ उनले प्रश्न गरे ।

विप्लवले पैसाले देश समृद्ध नहुने पनि बताए । ‘पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको ५० अर्ब दिएर कायापलट हुन्छ ? अमेरिकाले सित्तैमा पैसा दिँदैछ विरोध गर्नेहरू दुष्ट हुन् भने एकजनाले । तिनीहरू दलाल हुन्,’ उनले भने, ‘आज पैसा पैसा भन्ने कांग्रेसका साथीहरू पैसाले समृद्धि रोकिएको हो ? के पैसाले विकास हुन्छ ? पैसामात्रै भए हुन्छ ? पैसाले कहिल्यै पुग्दैन । अधिकार, स्वतन्त्रता र देश स्वाधीन हुनुपर्छ । विकास र समृद्धिको बाधक पैसा होइन, सत्ता हो । जनताको हातमा सत्ता भयो भने, जनता मालिक भयो भने पहाड बन्छ । नदी बन्छ । देश हराभरा बन्छ ।’

पैसाबाट समृद्धि हुन्छ भन्ने सोच दलाल कमिसनखोरको विकृत सोच भएको विप्लवको भनाइ छ । विप्लवले एमसीसी सम्झौताविरुद्ध बोलेकोमा एमाले उपाध्यक्ष भीम रावलको प्रशंसा गरे । ‘मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो डराउने,’ उनले भने, ‘भीम रावललाई भन्यौं । एमाले, माओवादीका कमरेडलाई भन्यौं । राष्ट्रवादी कमरेडलाई भन्यौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->