पोखरा/ अमरसिंह उच्च माविको नेवि संघ उपसभापति दीपिका भण्डारी अहिले १९ वर्षकी भइन् । कांग्रेसको जारी महाधिवेशन प्रक्रियामा उनी माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छिन् । क्षेत्रीय प्रतिनिधि बन्न उनले पार्टीको वडा अधिवेशनमा उत्तिकै मेहनत र जुक्ति लगाउनुप¥यो ।
क्षेत्रीय प्रतिनिधि बन्न उनले वडा अधिवेशन अघि पार्टीले वितरण गरेको क्रियाशील सदस्यता लिइन् । आफ्नो मात्र होइन, आमा गोमा भण्डारीलाई पनि क्रियाशील सदस्य बनाइन् । वडा अधिवेशनमा दीपिकाले आफू र आमालाई पनि क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनाइन् ।
‘क्षेत्रीय प्रतिनिधिमा आमालाई अगाडी बढाएर म ब्याक हुन्छु भनेर सोचेको थिएँ,’ दीपिकाले भनिन्, ‘पार्टीमा अलि नराम्रो राजनीति भयो,त्यसपछि म अगाडी बढ्ने निर्णय गरें ।’
वडा अधिवेशनमा दीपिकालाई गाउँका कांग्रेस नेता कार्यकर्ताले बच्चा भनेका थिए । बच्चाले पनि पार्टीको पद खोज्ने ? पार्टीमा के योगदान छ ? उनलाई लक्ष्य गर्दै अरु नेता कार्यकर्ताले उनलाई होच्याउन खोजे । आमा– छोरी नै क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनेको भन्दै दुबै जनालाई उम्मेदवारी फिर्ता लिन दवाव दिए ।
गाउँका नेता कार्यकर्ताको व्यवहार देखेर दीपिकाले अठोट गरिन्,‘अब उम्मेदवारी फिर्ता लिन्न ।’ क्षेत्रीय प्रतिनिधिले मात्र गाउँपालिका कार्य समिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न पाउने र मतदान गर्न पाउने अधिकार कांग्रेसको विधानले दिएको छ । नेतृत्वका लागि उम्मेदवार र मतदान गर्ने शक्तिशाली अधिकार भएकै कारण उनका आमाछोरीलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक लगाउन खोजेका थिए ।
वडा अधिवेशनमा सहमतिका लागि नेताहरुले सक्दो प्रयास गरे । दीपिकाको आमाछोरीले उम्मेदवारी फिर्ता नलिने अडान कसे । त्यसपछि सहमतिका लागि भन्दै दीपिकाको आमा गोमालाई वडा कार्यसमिति सदस्य र दीपिकालाई क्षेत्रीय प्रतिनिधि बनाउन कांग्रेसका स्थानीय नेताहरु सहमत भए ।
कांग्रेसको जारी अधिवेशनमा अब गाउँकार्यसमितिको निर्वाचन हुनेछ भने त्यसपछि क्षेत्रीय र जिल्ला कार्यसमितिको निर्वाचन हुनेछ । क्षेत्रीय प्रतिनिधिले नै केन्द्रिय समितिको निर्वाचन गर्ने महाधिवेशन प्रतिनिधि छनौट गर्नेछ । दीपिका यतिबेला उम्मेदवारी घोषणा गरिरहेका गाउँदेखि जिल्ला र महाधिवेशन प्रतिनिधिका उम्मेदवार हेरिरहेकी छिन् । कसलाई किन मतदान गर्ने विचार गरिरहेकी छन् । ‘कसलाई भोट दिने निर्णय गरिसकेको छैन’, उनले भनिन्, ‘राम्रो मान्छेलाई भोट हाल्ने हो, अहिलेसम्म पार्टी र समाजलाई के गर्दैछ हेर्ने हो ।’
गाउँ कार्यसमितिदेखि महाधिवेशन प्रतिनिधिसम्म युवा पुस्ताका उम्मेदवारलाई भोट दिने उनले बताएकी छिन् । पार्टीभित्रका गुटका आधारमा आफूले मतदान नगर्ने उनले प्रष्ट्याइन् । ‘हामीलाई गुटको मतलब छैन’, उनले भनिन्, ‘जुनसुकै गुटका होस्, राम्रा मान्छे, केही गर्न सक्ने मान्छेलाई भोट दिइन्छ ।’
सानै उमेरमा राजनीतिमा होमिएकी दीपिका कहाँसम्म पुग्छिन् टुङ्गो छैन । उनी क्षेत्रीय प्रतिनिधि बन्दा उनीभन्दा पुराना कांग्रेस कार्यकर्ता समेत वडामै छुटेका छन् । राजनीतिमा भविश्य कहाँसम्म पुग्छु भनेर नसोचे भन्दै उनले जहाँ पुगेपनि राजनीतिमै रहिरहने बताइन् ।
