पोखरा/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफूहरुसँग गरेको ३ बुँदे सहमति नगरे ‘घेरा तोड्ने’ चेतावनी दिएका छन् । जेलमा रहेका आफ्ना कार्यकर्ता छुटाउन सरकारले अर्को शर्त थोपर्न खोजे वा घुमाउरो घेरा हाल्न खोजे आफूहरुलाई त्यसलाई तोड्ने बताएका छन् ।
पोखरा बुधबारदेखि सुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफूहरु ३ बुँदेमा इमान्दार रहेको तर, सरकार आफूहरुलाई दबाबमा राख्न नाटक गरिरहेको टिप्पणी गरेका हुन् ।
‘सहमति गर्ने लागु नगर्ने के हो यो ? के तपाईंहरु हामीलाई अर्को कुनै दबाबमा राख्न चाहनुहुन्छ ? अप्ठेरोमा पार्नपर्छ भन्ने ठान्नुहुन्छ ? हामीले ३ बुँदे गरेका छौं । त्यसमा इमान्दार छौं । शान्तिपूर्ण मान्न तयार छौं,’ उनले भने, ‘तर, अर्को कुनै शर्त थोपरिन्छ भने, जेलका साथीहरुलाई छुटाउनका लागि कुनै घुमाउरो तरिकाले घेरा हाल्न खोजिन्छ भने घेरो तोडिदिन्छौं ।’
तत्कालीन समयमा केपी ओलीसँग आफूहरुले विश्वास गरेर सहमति गरेको पनि ६, ७ महिना बितिसकेको सुनाउँदै विप्लवले भने, हामीले त केपी ओलीसँग एउटा विश्वास गरेर सहमति गरेका हौं । शेरबहादुर देउवासँग भेटेर पनि भन्यौं । उहाँसँग राम्रो कुरा पनि भयो । उहाँले लागु हुन्छ, पालना हुन्छ पनि भन्नुभो । तर, उहाँहरुसँग भेटेको पनि २, ३ महिना बित्न थालिसक्यो ।’
महासचिव विप्लवले आफूहरुले सरकारसँग कुनै दयामाया नमागेको तर, सहमतिमात्रै लागु गर्न आग्रह गरिरहेको सुनाए । ‘साथीहरु बिरामी (जेलमा) हुनुहुन्छ । कुनै दयामायाको कुरा होइन, यो त सहमतिलाई लागु गर्ने कुरा हो । किन लागु गर्नुहुन्न तपाईंहरु ? लागु गर्नुस्,’ उनले भने । सरकारले सहमति लागु नगरे आफूहरुले जनताको साथ लिएर पनि लागु गर्ने चेतावनी दिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच फागुन २१ गते ३ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सरकारले तत्कालीन समयमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्नेलगायत ३ बुँदे सहमित गरेको थियो ।
‘एमसिसी राष्ट्रघाती सम्झौता’
महासचिव विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती सम्झौता भएको बताएका छन् । उनले नेपालको ‘राजनीतिक भाँडभैलो’ र ‘असफल’ राज्यमा अमेरिका फाइदा उठाएर हिँड्न चाहेको दाबी गरे ।
‘एममिसी राष्ट्रको विरुद्धमा छ, जनताको विरुद्धमा छ । यो गर्नुहुँदैन । … तलतल काम भइसकेको (एमसिसीको) सुनेका छौं,’ उनले भने, ‘जनताको अनुमतिबिना त्यो गर्नुहुँदैन, जनताको सहमतिबिना एमसिसीलाई जबर्जस्ती लागु गरियो भने त्यो सम्भव छैन ।’
विप्लवले जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको एमसिसीबारे तर्क सुनेर आफूहलाई अनौंठो लागेको सुनाए । ‘अमेरिका गएर फर्किएपछि बाबुरामजीको तर्क सुन्दा अनौंठो लागिरा’छ,’ उनले भने, ‘सिन्धुलीमा गएर यो किन विरोध गर्ने ? जे को पनि विरोध गर्ने भन्नुभएछ । बाबुरामजी त्यहाँ पुग्नुभाछ । हाम्रो एकदम सदासयता छ । तर, एमसिसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नुजस्तै हो ।’
उनले हालको संसदीय व्यवस्था फेल भइसकेको र दाबी गर्दै परिवर्तनका लागि जनमत संग्रह गर्न पटकपटक दोहो¥याए । बुधबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन ८ गतेसम्म चल्नेछ ।





