पोखारा – सबै पार्टीका शीर्ष नेताहरुको रोजाइमा पर्ने ठाउँ हो–पोखरा । औपचारिक र अनौपचारिक दुबै तवरले शीर्ष नेताहरु बारम्बार यहाँ आइरहन्छन् ।
यहाँ आउँदा आफ्नो पार्टीको अवस्था र आफू निकट नेता/कार्यकर्ताको साथ खोज्नु अनौठो हैन । नेपाली कांग्रेसको हकमा पनि यही लागू हुन्थ्यो । । सुविधाभोगी नहुँदासम्म यहाँ आउने नेताहरु कार्यकर्ताकै घरमा बस्थे र खान्थे । संगठनको काम गर्थे । तर, अहिले परिस्थिति बदलिएको छ । केन्द्रीय नेताहरु यहाँख आउँदा ठूला होटलमा बस्छन् । जिल्लास्तरीय नेता/ कार्यकर्ताहरु त्यही होटलमा पुग्छन् । छिमेकी तनहुँले मै हुँ भन्ने नेता जन्माउँदा पनि कास्कीमा भने चिनिने नेता नै छैनन् भन्ने अवस्था छ ।
कास्की कांग्रेसका एक नेता भन्छन्,‘अहिले यहाँ भएका नेताको राष्ट्रियस्तरका नेताहरुलाई प्रभाव पार्ने हैसियत नभएकाले पनि यस्तो भएको हो ।’
पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्न्त्री महादेव गुृरुङ, पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, पूर्वसांसद प्रकाशबहादुर गुरुङ, पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता खेमराज पौडेल, सोभियतबहादुर अधिकारी,वर्तमान सभापति कृष्ण केसी, देवराज चालिसे, विन्दुकुमार थापा, कुमार खड्का, दिवसमान प्रधानाङ्ग ,वीरेन्द्रनारायण विजुक्छे, मनोज गुरुङ ,सुदीपमोहन भट्टराई, विद्यार्थी नेता गुरु बराललगायतलाई कास्की कांग्रेसमा प्रभावशाली र सक्रिय नेता मानिन्छ । तर,यी सबै नेताहरु आफैमा सुरक्षित छैनन् । उनीहरु आफै महाधिवेशन प्रतिनिधि जित्छु वा आउँदो चुनावमा पक्का टिकट पाउँछु भन्ने अवस्थामा छैनन् । उनीहरुको राष्ट्रिय राजनीतिमा खासै पकड पनि छैन ।
‘आफै बलियो नभएकाले नेताहरुबीच नै अर्कालाई कित्ताकाट गर्ने अवस्था छैन’,कांग्रेस स्रोतले भन्यो, ‘यस्तो अवस्थामा यहाँ एजेण्डा र गुटले भन्दा व्यक्तिको सम्पर्कले नै काम गर्छ,पोखरा महानगरको कांग्रेसी चुनाव यही वरपर घुमिरहेको छ ।’
हो,केन्द्रीय नेताहरुले सोझै फलानो मेरो उम्मेदवार नभनेको अवस्थामै कास्कीसहित गण्डकीका विभिन्न जिल्लाहरुमा आज नेपाली कांग्रेसको नगर/गाउँ अधिवेशन हुँदैछ । भदौ २७ गतेबाट असोज ९ गते धकेलिएको अधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिको लागि ६ जना मैदानमा रहेका छन् ।सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला,युवा नेता मिलन तिवारी एवं युवा पत्रकार ज्योति हमालले उम्मेदारी घोषणा गरेका छन् ।
सभापतिमा ६ जन प्रत्यासी हुँदा २ जना उपसभापतिका लागि ६ जना र २ जना सचिवका लागि ३ जना र २ जना नै सहसचिवको लागि ६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए । सदस्यहरुमा सर्वसम्मत भएको र कतिपय ठाउँमा आवश्यकता अनुसार उम्मदेवारी नपरेको बताउँदै उनले यसअघि जहाँ निर्वाचन कार्यक्रम रोकिएको थियो,त्यहीँबाट प्रक्रिया सुरु गरिएको बताए ।
‘शनिबार बिहान ८ बजेदेखि ३ बजेजसम्म मतदान कार्यक्रम तय भएको छ,हामी लगत्तै मतगणना गर्छौँ’,उनले भने,‘ करिब १३ सय ख४० जना मतदाताहरु मतदानमा सरिक हुनुहुन्छ ।’ चुनावको लागि सबै तयारी सकिएको पनि उनले बताए ।
नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा,प्रयागराज भण्डारी,भवसागर बराल ,शिव केसी र राजेन्द्र बरालले दावी पेश गरेका छन् ।सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले मनोनयन पेश गरेका छन् । सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,संजय आले र संघर्ष कोइरालाले मनोनयन पत्र बुझाएका छन् । काग्रेसमा कोषाध्यक्ष मनोनित हुने व्यवस्था छ ।
कास्कीका अन्नपूर्ण,माछापुच्छे«,मादी र रुपामा पनि शनिबार नै चुनावी कार्यक्रम तय भएको छ । अन्नपूर्ण गाउँपालिकाको सभापतिमा मनपति भण्डारी, उपसभापतिमा शुशील भट्टचन र गौमाया नेपाली, सचिवमा कृष्णप्रसाद सुवेदी र विजय गुरूङ तथा सहसचिव धुर्व घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित भएका छन् ।बाँकीगाउँपालिकाहरुमा शनिबार नै मनोनयनपत्र बुझाउने कार्यक्रम तय भएको कास्की कांग्रेसले जनाएको छ । यता,चुनावी मैदामा उत्रिएका सभापतिका सबै उम्मेदवारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको दावी गरिरहँदा यहाँका शीर्ष नेताहरु भने आफू अनुकूलका उम्मेदवारलाई जिताउन सक्रिय भएका छन् ।यद्यपि,महाधिवेशन प्रतिनिधि चयन हुने दौडमा रहेकाले उनीहरु खुलेर मैदानमै भने उत्रिएका छैनन् ।
‘भित्रभित्र सबैले आफू अनुकूलका उम्मेदवारको पक्षमा लविङ गरिरहेका छन् तर आफै पनि उम्मेदवार बन्नुपर्ने भएकाले उनीहरु मैदानमै नआएका हुन्’,नेपाली कांग्रेसका एक क्षेत्रीय प्रतिनिधिले भने,‘शुक्रबार रातभर र शनिबार बिहानसम्ममा उनीहरुले आफू अनुकूलको गुट बनाउँछन् ।’
केन्द्रीय राजनीतिको प्रभाव भने कास्कीमा कम पर्ने उनले आंकलन गरे । उनका अनुसार एक त यो कांग्रेस सभापति शेरबहादुर देउवाको कम प्रभाव भएको जिल्ला हो भने अर्कोतर्फ एउटै समूहबाट पनि धेरै उम्मेदवार भएकाले पनि गुटको प्रभाव कम देखिएको हो । उनका अनुसार कास्की सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नै मानिने सुरेन्द्रमान विजुक्छे,रामराज रेग्मी,मोहन बास्तोला चुनावी मैदानमा छन् । देउवा समूहबाट गंगाधर पराजुली तथा मिलन तिवारीले उम्मेदवारी दिएका छन् । ज्योति हमाल भने कुनै पक्षमा पनि खुलेर देखिएकी छैनन् । उनी युृवा जोशका साथ मैदानमा छिन् ।
‘नगरको चुनावसम्म यहाँ नातापाता र व्यक्तिगत सम्बन्धले विशेष प्रभाव पार्ने देखिन्छ,कसले बाजी मार्छ भन्न सकिँदैन’,उनले भने,‘ पछिल्लो समय क्षेत्रीय प्रतिनिधि बनेका युवाहरुले यसैलाई मतदान गर्छन. भन्ने अवस्था पनि छैन ।’
उनले त्यसो भनिरहे पनि कास्की कांग्रेसका सभापति कृष्ण केसी र नेता शुक्रराज शर्मा नगर निर्वाचनसम्म एउटै कित्तामा उभिने सम्भावना व्यक्त गरे । सभापतिमा उम्मेदवारी दिएका सबै उम्मेदवारहरुले ‘बलियो कांग्रेस’ नै आफ्नो चुनावी एजेण्डा भएको बताएका छन् ।
के भन्छन् उम्मेदवार
१.गंगाधर पराजुली
