तनहुँ/ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ऋषिङ गाउँपालिकामा भएको गाउँ अधिवेशनमार्फत गाउँ कमिटिको सभापतिमा तिलबहादुर थापा निर्वाचित भएको थियो । शनिबार स्थगित भएको मतदान सोमबार भएको हो ।
सभापतिका उम्मेद्वार दाबहादुर श्रेष्ठ र भोजराज रानाभाटलाई पराजित गर्दै थापाले सभापतिमा बाजी मारेका हुन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा ९५ मत प्राप्त गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । त्रिपक्षीय भिडन्तमासभापतिका प्रत्यासी रानाभाटले ३८ र श्रेष्ठले १२ मत प्राप्त गरेका छन् । सभापतिमा पराजित रानाभाट वडाध्यक्ष हुन् भने श्रेष्ठ गाउँपालिकाका कर्मचारी हुन् ।
निर्वाचित थापा संस्थापन पक्ष शंकर भण्डारी निकट मानिन्छन् । उसो त पराजित भएको दानबहादुर पनि सोही पक्षको निकट हुन् । रानाभाट रामचन्द्र पौडेल पक्षसँग निकट रहेको पाईन्छ ।
सचिवमा विजय दरै र सुरज कुमार श्रेष्ठ विजयी भएका छन् । दरैले १११ र श्रेष्ठले ७९ मत प्राप्त गरेका छन् । सचिवका प्रत्यासी शुभसन प्रयास रानाले ५२ र लालबहादुर आलेले २५ मत प्राप्त गरेका छन् । अन्य पदहरुमा भने यसअघि नै सर्वसम्मत भइसकेको छ ।
ऋषिङमा शनिबार मतदान सुरु भईसकेपछि अधिवेशन स्थगित भएको थियो । ऋषिङको ढुंगागाडे सामुदायिक भवनमा अधिवेशन भएको थियो । सर्वसम्मत नभएपछि मतदान प्रकृयामा गएको र १२ मत खसेपछि निर्वाचन स्थगित गर्नुपरेको थियो । तरुण युवाले सहमतीबाटै नेतृत्व चयन गर्न दवाब दिएपछि मतदान सुरु भएर पनि स्थगीत गर्नुपरेको पार्टीले जनाएको छ ।
ऋषिङमा अधिवेशन सम्पन्न भएसँगै तनहुँका नौ स्थानीय तहमा कांग्रेसले नयाँ नेतृत्व पाएको छ । व्यास नगरपालिकामा सूर्यचन्द्र हड्खले, भानुमा रामकुमार श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा कर्ण खत्री, आँबुखैरेनीमा विष्णु पन्त र म्याग्देमा रामभक्त घिमिरे मतदान मार्फत निर्वाचित भएर सभापति बनेका छन् । शुक्लागण्डकी नगरपालिकामा गोपिबहादुर गुरुङ, देवघाट गाउँपालिकामा तिलबहादुर थापा, र घिरिङ गाउँपालिकामा याम थापा सभापतिमा सर्वसम्मत भएका हुन् । आठ स्थानीय तहमा शनिबार नै अधिवेशन सम्पन्न भएको थियो ।





