आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

केसी र देउवाबीच सवालजवाफ !

केसी र देउवाबीच सवालजवाफ !

‘अरुलाई भन्न सजिलो छ, आफैंलाई हेर्नुस्’


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७८, सोमबार

पोखरा/ प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई मन्त्रिपरिषद्मा ‘भाग’ दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला आलोचनाको केन्द्रमा छन् । राजधानीमा आलोचनाको ग्राफ चरमचुलीमा रहँदा देउवा बास बस्ने गरी आइतबार पोखरा ओर्लेका छन् । पोखरामा पनि उनलाई आलोचनाले छाडेन, त्यही पनि एउटै मञ्चबाट आफ्नै पार्टीका जिल्ला सभापतिबाट ।

‘साक्षर गण्डकी’ घोषणा गरेर प्रधानमन्त्री देउवा नेपाली कांग्रेस पोखरा महानगर १७ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी भए । कार्यक्रममा प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यले पार्टीको वडा कार्यालय बनाउन दिएको ५० लाख ५५ हजार ५५५ रुपैयाँको चेक प्रधानमन्त्री देउवाले बुझे । आचार्यका परिवारलाई सम्मान व्यक्त गरे ।

सोही कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसीले संघ र प्रदेश सरकार सोचबुझका साथ चल्नुपर्ने सुझाव दिए । प्रधानमन्त्री देउवालाई इतिहासले मुल्यांकन गर्दा देश र जनताको पक्षमा काम गर्ने अवसर आएका भन्दै उनले गल्ती गर्न छुट नभएको बताए ।

‘केन्द्रीय सरकार र प्रदेश सरकारलाई गल्ती गर्ने छुट छैन, चाहे मन्त्रिपरिषद् गठनमा होस् चाहे सरकार सञ्चालन गर्ने कुरामा होस्,’ कास्की कांग्रेस सभापति केसीले भने, ‘लोकतन्त्र र राष्ट्रियताको पक्षमा निर्णय लिन जानेर वा नजानेर गल्ती गर्ने छुट छैन ।’

सभापति केसीले संघीय मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशको कोटाबाट गैरसांसदलाई मन्त्री बनाएको विषयप्रति इंगित गरेका थिए । सरकारले गरेका यस्ता गल्तीले आगामी निर्वाचनमा पार्टीलाई धक्का पुग्न सक्ने उनको भनाइ छ । ‘हामीले आशा नगरेको १७ महिना सरकार चलाउन पाइरहँदा ६, ७ महिनापछाडि आउने स्थानीय, प्रदेश र संघको निर्वाचनमा सरकारको मूल्यांकन गर्दा यो सरकारको कारणले त्यो निर्वाचन हारियो भने हामीलाई त्योभन्दा ठूलो पीडा केही हुने छैन,’ उनले भने ।

सभापति केसीले ढोरपाटनसँग करा गर्दै प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्मा दिएको भागका विषयमा आफूले नबोले पनि कुरा उठिराखेको बताए । यस्ता कुराले पार्टीलाई लामो समयसम्म असर पार्ने भन्दै उनले सरकारले राम्रो काम गरोस् भन्ने आफ्नो चाहना भएको बताए ।

‘गलत कुरा मेरो पार्टीका सभापतिले गरेको भनेर सही कुरा हुँदैन,’ केसीले भने, ‘पार्टी सभापति र प्रधानमन्त्रीलाई साथ दिने, सहयोग गर्न त हामी लागिराख्छौं नि, तर हामीमाथि प्रश्न नगरुन्, सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो ।’

सभापति केसी कांग्रेसभित्रको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका हुन् । केसीपछि बोलेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सभापति केसीको कास्की सभापतिले इंगित गरे अनुसार जिम्मेवारपूर्वक भूमिका निभाउनुपर्ने बताए । तर, उनले सभापति एवं प्रधानमन्त्री देउवाको आलोचना गरेनन् । परिस्थितिको सामना कांग्रेसले मात्र गर्न सक्ने बताए । उसो त मुख्यमन्त्री पोखरेल पनि पौडेल गुटकै हुन् ।

वडा समितिको कार्यक्रममा पुगेका प्रधानमन्त्री देउवाले जिल्ला सभापति केसीलाई जवाफ फर्काए । जम्माजम्मी ६ मिनेट बोलेका देउवाले जवाफमा जिल्ला सभापति केसीलाई आफ्नो अनुहार हेर्न भने ।

‘कास्कीका सभापतिले पार्टी सम्बन्धी केही कुरा उठाउनुभएको हुनाले केही कुरा राख्छु,’ केसीको जवाफ दिँदै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने, ‘उहाँले पार्टीमा कति योगदान दिनुभयो उहाँलाई थाहा छ, के गर्न सक्नुभयो, के गर्न सक्नुभएन भनेर ! अरुलाई भन्न सजिलो हुन्छ, आफैंलाई हेर्नुस् ।’

जिल्ला सभापति केसीलाई ठाडै जवाफ फर्काएका देउवाले पार्टीको महाधिवेशनमा सौहार्दपूर्ण तरिकाले स्वस्थ प्रतिश्पर्धा गर्न र एकजुट हुन आह्वान गरे । कांग्रेस एकजुट भए संसारका कुनै पनि पार्टीले हराउन नसक्ने उनले दाबी गरे । उनले भने, ‘एउटा कुरा, हाम्रो पार्टीमा एकता भएको खण्डमा संसारका कुनै पनि पार्टीले हराउन सक्दैन, हाम्रो पार्टीलाई कसैले हराउछ भने हामी आफैंले हराउँछौं, यो सत्य कुरा हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->