पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।
‘एक नम्बर र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका नेतृत्वको सरकार छ । १ नम्बर र ३ नम्बरमा हामी एक हप्ताभित्र सरकार हटाएर हामी सरकार जान गइरहेका छौँ’, पोखरामा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने,‘ त्यही भएर यो पार्टी ९ प्रतिशत छ, ५ प्रतिशत छ ९ केपी ओलीको पार लगाउँदै० झुटा प्रचार कसैले गर्छन् भने त्यसलाई नपत्याउनू ।’
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला उनले एक हप्ताभित्र आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरु पठाउने जानकारी पनि दिए । पाँच दलीय गठबन्धनलाई आउँदो चुनावसम्म बलियो बनाउँदै लैजाने बताउँदै उनले भने,‘ यही हप्ताभित्र हामी केन्द्रीय सरकारमा पनि मन्त्रीहरु पठाउन गइरहेका छौँ ।’
उनले अन्तिम अवस्थामा आफूलाई छाडेर हिँडेकाहरुमाथि टिप्पणी त गरेनन् तर भएका कार्यकर्तालाई एमाले नफर्कन आग्रह भने गरे ।
‘कमरेडहरु हिजोको कुरा सम्झेर हुँदैन । त्यहाँ त जम्मै ढोका बन्द भइसक्यो, त्यहाँ त फाँसीको सजायँ दिइएको हुनाले महाराजाधिराजले आममाफी पनि दिइसके । भोलिपल्ट फेरि सजायँ दिए, फेरि मृत्युदण्डको सजायँ दिएका छन्’,उनले भने,‘ त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस् । यो पार्टीलाई अगाडि बढाऊँ ।’ उनले अहिले बाहिर प्रचार भएजस्तो माओवादी पार्टीसँग हाम्रो एकता हुनेवाला नहुने बताउँदै थपे,‘ एक्लै, आफ्नै शक्तिको आधारमा अगाडि बढ्नेवाला छौँ ।’
कार्यकर्ता व्यवस्थापनबारे कमै बोल्ने अध्यक्ष नेपालले यसपटक सरकार एवं नियुक्तिहरुमा भाग लिने र योग्य कार्यकर्तालाई अवसर दिने उद्घोष पनि गरे । ‘कसैले केही प्रचार गरोस् ,अनेक नियुक्ति छन् । ती नियुक्तिमा जसरी आसेपासेलाई पठाइएको थियो,योग्यता क्षमता नभएकालाई पनि पठाइएको थियो, अनुचित काम गर्नेहरुलाई पनि पठाइएको थियो,स्याल हुइँया गर्नेलाई पठाइएको थियो, जथाभावि गर्नेलाई पठाइएको थियो’,उनले भने,‘ तीबाट मुक्त भएर हामीले त्यसमा पनि समुचित ढंगले व्यवस्थापन गर्न ९ कार्यकर्ता पठाउन ० गइरहेका छौँ ।’
उनले एकीकृत समाजवादी पार्टी सातै प्रदेशमा हामी बलियो भएको जिकिर पनि गर्न भ्याए । ‘सुदूरपश्चिम प्रदेशमा सातवटै पार्टीभन्दा हामी एक नम्बर छौँ । २ नम्बर प्रदेशमा केपी ओलीको पार्टीलाई पछाडि धकेलेर हामी एक नम्बरमा उभिएका छौँ । कर्णाली प्रदेशमा हामीले टक्कर दिएर धुलो चटाएका छौँ’,उनले भने,‘जहाँसम्म लुम्बिनीमा पनि सरकारमा गइरहेका छौँ । यो गण्डकी प्रदेशमा हामी भेदभाव गरियो, टिकटबाट वञ्चित गरियो । देशभरका पीडितहरु एकतावद्ध भएका छौँ ।’





