पोखरा/ प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पोखरा आउँदैछन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न प्रधानमन्त्री देउवा पोखरा आउन लागेको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार देउवाले पोखरा सभागृहमा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने तय गरिएको छ । प्रधानमन्त्री देउवाले पोखराको नयाँ बजारस्थित साक्षर गण्डकी स्तम्भको समेत अनावरण गर्नेछन् ।
साक्षर गण्डकी घोषणा कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत सहभागी हुने निश्चित भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई समेत निम्तो पठाएको तर, आउने नआउने अहलिेसम्म यकिन नभएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले बताए ।
पोखरा सभागृहमा साक्षर प्रदेश घोषणा सभामामा सहभागी भएर दिउँसो ३ बजे कास्की कांग्रेसले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन् । कांग्रेस सभापतिसमेत रहेका देउवा आइतबार साँझ नै कार्यकर्ता भेलामा सरिक हुनेछन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक पोखरा आउन लागेका देउवा आइतबार पोखरामै बास बस्नेछन् । सोमबार विहान निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता खड्काले बताए । विमानस्थलको अनुगमन पश्चात देउवा काठमाडौं फर्कनेछन् ।





