पोखरा, ५ असोज राष्ट्रिय ए डिभिजन फुटसल लिगमा पोखराको सविन मेमोरियलले जित हात पार्दा अर्को घरेलु टोली स्पोट्र्स क्यासलले भने बराबरी खेल खेलको छ ।
पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमो सविन मेमोरियलले लुम्बिनी फुटसललाई ३–२ गोलले हराउँदै पहिलो जित हात पारेको हो । पहिलो खेलमा ८–६ को हार व्यहोरेको सविन मेमोरियल जितसंगै तालिकाको छैठौँ स्थानमा रहेको छ ।
खेल सुरुभएको छैटौँ मिनेटमा अभिनाष तामाङले सुरुवाती अग्रता दिलाए । यस्तै खेलको ८ औं मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको १५ औं मिनेटमा लुम्बिनीका हेमन्त गुरुङले गोल गर्दै अग्रता घटाउने काम गरे ।
उनले खेलको २९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याएपनि जित हात पार्न भने सकेनन् । सविन मेमोरियलका लागि सरोज गुरुङले खेलको ३५ औं मिनेटमा गोल गर्दै जित दिलाए ।
उता पोखराकै अर्को टोली पोखरा स्पोट्र्स भने तालिकाको शिर्षस्थानमा उक्लिनबाट रोकिएको छ । पहिलो खेलमा उत्कृष्ट खेलसंगै स्पष्ट ३ अंक जोडेको क्यासल दोस्रो खेलमा भने अंक बाड्न बाध्य भएको हो ।
खेलको छैटौं मिनेटमा क्यासलका किशोर गुरुङले आत्मघाती गोल गरे खेलको १३ औं मिनेटमा विशोन गुरुङले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ १÷१ गोलको बराबरीमा सकिएको खेलमा दुवै टिमले दोस्रो हाफमा समेत १÷१ गोल गर्दै अंक बाडेका हुन् ।
खेलको ३४ औं मिनेटमा विवेक पण्डितले गोल गर्दै पुनः अग्रता लिएपनि त्यो खुसी केही सेकेन्डमात्रै रह्यो । क्यासलका अञ्जन देवकोटाले गोल गर्दै बराबर गरे ।
यस्तै फुटसल ५ धरानले ढुकु फुटसल हवलाई ५–३ गोल अन्तरले पाखा लगाउँदै तालिकाको तेस्रो स्थानमा रहन सफल भएको छ । धरानको जितमा प्रवेश जोशीले २ तथा कप्तान सुदिप कार्की, सरोज तामाङ र रञ्जित गुरुङले एक एक गोल गरे । ढुकुका लागि अमित लामा, अभय राना र विक्रान्त नरसिंह रानाले गोल गरे ।





