पोखरा/ गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापाले यस प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिम्मुर खेतीको बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनले व्यावसायिक टिम्मुर खेतीले किसानलाई आत्मनिर्भर र वैदेशिक मुद्रा आर्जन गर्नसक्ने बनाउने उनको भनाइ छ ।
स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यावसायिक टिम्मुर खेतीको अवलोकनपछि आयोजित कार्यक्रममा बोल्दै उनले बजारको माग अनुसारको सानो उत्पादनले पनि आत्मनिर्भर हुन सकिने बताए ।
११ सय देखि २५ सय मिटरसम्म उचाइ भएको सबै भूगोलमा टिम्मुर खेती गर्न सकिन्छ ।डिभिजनल बन कार्यालय स्याङजाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर निजी जग्गामा करिब १५ हजार १५ हजार टिम्मुरका विरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत बसन्त केशब अधिकारीका अनुसार उक्त जग्गामा लगाइएकामध्ये ९५ प्रतिशत विरुवा राम्रो देखिएका छन् ।
विज्ञहरुका अनुसार एक हेक्टर जमीनमा करिब २ देखि ४ हजार केजी टिम्मुर फल्दछ । नेपालमा यसको बजार मूल्य २ देखि ३ सय रुपैंया प्रतिकेजी रहेको छ ।
अन्तरक्रियाका क्रममा डिभिजनल वन कार्यालयका स्याङजाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।





