बागलुङ/संघियता कार्यान्वयन पछिको एमालेको पहिलो गाउँ तथा नगर अधिवेसन मंगलवारदेखि शुरु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेसनको उद्घान गरेका थिए । साथै उनले फेरीपनि एमाले देशकै पहिलो पार्टी बनेर आउने दावी गरे । उनले सबै कार्यकर्तालाई सक्रिय भएर संगठनमा लाग्न आग्रह गर्दै अन्य दलमा बैचारिक र सैद्धान्तिक बिषय नभएको र आफ्नो दल मात्रै देशकै अब्बल भएको दावी गरे ।
बागलुङमा पनि अधिकांस पालिकामा मंगलवार अधिवेसन सुरु भएको छ । अधिवेसनमा सर्वसम्मत नेतृत्व ल्याउने प्रयास भैरहेको पार्टी सचिव बिष्णु भुषालले बताए । ‘धेरै स्थानमा साथीहरु छलफलमा हुनुहुन्छ, सकेसम्म निर्विरोध बनाउने प्रयास छ’ उनले भने, ‘सके मंगलवार रातीनै, नसके बुधवार सम्म सबै परिणाम आउने संभावना छ ।’ समाचार तयार पार्दा सम्म जिल्लामा कतैपनि नेतृत्व आएको छैन ।
सदरमुकाम स्थित बागलुङ नगरपालिकाको अधिवेसन उद्घाटन सत्रमा केन्द्रीय सदस्य गोबिन्द नेपालीले अन्य सबै राजनीतिक दलहरु कमजोर भैसकेको भन्दै एमालेसँग प्रतिष्पर्धा गर्न गठबन्धन गरिरहेको आरोप लगाए । सबै गठबन्धन मिल्दापनि एमाले पहिलो शक्ती भएको भन्दै फेरीपनि एक ढीका भएर अगाडि बढ्ने बताए ।
अर्का केन्द्रीय सदस्य मनाकुमारी केसीले केपी ओलीको सक्षम नेतृत्वले एमालेलाइ पहिलो शक्ती बनाएको बताइन् । नगर अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, सचिव रामबहादुर जिसीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नगर प्रमुख जनकराज पौडेल, उपाध्यक्ष कृष्ण पाठक, बाबुलाल शाक्य, कृष्ण केसी लगायतले बोलेका थिए । वडा तहको अधिवेसन सम्पन्न भएर छानिएका प्रतिनिधिबाट मंगलवारको अधिवेसनमा कार्यकर्ता सहभागि भएका हुन् ।
यो अधिवेसनपछि एमालेले जिल्ला तहको पनि अधिवेसन गर्नेछ । सबै पालिकामा दुइ भन्दाबढी अध्यक्ष र पदाधिकारीका आकांक्षी छन् । उनीहरुलाई मिलाउन पार्टीले कसरत समेत गरिरहेको छ । सकेसम्म मिलाउने र नमिलेको खण्डमा मात्रै निर्वाचनमा जाने तयारी छ । एमालेले दुइ प्यानल बनाएर निर्वाचन गर्न नपाइने बिधान समेत बनाइसकेकोले सबै पदमा निर्वाचन भने नहुने पक्कापक्की छ ।
एमालेले मंसिर तेस्रो साता भित्र केन्द्रीय महाधिवेसन गर्ने गरी वडादेखिनै अधिवेसन थालेको हो । संविधानले बढीमा ५ बर्षमा दलको अधिवेसन गर्नुपर्ने प्रावधान राखेपछि दलहरु जुरमुराएका छन् । एमाले अध्यक्ष केपी ओलीले भने फागुन पछि आँफू ७० बर्ष काट्ने भएकोले त्यस अघिनै अधिवेसन गरेर पुन अध्यक्ष बन्ने दाउ गरेका छन् । एमालेले ७० काटेकालाई पदाधिकारी बन्न अयोग्य मानेर बिधान बनाएको छ ।





