
काठमाण्डौं, ४ कार्तिक–वेमौसमी वर्षाको कारण आएको बाढि पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ ।
असोज ३१ गतेदेखि परेको पानीले विभिन्न स्थानमा बाढि पहिरो गएको थियो । लगातार पानी परेको कारण बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो ।
बाढी पहिरोमा परी ४१ जना अझै वेपत्ता रहेका छन् भने, ४० जना घाइते भएका छन् । केन्द्रिय प्रहरी समाचार कक्षले दिएको तथ्याङ्क अनुसार बाढि पहिरोले प्रदेश १ मा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु भएको हो ।
प्रदेशमा १ मा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका छन् ।
बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना वेपत्ता भएका छन् ।
वेपत्ताको खोजी कार्य जारी भइराखेको प्रहरी प्रधान कार्यालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् ।
४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको समेत मृत्यु भएको छ । बाढि पहिरोका कारण १ हजार १ सय ७७ घर परिवार विस्थापित भएका छन् ।





