बागलुङ/ नेकपा (एकीकृत समाजवादी) पार्टी बागलुङले सचिवालय गठन तथा जिम्मेवारी बाँडफाँड गरेको छ । शनिबार बसेको जिल्ला कमिटी बागलुङको प्रथम बैठकले अध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा १५ सदस्य सचिवालय गठन गरेको हो । पदाधिकारीसहित केही जिल्ला कमिटि सदस्य सम्मेलित सचिवालय गठन भएको अध्यक्ष थापाले बताए ।
सचिवालयको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी, उपसचिवमा चक्र थापा रहेका छन् । सदस्यहरुमा हरि बहादुर घर्ती, श्याम पुन, इन्द्र थापा, पिंगलराज गौतम, जीवन आचार्य, याम बहादुर श्रीस, सीता छन्त्याल थापा, शालिकराम शर्मा, वेदप्रसाद शर्मा, प्रदीप आचार्य र सुरज बोसेल छन् ।
आइतबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सानो भएपनि मजबुत र विचारले खारिएको पार्टी निर्माणमा लागेको बताए । हरेक हप्ता पार्टी स्कुल सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
एक जिल्ला सदस्य बराबर २० जना पार्टीका क्रियाशिल सदस्य बनाउने अभियान सञ्चालन गर्ने थापाले बताए । फुट्नुअघि एमालेमा क्रियाशील रहेका सदस्यहरुलाई स्वतः सोही मितिबाट पार्टीको सदस्य कायम हुनेगरी नविकरण गर्ने नीति बैठकले बनाएको छ ।
बैठकले सबै जनसंगठन र पेशागत संगठनहरुको ३ महिनाभित्र जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको छ । अध्यक्ष लालबहादुर थापालाई संगठन विभाग, सचिव भरत पुरी स्कुल विभाग प्रमुख, श्याम पुन जनजाति प्रमुख, इन्द्र थापा भौतिक योजना तथा यातायात इन्चार्ज, पिंगलराज गौतम पेशागत इन्चार्ज, जीवन आचार्य बुद्धिजिवी इन्चार्ज, सिता छन्त्याल थापा महिला इन्चार्ज, शालिकराम शर्मा प्रचार विभाग प्रमुख रहेका छन् ।
त्यस्तै प्रदीप आचार्य युवा संघ, सुरज बोसेल खेलकुद महासंघ, आशिष थापा काठेखोला गाउँपालिका, चक्र बहादुर गुरुङ मजदुर, डोलेन्द्रराज शर्मा क्याम्पस शाखा, नरबहादुर विक सांस्कृतिक, कृषि, नारायण पौडेल विद्यार्थी, प्रदिप जिसी स्वास्थ्य, भूमिराज शर्मा ज्येष्ठ कम्युनिष्ट, रमजान खाँ मुस्लिम इन्चार्ज, सुनिता पुरी सहकारी विभाग प्रमुख, सुरेन्द्र खड्का उद्योग बाणिज्य प्रमुख र हरि प्रसाद सापकोट उद्योग इन्चार्ज तोकिएका छन् ।





