पोखरा/ पोखरा महागनरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान तथा ३० वटा चोकमा हाइमास्ट लाइट जडान हुने भएको छ ।
महानगर र नेपाल विद्युत प्राधिकरणबीच २०७७ सालमा भएको भएको सहमति कार्यान्वयन सुरु भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार बत्तीको लागि १२ करोड ७५ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो परियोजनामा महागनर र विद्युत प्राधिकरणको बराबरी हिस्सेदारी रहनेछ । लागत साझेदारी अनुसार पोखरा महानगरपालिकाले साझेदारी गर्ने रकममध्ये १ करोड ५० लाख रुपैंयाँ प्राधिकरणको खातामा जम्मा गरिसकेको तथा दशैं लगत्तै निर्माण सुरु हुने उनले बताए ।
यता, पोखरा नगर क्षेत्रभित्रको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार पारिने भएको छ । प्रवक्ता नेपालीका अनुसार गुरुयोजना तयार पार्न पोखरा महानगरपालिका, खानेपानी मन्त्रालय, खानेपानी विभाग र जापान अन्तर्राष्ट्रिय समन्वय संस्था (जाइका) बीच सहमति भएको छ ।२०७८ वैशाख ८ गते भएको सहमति अनुसार २ वर्षमा सो आयोजनाले पोखराको सम्पूर्ण ढल व्यवस्थापनको गुरु योजना तयार पार्नेछ । उक्त कार्यको लागि जापानले निजी कम्पनी छनौट गरी सकेको र आउँदो कार्तिकबाटै काम थालिने पनि प्रवक्ता नेपालीले बताए ।





