पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाका नवनिर्वाचित सभापति सुरेन्द्रमान विजुक्छेले ‘बलियो कांग्रेस निर्माण अभियान’ तत्काल सुरु गरिने बताएका छन् । उनले चुनावी परिणामसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् ।
विजुक्छे शनिबार भएको निर्वाचनमा ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरे । उनलाई पत्रकारसमेत रहेका गंगाधर पराजुलीले ३४६मतले पछ्याएका थिए । पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको थियो ।
‘लोकतान्त्रिक पार्टीमा नेतृत्वमा पुगेर काम गर्छु भन्ने चाहना स्वभाविक हो’,उनले भने,‘ साथीहरुले मलाई विश्वास गर्नुभएको छ, अब उहाँहरुको भावना अनुसार नै अगाडि बढ्छु,प्रतिस्पर्धामा रहनु भएका साथीहरुलाई पनि समेट्छु ।’
उनले विजयी भएसँगै पोखराका ३३ वटै इकाइमा पुगेर मतदाता र शुभेच्छुकलाई धन्यवाद दिने तथा सुझाव संकलन गर्ने अभियान तत्काल थाल्ने पनि बताए ।
‘भ्याएसम्म सबै इकाइमा पुगेर नेपाली कांग्रेसका सदस्यज्यूहरुको सद्भावप्रति कृतज्ञता जाहेर गर्नेछु,नजिकिँदै गरेको चाडबाडको शुभकामना दिने–लिने कामसँगै सुझाव पनि लिनेछु’,उनले भने,‘हिजो घोषणा गरेका कामहरुलाई पूरा गर्ने तथा आउँदो चुनावलाई ध्यानमा राखेर नै योजना बन्छन् ।’
उनले पोखरा नगर समितिको भवन बनाउने, नगर समितिलाई प्रविधि मैत्री बनाउने, कार्यकर्ताहरुलाई प्रशिक्षण दिने, सबै भातृ संगठनहरुलाई गतिशील बनाउने,वडा इकाइहरुलाई सक्रिय पार्ने घोषणालाई छिटो कार्यान्वयनमा ल्याउने पनि बताए ।
‘हाम्रो क्षेत्र, जिल्ला र केन्द्रको महाधिवेशन पनि हुँदैछ तर नगर कमिटी अब आफ्नो काममै लाग्छ’,उनले भने,‘कार्यसमितिलाई पूर्णता दिने र यसलाई चुस्त–दुरुस्त बनाउनेतर्फ पनि म ध्यान दिनेछु ।’ आउँदो चुनावमा कांग्रेसका उम्मेदवारलाई जिताउनको लागि कांग्रेस जुझारु र एक हुनुपर्नेमा जोड दिँदै उनले भने,‘म सिपाही भएर त्यो अभियानमा लाग्नेछु ।’
महानगर सभापतिमा रामराज लामिछानेले,मिलन तिवारीले ,ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिको प्रत्यासी थिए । यता,उपसभापतिमा प्रयागराज भन्डारी भवसागर बराल विजयी भए । उनीहरुले क्रमशः ५६९ र ४६४मत ल्याए ।सचिवमा टुवराज बास्तोलाले ८५८ र गणेश्बहादुर थापाले ७८९ मतसहित विजयको माला पहिरिए ।सहसचिवमा संघर्ष कोइराला र संजय आले विजयी भए ।उनीहरुले क्रमशः४६५र ४५८ मत पाए । नगर उपसभापतिको लागि कृष्णप्रसाद अधिकारी, निर्दोशविक्रम राणा,प्रयागराज भण्डारी,भवसागर बराल ,शिव केसी र राजेन्द्र बराल मैदानमा थिए। सचिवको लागि गणेशबहादुर थापा, टुबराज बास्तोला र सुरेन्द्रबाबु तिवारीले तथा सहसचिवको लागि नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल,रविन कायस्थ,लक्ष्मी बास्तोला,संजय आले र संघर्ष कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।





