पोखरा/ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारले सोमबार आफ्नो सय दिने कार्यकाल पूरा गरेको छ । नव गठित प्रदेश सरकारको सय दिन अर्थात् ‘हनिमुन पिरियड’ पूरा भएको अवसरमा मुख्यमन्त्री नेपाली आफू नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धिहरु प्रस्तुत गरे ।
३१ पृष्ठ लामो सय दिने उपलब्धि ‘दस्तावेज’मा मुख्यमन्त्री नेपालीले बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराएको, राजनीतिक नियुक्ति गरेकोदेखि लिएर इजरायलका राजदूतसँग भेटघाट तथा छलफल गरेकोसम्म उपलब्धिमा उल्लेख गरेका छन् ।
तत्कालीन सरकारको नेतृत्व गरिरहेको नेकपा नेतृत्वको सरकारमा ‘गडबड’ र लगत्तै एकता गरेका नेकपा एमाले, माओवादी केन्द्र छुटिएपछि नयाँ सरकारको नेतृत्व गर्ने जिम्मा नेपाली कांग्रेसको पोल्टामा आएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट नेपाली जेठ २९ गते नयाँ सरकारको नेतृत्व सम्हालेका थिए ।
अघिल्लो सरकारभन्दा राम्रो र प्रभावकारी रुपमा कामकारबाही अघि बढाउनुपर्ने दबाब मुख्यमन्त्री नेपालीलाई थियो । सरकारको सय दिने ‘हनिमुन पिरियड’ बाटै जनताले सरकारको सामान्य मूल्यांकन गर्ने गर्दछन् । सय दिने अवधिमा केही सुरुआत गर्न खोजे पनि परिणाममुखी उपलब्धि भने छैन ।
उपलब्धिमा उल्लेख भएका कतिपय ‘उपलब्धि’हरु कागजमात्रै सीमित छन् । तर, मुख्यमन्त्रीको दाबी छ, ‘अघिल्लो सरकारले सञ्चालन गरिरहेका कार्यक्रमलाई गति प्रदान गर्नका अतिरिक्त जनताका तत्कालीन आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्दा छोटो समयमा पनि धेरै उपलब्धि हासिल भएका छन् ।’
सय दिने सरकार सञ्चालनको अवधिमा प्रदेश सरकारले कोरोनाविरुद्धको खोप, प्रदेश समन्वय परिषद् पुनर्गठन, मन्त्रिपरिषद् सदस्यहरुको आचारसंहितालगायतलाई आफ्नो उपलब्धिमा समेटेको छ ।
प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री नेपालीले पहिलो निर्णय महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क उपचार गर्ने घोषणा गरेका थिए । कार्यविधि तयार नभइसकेकाले पहिलो निर्णयसमेत कागजमै सीमित छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्यांकन निर्देशिका, २०७८ स्वीकृत गरिएको उपलब्धि भएको जनाएको छ । पत्रकार महासंघ कास्की र प्रदेश समितिलाई फर्निचर सहयोग गरेको
पनि उपलब्धि पत्रमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारले कोभिडका कारण रोकिएको सवारीचालक अनुमति पत्र वितरण सुरुलाई उपलब्धिमा समेटेको छ ।
प्रदेश सरकारले आफ्नो सय दिने अवधिमा कालीगण्डकी नदीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । प्रदेशमा रहेका २ सय ९० तालहरूको तथ्यांक प्रतिवेदन पेश गरिएकोदेखि ११ वटै जिल्लामा सामाजिक विकास कार्यालय सञ्चालन गरिएकोसमेत आफ्नो उपलब्धिमा उल्लेख गरेको छ ।
‘राजनीतिक नियुक्ति उपलब्धि’
प्रदेश सरकार गठन भएपछि गरिएका राजनीतिक नियुक्तिलाईसमेत प्रदेश सरकारले आफ्नो उपलब्धिमा समेटेको छ । सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री नेपालीले महत्वपूर्ण राजनीति नियुक्ति गरेको जनाएका छन् ।
नयाँ प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्षसहित ३ जना सदस्य नियुक्ति, प्रदेशको मुख्य न्यायाधिवक्ता, प्रदेश लोकसेवा आयोगको सदस्य, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार, प्रेस संयोजकमा भरत कोइरालालाई नियुक्त गरेकोलाई महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेको छ ।
‘सरकार गठनलगत्तै विपद् उद्धारमा खटिनुप¥यो’
मनसुनको सुरुआतसँगै परेको भारी वर्षाले गण्डकीका विभिन्न जिल्ला प्रभावित बन्न पुगेको थियो । सरकार गठनलगत्तै बाढीपहिरो र विपद्जन्य घटना बढेकाले विपद् व्यवस्थापन र उद्धारमा केन्द्रित हुनु परेको प्रदेश सरकारको भनाइ छ ।
बाढीपहिरोको कारण अवरुद्ध प्रदेशभरका सडक सञ्चालन गर्न प्राविधिक कार्यालय परिचालन, बाढीपहिरो क्षतिग्रस्त ठाउँको स्थलगत निरीक्षण, बाढीका कारण खाद्यान्न ढुवानी नहुँदा अभाव पूर्ति गर्न हेलिकप्टरबाट ढुवानी, विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरेको, बाढीपहिरोबाट क्षति पुगेका संरचना पुननिर्माण गर्न राहत व्यवस्था गरिएको लगायत विषय प्रदेश सरकारको उपलब्धिमा उल्लेख छ ।
सरकारले विपद् व्यवस्थापन पूर्णरुपमा लागिपरेको उपलब्धिमा उल्लखे गरेको छ । तर, बाढीपहिरो गएको लामो समय भइसक्दा पनि पीडितहरुको पुनस्र्थापना हुन सकेको छैन । बाढीपहिरोले क्षति पुगेका सडक सञ्जाल पुननिर्माण हुन नसक्दा मनाङ, बागलुङ, गोरखा लगायत विभिन्न स्थानीय तह सडक सञ्जालविहीन बन्न पुगेका छन् ।
स्वास्थ्यमा धेरै उपलब्धी
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले हालसम्म प्रदेशभरका ४ लाख ५३ हजार जनाले दुवै कोरोना खोपविरुद्धको खोप पाइसकेको जानकारी दिएका छन् । साथै, ६ लाख १० हजार जनाले पहिलो मात्रा पाएका छन् ।
नेपालमै पहिलो पटक मनाङ र मुस्ताङ जिल्ला कोरोना खोपविरुद्धको पूर्णखोपयुक्त सय दिने अवधिमै घोषणा गर्न सकिएको प्रदेश सरकारको उपलब्धिमा उल्लेख छ । त्यस्तै, प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका योद्धा, घाइते, अपांग तथा सहिद परिवारका सदस्यलाई निशुल्क स्वास्थ्यसेवा गराउने अवधारणापत्र स्वीकृत भएको जनाएको छ ।





