काठमाण्डौं, ३ कार्तिक– काठमाण्डौंमा राष्ट्रिय अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको जागिर लगाउने बाहानामा ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा सुरुङ्गा कनकाई ३ घर भई काठमाण्डौं ७ चावहिल बस्ने निलम भट्टराईले तनहुँ शुक्लागण्डकी ३ की दुर्गा पौडेल न्यौपानेलाई अनुसन्धान अधिकृतको जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा पक्राउ गरेको हो ।
निलमले आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएको बताउँदै आएका थिए ।
उनले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै रकम लिएका थिए ।
उनले उक्त पदमा जागिर खानका लागि मन्त्रालयका विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने भन्दै १५ लाख रुपैँया लाग्ने बताएका थिए ।
अनुसन्धान अधिकृतको प्रलोभनमा पारी निलमले दुर्गासंग पटक पटक गरी १४ लाख ५० हजार रुपैयाँ समेत लिएका थिए ।
उनले रकम बुझेपछि जागिर पक्का भएको भन्दै ४५ दिने तालिमका लागि सिन्धुली जानुपर्ने भन्दै काठमाण्डौं समेत बोलाएर आफु सम्पर्कविहिन भएका हुन् ।
दुर्गापनि तालिमका लागि सिन्धुली जानेभन्दै काठमाडौँ आएर सम्पर्क गर्न खोज्दा निलम सम्पर्कविहिन हुनपुगेपछि ठगिएको थाहा पाएकी हुन् । उनी महानगरीय अपराध महाशाखा पुगेकी थिइन् ।
उनले दिएको जाहेरीको आधारमा प्रहरीले निलमलाई सुर्खेत विरेन्द्रनगर ६ सुर्खेत बसपार्कबाट पक्राउ गरेको हो । अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइराखेको प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।