जहाँ पुगे पनि राजनीतिमा लाग्दा गलतलाई गलत र राम्रो कुरालाइ ठीक भन्नुपर्ने उनको भनाइ छ । ‘अहिले नराम्रोलाई पनि ठीक भनेकाले देशको राजनीति बिग्रेसकेको छ’,उनले भनिन्, ‘म गलतलाई गलत नै भन्छु ।’
कास्की कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि हुन्, लेकसाइडका विपिन पौडेल । दीपिका भन्दा एक वर्ष सानो १८ वर्षीय विपिन पनि कांग्रेसका नयाँ क्रियाशील सदस्य हुन् । स्थानीय निर्वाचन २०७२ देखि कांग्रेसको राजनीतिमा होमिएका विपिन अहिले कक्षा १२ मा पढछन् । उनी नेविसंघको राजनीतिमा लाग्न पाएनन् तर नेविसंघदेखि पार्टीको कार्यक्रम र आन्दोलनमा सरिक हुन भने छाडेनन् ।
कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको निधन हुँदा विपिन सानै थिए । त्यतिबेला कोइरालाप्रति मानिसले देखाएको सद्भाव र सम्मानले सानै उमेरमा विपिनको मन छोएको थियो ।
सो घटनाले कांग्रेस प्रति विपिनको झुकाव बढेको थियो । स्थानीय निर्वाचनपछि कांग्रेसमा लागेका विपिनले ३ वर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने अवसर पाए । ‘सभापति पोखरा आउनुभएको थियो, मैले भेट्न पाएँ’, उनले भने, ‘स्थानीय चुनावमा कांग्रेसबाट वडा अध्यक्षमा जिताइयो, पार्टीको कार्यक्रममा हिड्न थालेको छु भनेर सभापतिलाई भनें ।’ त्यतिबेला देउवाले ल ल ठीक छ, अघि बढ भनेको विपिनले बताए ।
क्षेत्रीय प्रतिनिधिका रुपमा विपिनले कांग्रेसको पोखरा महानगर कार्यसमिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवारलाई मतदान गर्नेछन् । उनी भने नेविसंघको राजनीतिमा लाग्न पार्टी राजनीति यहाँभन्दा अघि नबढाउने सोचमा रहेको बताए ।
मतदान गर्दा गुटको राजनीति नहेरी आप्mनो क्षेत्रका लागि काम गर्न सक्ने नेतालाई भोट दिने उनको मनसाय छ । यसका लागि क्षेत्रीय प्रतिनिधिहरुको बैठक बसेर सकेसम्म एकै ठाउँमा मतदान गर्न पहल भइरहेको उनले जानकारी दिए ।
‘नेताको चाकडी गरेर जे भन्यो त्यही मान्ने व्यक्तिलाई भोट दिन सकिन्न’,उनले भने, ‘हाम्रो वडाका लागि काम गर्न सक्ने व्यक्ती हेरेर भोट दिने हो ।’ गुटबन्दीकै कारण पार्टी र देशको राजनीति बिग्रिएकाले गुटका आधारमा भोट दिन नहुने उनको भनाइ छ ।
लमजुङको दोर्दी गाउँपालिका– ८ बाट क्षेत्रीय प्रतिनिधि बनेका २५ बर्षीय क्षितिज तामाङ यसअघि नेपाल तरुण दलको राजनीतिमा आवद्ध थिए । गाउँमा युवा क्लबमा रहेर सामाजिक काममा लागेका क्षितिज पनि वडा अधिवेशनअघि मात्र कांंग्रेसको क्रियाशील सदस्यता लिएका थिए ।
क्षितिजलाई कांग्रेसको राजनीतिमा लाग्न उनको पनि पारिवारिक पृष्ठभूभिले काम गरेको छ । परिवार कांग्रेसको मतदाता भएपनि पार्टी सदस्यता भने लिएका थिएनन् । उनका ९४ वर्षीय हजुरबुबा चन्द्रबहादुर तामाङ राणा शासनकै बेलादेखि कांग्रेसमा आवद्ध थिए । कांग्रेसमा लागेको भन्दै त्तकालीन राणा शासकका कर्मचारी उनका हजुरबुबालाई खोज्न गाउँघरमै पुगेका थिए ।
