काठमाडौं – सरकारले असोज मसान्तसम्म लक्ष्यभन्दा बढि जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य राखेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये कम्तीमा ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकोमा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा गत असार २९ गते नियुक्त भएलगत्तै कोरोना महामारीबाट नेपाली नागरिकलाई बचाउने कार्यलाई पहिलो प्राथमिकता दिइने र यसका लागि खोपको व्यवस्था गरी असोज मसान्तसम्म कम्तीमा एक तिहाइ लक्षित वर्गलाई खोप लगाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
सोही प्रतिबद्धताबमोजिम स्वास्थ्य मन्त्रालयको समन्वयमा सरकारले खोपको व्यवस्था गरेको हो । मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिए ।
मन्त्रालयको तथ्याङ्कमा लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो ।
मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।
महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ ।
अब दुई करोड ४१ लाख ५८ हजार ७८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने छ । बालबालिकालाई लगाउने फाइजर एक लाख ६२० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी छ ।
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ । यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउने तयारी सरकारले गरेको छ ।




