पोखरा/ धान भित्र्याउन तम्तयार रहेको अवस्थामा अचानक आएको बेमौसमी वर्षाबाट गण्डकी प्रदेशमा पनि नोक्सान गरेको छ । बेमौसमी वर्षासँगै आएको हावाहुरी र बाढीका कारण गण्डकी प्रदेशमा कुल २ हजार ५ सय ९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण रुपमा क्षति पुगेको छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले दिएको प्रारम्भिक तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा कुल १ लाख २० हजार ८ सय २० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । देशको अन्य प्रदेशमा भन्दा गण्डकीमा भने क्षति न्यून रहेको कृषि विकास निर्देशनालय गण्डकीका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । ‘गण्डकी प्रदेशमा कम क्षति भएको छ’, नवलपुरको स्थलगत अध्ययन गर्दै गर्दा टेलिफोनमा उनले ढोरपाटनसँग भने,‘ अझ वास्तविक तथ्याङक आउन बाँकी छ । ’
यस्तै गण्डकीमा ४ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा भने आंशिक क्षति पुगेको छ । गण्डकी प्रदेश पहाडी भेग बढी रहेकाले क्षति न्यून भएको रेग्मीले बताए ।
वर्षाका कारण काण्डकी प्रदेशको कास्की जिल्लामा सबैभन्दा बढि क्षति पुगेको छ । कास्कीमा ७ प्रतिशत धानबालीमा पूर्ण क्षति पुगेको हो । १३.९३ प्रतिशत आंशिक नोक्सानी भएको छ । कास्कीमा कुल २६ हजार ८१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । जस्मा १ हजार ७ सय ३५ हेक्टरमा पूर्ण क्षति पुगेको हो भने ३ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा आंशिक नोक्सानी भएको अनुमान गरिएको छ ।
यस्तै पर्वतमा ८ हजार ९ सय १० हेक्टर मध्ये ४९० हेक्टरमा पूर्ण तथा १ हजार ४ सय ७० हेक्टरमा आंशिक नोक्सानी पुगेको हो । तनहुँमा भने आंशिक नोक्सानी सबैभन्दा बढी देखिएको छ । तनहुँमा आंशिक नोक्सानी २१ प्रतिशत रहेको छ । कुल १० हजार ८ सय ९८ हेक्टरमध्ये २ हजार २ सय ८८.५८ हेक्टरको धानबालीमा आंशिक तथा ३ सय ४८.७३९ हेक्टरमा पूर्ण क्षति पुगेको छ । नवलपुरमा २० हजार ६ सय ७० हेक्टर मध्ये १० हेक्टरमा पूर्ण क्षति पुगेको छ । ३० हेक्टर धानबालीमा आंशिक क्षति पुगेको छ ।
गोर्खामा ११ हजार ७ सय ७८ हेक्टर मध्ये ७ हेक्टरमा पूर्ण तथा १ सय १२ हेक्टरमा आंशिक नोक्सानी भएको छ । बागलुङमा १ सय ३ हेक्टरमा आंशिक तथा म्याग्दीमा २०४ हेक्टर र लम्जुङमा ७२.२१ हेक्टरमा आंशिक क्षति पुगेको अनुमान गरिएकोे छ । स्याङ्जामा ९० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा आंशिक क्षति पुगेको हो । यस्तै वर्षा हुनुअघि प्रदेशभर कुल २ हजार ३ सय ७८ हेक्टर क्षेत्रफलको धान भित्र्याइ सकिएको कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिइन् । उनले जिल्लामा तथ्याङ्क संकलन गर्ने कर्मचारी नरहेकाले वास्तविक तथ्याङ्क भने आउन बाँकी नै रहेको बताइन् । ‘अहिले क्षति पुगेको धान काटिसकेका पनि छन् भने नकाटिएका पनि छन् । क्षति पुगेकोमध्ये नकाटिएको धान ७५ प्रतिशत रहेको छ’,उनले भनिन् ।
ढलेको धान कसरी जोगाउने ?
कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाका अनुसार क्षतिग्रस्त अवस्थामा रहेको २२ प्रतिशतमध्येको करिब ७५ प्रतिशत धानलाई उठाएर ठाडो पार्ने, एक ठाउँबाट अन्यत्रै सुख्खा ठाउँमा सार्ने, खेतको भल तर्काउने, तप्क्यानी हटाउनेलगायतका काम गर्ने हो भने केही मात्रामा उत्पादन लिन सकिन्छ ।
‘क्षति भएर काम नलाग्ने भएको त भइहाल्यो, तर डुबेको धानलाई खेतमा जमेको पानीबाट निकालेर सुख्खा स्थानमा राख्ने, धान उम्रिन सक्ने जोखिम भएकोले धेरै तातो वा चिसोमा नराख्ने, बेला बेलामा धानलाई चलाइरहने, नकाटेको तर ढलेर डुबेको भए खेतबाट पानी तर्काउने, मौसम सफा नहुँदासम्म धान नकाट्ने उपाय गरेर पानीमा परेको धानलाई केही हदसम्म जोगाउन सकिन्छ’, उनले भनिन्, ‘यदि ढलेर उठाउन सकिएन भने त्यस्तो धानको दाना पोटिलो नहुने भएकोले सम्भव भएसम्म ढलेको धानलाई उठाएर क्षति कम गर्ने प्रयास गर्नुपर्छ ।’





