शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

काभ्रेभीर : बेनी–जोमसोम सडकको लागि अभिशाप !

काभ्रेभीर : बेनी–जोमसोम सडकको लागि अभिशाप !

ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।


  • धु्रबसागर शर्मा
  • असोज २३ २०७८, शनिबार

म्याग्दी /बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डकोकाभ्रेभीर यस क्षेत्रका लागि अभिशाप बनेको छ ।साँघुरो सडकको माथि र तल दुबैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र हिलो भएर सवारी साधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

आइतबार रातिको सामान्य वर्षाले उक्त सडक खण्डको काभ्रे भीरमा सडकको दायाँतर्फ (तल्लोपट्टि) पहिरो गएपछि अवरुद्ध बनेको सो सडक ३ दिनपछि बुधबारएकतर्फी रुपमा सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सो ७६ किलोमिटर सडकखण्डको काभ्रेमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँँबाट फर्कने यात्रुहरु अलपत्र परेका थिए ।

आइतबार रातिको वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको व्यवसायी कृष्ण शर्मा सापकोटाले बताए ।
हिउँदयाममा स्तरोन्नति गरिएको सडक बर्खायाममा ध्वस्त हुने गर्दा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ । सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभीरलगायतका सडकमा वर्षाले दुख दिने गरेको छ ।

बर्खायामको लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी ईन्द्रमान शेरचनले बताए । गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ ।सडकको अवस्था दयनीय बनेको छ ।

यहाँ सामान्य वर्षा हुदाँसाथ ढुंगा,माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानी श्याम खत्र्रीले बताए ।
सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका३, रुप्से छहरा, काभ्रेभीर,बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका ६ का कृष्ण बरुवालले बताए ।

वर्षाका कारण ढुंगा र माटो सहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरी निरीक्षक गुरुङले बताए ।
बेनी–जोमसोम–कोरला सडक खण्डकोे विभिन्न ४ ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रेको काम भइरहे पनि काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेको स्थानीय खड्क खत्रीले बताए ।

बेनी–जोमसोम खण्डमा ४–५ ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेनी–जोमसोम (७६ किमी) र जोमसोम–कोरला (११०किमि)लाई २ खण्डमा बाँडेर स्तरोन्नतिगर्दैछ । त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्रे हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

तातोपानीको पोखरी, नागढुंगा, दानाको गुईठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ।लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालिगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् ।

बेनी–जोमसोम–कोरला सडक खण्डमा करिव ५ अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भैरहेको छ । २ अर्ब ४० करोड रुपैयाँ लागतको तल्लो खण्डमा विस्तार र कालोपत्रे गर्ने र २ अर्ब ६० करोड रुपैयाँको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->