‘यहाँ (मुख्यमन्त्री कार्यालय) आएको २ दिन भयो, मेरो काम अब मुख्यमन्त्रीलाई सघाउने नै हो । जिम्मेवारी के हो ? प्राप्त भएको छैन, जिम्मेवारी दिनुहोला (मुख्यमन्त्रीले) ।’
पोखरा/ गएको साउन ८ गते गण्डकीको मन्त्रिपरिषद् विस्तार हुँदा गण्डकीका सांसद डोबाटे विश्वकर्मा मन्त्री बन्ने पक्कापक्कीजस्तै थियो । कारण, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली स्वयंले गृहजिल्ला तनहुँ रहेका डोवाटेलाई ‘दौरा–सुरुवाल’सहित सपथको लागि बोलाएका थिए ।
तर, डोवाटे मन्त्री बनेनन्ब/नाइएनन् । मन्त्रीको सपथ खान आउँदा–आउँदै डोबाटेको नाम मन्त्रीको सूचीबाट हटिसकेको थियो । डोबाटेलाई मन्त्री नबनाइएकोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आलोचित भए ।
तर, उनै डोबाटे गएको असोज ५ गते एकाएक मन्त्री बने । उनलाई गण्डकीको बिना विभागीय मन्त्री बनाइयो । मन्त्रीको सपथ लिँदा दसैंले छोपिसकेको थियो । डोबाटे दसैं मनाउन तनहुँ गए । गृह जिल्लामा बधाई एवं शुभेच्छा खाएर पोखरा फर्केका उनै डोबाटे बिना विभागीयमन्त्रीको रुपमा शुक्रबार पत्रकारमाझ झुल्किए । सञ्चार माध्यमले आफ्नो पक्षमा सकारात्मक समाचार संप्रेषण गरेकोमा धन्यवाद दिए र भने, ‘सुरुमा मलाई मौका प्राप्त भएन, पार्टीभित्रको आन्तरिक कारण होला, सबै दौडदै हुनुहुन्थ्यो, मैले सकिन ।’
संयोग कस्तो भने, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आएकै बेला उनी मन्त्री बन्ने पक्कापक्की भएको थियो । डोबाटेले मन्त्री बन्नकै लागि आउँदो चुनावमा सभापतिका आंकाक्षी रहेका शेरबहादुर देउवाको लाइन समातेकैले मन्त्री बनेको आंकलन पनि भयो ।
तर, डोबाटेले आफूलाई मन्त्री बनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘लबिङ’ गरेको र उनकै पहलमा सत्ता गठबन्धनकै सहमतिमा आफू मन्त्री बनेको जिकिर गरे ।
डोबाटे मन्त्री त भए तर उनीसँग मन्त्रालय छैन । विधानतः गण्डकीमा १२ मन्त्रालय बनाउन पाइन्छ । यतिबेला गृहमन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नै राखेका छन् । सोही मन्त्रालय डोबाटेलाई दिने वा अरु मन्त्रालय फुटाउने भन्ने निर्णय भइसकेको छैन ।
तर, कांग्रेस स्रोतका अनुसार मन्त्रालय हेरफेरको चर्चा चलिरहेको छ । अहिले कानुनमन्त्री रहेका बिन्दुकुमार थापाले अर्को मन्त्रालय चाहेका छन् । यस्तोमा मन्त्रिपरिषद् हेरफेर गर्दै डोबाटेलाई कम प्रभावशाली मन्त्रालय दिने सम्भावना पनि उत्तिकै रहेको छ ।
खासमा, डोबाटे मन्त्री त छन् तर काम छैन । उनकै शब्दमा यतिबेला उनीसँग मुख्यमन्त्रीलाई सघाउनुबाहेक काम छैन । ‘म यहाँ (मुख्यमन्त्री कार्यालय) आएको २ दिन भयो, मेरो काम अब मुख्यमन्त्रीलाई सघाउने नै हो,’ उनले भने, ‘जिम्मेवारी के हो ? प्राप्त भएको छैन, जिम्मेवारी दिनुहोला (मुख्यमन्त्रीले) ।’
आफूलाई मन्त्री बनाएर न्याय गरिएको तथा समानुपातिक र समावेशीको सिद्धान्तलाई प्रदेश सरकारले आत्मसात गरेको बताइरहँदा पनि उनी आफूलाई कुन मन्त्रालय दिइन्छ भन्नेमा ढुक्क देखिएनन् । उनले एकपटक मन्त्री नबनाइएपछि आफूले मन्त्री हुन्छु भन्ने कल्पनै नगरेको पनि बताए ।
साउन ८ गते मन्त्री नबनाइएपछि विधान समितिको सभापतिको प्रस्ताव आउँदा आफूले अस्वीकार गरेको बताउँदै उनले भने, ‘पार्टीको बफादार सिपाहीको नाताले जुन पद पायो,त्यहीँ हाम्फाल्नुपर्छ भन्ने मैले सोचिनँ ।’





