बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गाउँ पुगेर जेष्ठ नागरिकलाई योगाभ्यास

गाउँ पुगेर जेष्ठ नागरिकलाई योगाभ्यास


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका ४, कुँडुलेका ८९ वर्षीय बालाकृष्ण सापकोटाले पहिलो पटक योगको अभ्यास गरे । बुढ्यौली छिपिँदै जाँदा उनलाई लागेको थियो, ‘घरमै बसेर शरीर चलाउने कुनै उपाय भए सिक्नु हुन्थ्यो ।’
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर धौलागिरि आयुर्वेद औषधालयले उनको इच्छा पूरा गरिदियो । कुँडुलेमा रहेको मुक्तिनाथ वेद विद्याश्रम, तिरुपति बालाजीधाममा आयोजना गरिएको ‘जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम’ले उनी र उनी जस्तै जेष्ठ नागरिकहरुले योगाभ्यास गरेका छन् । पहिले २ दिनका लागि आयोजना गरिएको कार्यक्रम पछि जेष्ठ नागरिकहरुकै आग्रहमा एक दिन थप समेत गरिएको थियो । ‘अहिले योग आफैं सिकेका छौं, अब दिनदिनै घरमै प्रयास गर्ने हो,’ सापकोटाले खुसी हुँदै भने, ‘आयुर्वेद औषधालयलाई धन्यवाद छ ।’

योगलाई आफ्नो सहारा बनाउन सकिने विश्वास समेत सापकोटाले व्यक्त गरे । उनीजस्तै आरोग्य कार्यक्रममा सहभागि जेष्ठ नागरिक खुसी देखिन्थे । औषधालय प्रमुख डाक्टर सरोज कुमार राय आँफैले तीन दिन समय दिएर जेष्ठ नागरिकलाई योग अभ्यास गराएको बताए । ‘उहाँहरु प्रति समाजको दायित्व र हाम्रो कर्तव्य पनि हो’ रायले भने ‘बुढ्यौलीका कयौं समस्या योगले समाधान गर्छ ।’ कार्यक्रममा ७९ जेष्ठ नागरिकहरु सहभागी भए ।

औषधालयका प्रमुख राय र स्वामी प्रपन्नाचार्यले स्वस्थ जीवनशैली र योग प्रशिक्षण गरेका थिए । सहभागि सबै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा रसायन औषधीसमेत निशुल्क उपलब्ध गराइएको थियो । ‘हामीलाई थाहै थिएन रसायन औषधि निशुल्क पाइन्छ भनेर, निकै खुसी लागेको छ,’ सापकोटाले भने ।

जेष्ठ नागरिकलाई डाक्टर राय र वैद्य निरीक्षक एकराज ढुंगानाले जाँच गरेर औषधि वितरण गरेका थिए । औषधालयका व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमीरेले जेष्ठ नागरिकहरुलाई औषधालयले निशुल्क औषधि तथा उपचारको व्यवस्था गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->