बागलुङ/ नेपाल कम्युष्टि पार्टी (नेकपा) एमाली नेतृ तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टीले सरकारमा रहेका बेला गरेको कामलाई पूजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।
एमाले नेतृत्वको सरकारले परिवर्तन देखिने गरी कयौं कामहरु गरेको भएपनि त्यसको प्रचार र पूँजीकरण हुन नसकेको उनको तर्क थियो । पार्टी सरकारमा हुने बेला देशको बिकासका लागि भएका काम पार्टीको सम्पत्ति भएको भन्दै उनले जनताका घर घरसम्म पार्टी कामको चर्चा हुनुपर्नेमा जोड दिईन् ।
नेकपा एमाले मात्रै देशको सच्चा राष्ट्रबादी पार्टी भएको दावी गर्दै अर्यालले देशको नेतृत्व एमालेले गरेका बेला मात्रै जनताले सुखको महशसु गर्ने बताइन् ।
नेकपा एमाले जैमिनी नगर कमिटिको पहिलो अधिबेशन बिहिबार कुश्मीशेरामा उद्घाटन गर्दै अर्यालले आउँदो निर्वाचनमा एमाले एकल दुईतिहाई मत ल्याउने बताईन् । स्थानीय तह, प्रदेश र संघका सबै निर्वाचनमा जित्नेगरी पार्टीले तयारी गरिरहेको भन्दै दशौं महाधिबेशन पछि पार्टी त्यसतर्फ केन्द्रित हुने बताईन् ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले माधव नेपाल समुहको फुटले पार्टीमा कुनै असर नगरेको दाबी गरे । उनले एमालेले गरेको काम देख्न नसकेर गठबन्धन निर्माण भएको भन्दै गठबन्धन छिट्टै तोडिने दाबी गरे ।





