बागलुङ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद बिस्तारको काम अझै केही दिन लम्बिने संकेत गरेका छन् । सरकार गठन भएको लामो समय बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता नपाएको जनगुनासो आईरहेको भन्दै उनले गठबन्धनमा रहेका दलहरुबीच संवाद भैरहेको भन्दै केही समय पर्खिनुपर्ने अवस्था आएको बताए ।
‘माधव जीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,’ दाहालले भने, ‘‘डाक्टरले केही दिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद विस्तार केही दिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।’
नेपाल सरकारका पुर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताए । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङले आयोजना गरेको भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले देशभर राजनीतिक संकट रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे ।
प्रतिक्रियावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिल गर्दै उनले आफुले देशमा ठुलो कम्युनिष्ट शक्ति निर्माण गरि देशलाई समृद्वितर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरेको तर त्यो नटिकेको बताए । अब फेरी जनताको घरदैलोमा माओवादी केन्द्र आफना एजेण्डा र उपलब्धीसहित जानुपर्ने उनको तर्क थियो ।





