आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

म्याग्दीमा ११ औं तोरन्ल गोल्डकप सुरु

म्याग्दीमा ११ औं तोरन्ल गोल्डकप सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

बेनी /म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तरक्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ ।

थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १८ समूह सहभागी छन् ।
कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले तारो हान्ने खेलको संरक्षण, खेल पर्यटन प्रवर्धन र विकासमा सबैले चासो दिनुपर्नेमा जोड दिए।उनले थकाली समुदायको कला, भाषा र संस्कृति जगेर्ना र संरक्षणमा लाग्न आग्रह गरे ।

आफ्नो समुदायमा भाषा, कला, संस्कृति र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘थकाली समुदायको बसोवास भएको क्षेत्रमा समाजघर लगायत भौतिक संरचना बनाएर अन्य सामाजिक काममा पनि सहयोग पुगेको छ । यद्यपि हाम्रो भाषा, फागुमा तारा खेल्दा सँगै गाइने गीत र मृत्युमा गरिने झाँक्री संस्कार हराएको छ ।’

वि.सं.२०४७ देखि सुरु भएको तोरन्ल गोल्डकप प्रत्येक तीन–तीन वर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समितिका सोमप्रसाद तुलाचनले बताए । २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको हो ।

यसअघि चन्दा र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपालि भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

कोषमा निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनकी श्रीमती आशाले पतिका नाममा दश लाख रुपैयाँ सहयोग गरेकी छन् । प्रतियोगिताको विजेता समूहले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र एक लाख रुपैयाँ पाउनेछन् ।

दोस्रो, तेस्रो, चौथो र सान्त्वना हुनेले क्रमशः ५० हजार, २५ हजार, १० हजार र ५ हजार रुपैयाँ पाउने थकाली सेवा समितिका महासचिव रबिन शेरचनले जानकारी दिए । प्रतियोगिता उद्घाटनअघि झाँकी र बाजागाजासहित नगर परिक्रमा गरिएको थियो। कार्यक्रममा बेनी नगरपालिकाका नगरप्रमुख हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->