राणा प्रशासकको आँखा छलेर गाउँबाट भागेका चन्द्रबहादुर बेलायती सेनामा भर्ती हुन पुगे । अहिले पनि हजुरबुबाले त्यतिबेलाका कथा सुनाउने गरेको क्षितिजले बताए । क्षेत्रीय प्रतिनिधि बनेका क्षितिजले आप्mनो क्षेत्रका लागि राम्रो काम गर्न सक्नेलाई मतदान गर्ने बताए । उनले भने, ‘मलाई गुट–सुटको मतलब छैन, जसले हाम्रो क्षेत्र, लमजुङ जिल्ला र देशका लागि राम्रो काम गर्न सक्छ, उसैलाई भोट दिने हो ।’
क्षितिजले पार्टीको कुनै पदमा उम्मेदवार बन्नेबारे अहिलेसम्म कुनै निर्णय लिएका छैनन् । पद पाउनका लागि क्षेत्रीय प्रतिनिधि नबनेको उनको भनाइछ । जिल्लाका नेताहरु गुटबन्दीमा रमाएको भन्दै उनले जुनसुकै गुटका भएपनि राम्रो काम गर्न सक्ने युवालाई भोट दिने उनले बताए ।
पोखरा महानगर–३२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी २१ वर्षीया भावना पौडेल पनि क्षेत्रीय प्रतिनिधिमा चुनिएकी छिन् । पृथ्वीनारायण क्याम्पसमा एलएलबी अध्यनरत पौडेल नेपाल विद्यार्थी संघमा आवद्ध छिन् । क्षेत्रीय प्रतिनिधिबाट माथिल्लो निकायको कुनै पनि तहमा अहिले उम्मेदवार नबन्ने उनको सोच छ । तर, भविश्यमा राजनीति नै गर्ने उनको योजना छ ।
‘अहिले ग्राउण्ड लेभलमा छु, अलि पछि राजनीतिमै होमिने हो’, उनले भनिन्, ‘एकैचोरी फड्को मार्ने कुरा भएन नि ।’
पार्टीको अधिवेशनमा नेतृत्व चुन्दा जनता माझ जान सक्ने नेतालाई मतदान गर्ने उनले बताइन् । ‘म गुट हेरेर एउटा प्यानलमा भोट हाल्दिन, उम्मेदवार हेर्छु’, पौडेलले भनिन्, ‘उम्मेदवारको पृष्ठभूमी हेर्छु, युवा पुस्ताका उम्मेदवारलाई भोट दिन्छु ।’
पृथ्वीनारायण क्याम्पसमा नेविसंघको इकाइमा आवद्ध रहेपनि आफु कुनै गुटमा नलागेको पौडेलले बताइन् । फिल्डमा काम गर्न सक्ने नेता कांग्रेसलाई चाहिएको भन्दै उनले गुटबन्दीमा रमाउने ‘टुरिष्ट’ नेतालाई हराउनुपर्ने उनको धारणा छ ।
‘चुनावका बेला मात्र जिल्ला आउने टुरिष्ट नेतालाई सकाउनुपर्छ, यस्ता नेताले जित्यो भने फेरि माथिमाथि बस्ने गुटबन्दी गर्ने मात्र हुन्छ’,उनले भनिन् ।
पृथ्वीनारायण क्याम्पसमा नेविसंघको बिबिए संकायका सभापति बनेकी २१ बर्षीया सञ्जिता आचार्य पोखरा–२ बाट क्षेत्रीय प्रतिनिधि बनेकी छिन् । क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बन्दा उनलाई गाउँका स्थानीय कार्यकर्ताले ‘तिम्रो समय बाँकी छ, उम्मेदवारी फिर्ता गर’ भनेका थिए । उनले आफ्नो कुरा राखेपछि उनी क्षेत्रीय प्रतिनिधि चुनिन् ।
अधिवेशनका क्रममा अन्य कुनै पार्टीमा उठ्ने कि नउठ्ने निर्णय उनले गरेकी छैनन् । महाधिवेशनमा मतदान गर्दा गुटबन्दीका आधारमा नभई उम्मेदवारको क्षमताका आधारमा गर्ने उनले बताइन् । ‘महाधिवेशनमा भोट हाल्न मात्र राजनीतिमा आएको होइन’, उनले भनिन्, ‘राम्रा मान्छेलाई भोट दिएर आफु पनि अघि बढ्ने हो ।’
कांग्रेसको राजनीतिमा एउटा गुटमा नलागि अघि बढ्नै नसक्ने अवस्था आएको आचार्यले बताइन् । ‘म यहाँभन्दा माथि कसरी जाने, गुट नसमाते ठाउँ नै छैन,’ उनले भनिन्, ‘अहिले निर्वाचनमा हारेका मान्छे पनि गुटबन्दीका आधारमा मनोनित गर्छन् ।’ गुटगट आधारमा पार्टी र देश चलेको भन्दै उनले जुनसुकै गुटका भएपनि राम्रा मान्छे अघि बढ्यो भने केही राम्रो गर्न सक्ने उनले आशा राखिन् ।