नगर सभापतिका प्रत्यासी गंगाधर पराजुलीले नेपाली कांग्रेसलाई एकतावद्ध बनाउन,महानगर समितिलाई देखिने,सुनिने र आर्थिक अनियमितताविरुद्ध सशक्त आवाज उठाउने बनाउने चुनावी एजेण्डा अगाडि सारेका छन् । तल्लो तहका कार्यकर्तालाई प्रशिक्षित गर्दै वैचारिक जागरण चलाउने, भातृ संगठन चलायमान बनाउने,विभिन्न विभाग र समिति गठन गर्दै विधान अनुसार तोकिएको समयमा नै अन भेला र सम्मेलन गर्ने प्रतिवद्धता पनि उनको रहेको छ ।
२.सुरेन्द्रमान विजुक्छे
हालको नगर उपसभापति भएकाले आफूलाई सभापतिको स्वभाविक दावेदार मान्ने सुरेन्द्रमान विजुक्छेले नगर समितिको भवन निर्माणलाई चुनावी एजेण्डा बनाएका छन् । यसका अलावा उनले वडा समितिलाई सक्रिय बनाउने, भातृ संस्थाहरुलाई वडा तहसम्म पु¥याउने,कार्यकर्ताहरुलाई प्रशिक्षणको व्यवस्था गर्ने,आउँदो चुनावमा कांग्रेसका उम्देवारलाई जिताउने प्रतिवद्दता पनि व्यक्त गरेका छन् । आफू सभापति भएपछि कुनै पनि लाभको पदमा नउठ्ने उनको घोषणा छ ।
३. रामराज लामिछाने
पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पनि कांग्रेस बलियो बनाउने नै आफ्नो एजेण्डा भएको बताएका छन् । लामो राजनीति पृष्ठभूमि र कास्की कांग्रेसको सचिवको कार्यभार सम्हालेको आधारमा आफूसँग मात्रै संगठन बलियो बनाउने सूत्र भएको उनले बताए । उनले संगठनलाई तल्लो तहसम्म पु¥याउने तथा स्थानीय तहसँग पार्टीको समन्वयकारी भूमिका निर्वाह गर्ने पार्टी बनाउने पनि उनको भनाइ छ ।
४.मोहन बास्तोला
पोखरा–११ का वडाध्यक्ष मोहन बास्तोलाले गएको निर्वाचनमा कांग्रेसले भोगेका पराजय बिर्साउन सशक्त कांग्रेस बनाउन नै आफूले उम्मेदवारी दिएको बताए । पार्टीलाई गुट–उपगुटविहीन बनाउने,कार्यकर्तालाई संरक्षण गर्दै जागरुक बनाउने,पार्टीलाई विधि र पद्दति अनुरुप चलाउने बताए । अहिले कांग्रेसको राजनीतिमा आएका युवाहरुको भविष्य सुनिश्चित गराउने,उद्यम र विकासको माध्यमबाट दीगो लक्ष्य प्राप्ति पनि उनको चुनावी एजेण्डा रहेको छ ।
५. मिलनप्रसाद तिवारी
युवा सोचलाई समाज रुपान्तरणमा उपयोग गर्दै कांग्रेसलाई सबैको प्यारो पार्टी बनाउने सोच लिएका मिलनप्रसाद तिवारीले आफू सभापति हुनासाथ आउँदो चुनावमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउने अभियान थाल्ने बताए । पार्टीभित्र प्रशिक्षण,जागरण,कार्यकर्तालाई उद्यमशील र सिर्जनशील बनाउने पनि आफ्नो चुनावी एजेण्डा भएको उनले सुनाए । गुट–उपगुटको अन्त्य,युवाहरुको सक्रियता,अग्रजको सम्मान एवं सहभागितामूलक नगर समितिको कल्पना पनि उनले गरेका छन् ।
६.ज्योति हमाल
पार्टी समावेशी नभएको र नेपाली कांग्रेसले महिलाहरुलाई उचित स्थान नदिएकोले नगर सभापतिमा उम्मेदवारी दिएको बताउने ज्योतिले समावेशीतालाई नै पहिलो एजेण्डा बनाएकी छन् । सदृढ पार्टी,जुझारु कार्यकर्ताले मात्रै संगठन बलियो हुने भएकाले आफूले संगठन बलियो बनाउनेतर्फ नै ध्यान दिने उनले बताइन् । आउँदो चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने,कार्यकर्तालाई सिर्जनशील काममा लाग्न प्रेरित गर्ने पनि उनका चुनावी एजेण्डा हुन् ।





