बागलुङ/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको विकासका लागि कर्मचारीले नयाँ शैलीमा काम गर्नुपर्ने बेला आएको बताएका छन् । देशमा गणतन्त्र स्थापना र संघियताको कार्यान्वयनसँगै प्रणाली बदलिएको भन्दै बरालले कर्मचारीको काम गर्ने शैली भने पुरानै रहेको बताए ।
‘हामी मान्छे पुराना हौं, काम पुरानै शैलीले गर्नुपर्छ भन्ने छैन्, शैली बदलौं’ बरालले भने ‘थोरै बजेटले धेरै काम गर्नुपर्ने छ, बिषम परिस्थितीमा बनेको बजेटको भाव बुझेर काम गरौं ।’ उनले बजेट निर्माण गर्नुपूर्व हुने छलफल र अन्तरक्रियाबाट आएका सुझावहरु समयमा सम्बन्धित अड्डामा पु¥याउनु पर्नेमा जोड दिए ।
‘योजनाका बिषयमा छलफल भएका टिपोर्टहरु कागजका खोष्टा हुन्छन्, कपीमा टिपिन्छन्, दराजमा थन्किन्छन्, अनि कसरी बन्छ चाहाना अनुसारको योजना’ उनले भने ‘सहि अड्डामा समयमा पुगेका सुझावले मात्रै सहि योजना बन्छ ।’ बिहिबार बागलुङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुसासन बिषयक अन्तरक्रिया छलफलमा बोल्दै मन्त्री बरालले बजेट कार्यान्वयनका बेला आउने स–साना समस्यालाई पहाड नबनाउन कर्मचारीलाई निर्देशन दिए ।
‘यताको समस्या उता र उताको समस्या यता गरेर पन्छिने परिपाटी छ, यसको अन्त्य गरौं’ उनले निर्देशनात्मक शैलीमा भने ‘समस्याका चाङ लगाउने हैन, समयमा अर्थसचिव र मलाई खबर गर्नु, सकेसम्म समस्या समाधान हुन्छ ।’ कर्मचारीले इमान्दार भएर आँफुले गरेको संकल्प पुरा गर्न लागेमा विकासका काममा अफ्ठेरो नपर्ने उनले बताए । प्रदेशमा बजेटको स्रोत कम रहेको भन्दै विनियोजित बजेटको कार्यान्वयन र राजश्व संकलनका कामलाई गत वर्षभन्दा धेरै सुधारिएको अवस्थामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाले जनप्रतिनिधि र कर्मचारीको बीचमा देखिने समस्याका कारण धेरै विकासे योजनामा बाधा आउने गरेको बताईन् । ‘हामीलाई जनताका काम धेरै गरौं भन्ने हुन्छ, तपाईंहरु अनेक समस्या देखाउनुहुन्छ’ उनले भनिन् ‘कता कता नमिलेको जस्तो आभाष हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले प्रदेशका कार्यक्रम र विनियोजनका बिचमा तारतम्य नमिल्दा योजनाको कार्यान्वयनमा समस्या आउने गरेको बताए । प्रदेश सरकारले गर्ने वित्तिय हस्तान्तरणमा स्थानीय तहले अपनत्व लिन
नसकेका कारण समस्या आएको उनको धारणा थियो । स्थानीय तह र प्रदेश सरकार बीचको समन्वयले मात्रै योजना कार्यान्वयन सहज र प्रभावकारी हुने उनको तर्क थियो ।
जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले प्रदेश सरकारले आफ्ना योजनाको कार्यान्वयन गर्दा स्थानीय सरकारसँग समन्वय नगर्ने गरेको बताए । योजना दोहोरिने र कार्यान्वयनमा समस्या आएपछि मात्रै स्थानीय तहले जानकारी पाउँदा समस्या थप जटिल हुने गरेको उनको भनाई थियो । वर्षको अन्तिममा निकासा हुने विनियोजित बजेटका कारण योजना अनुसारका काम नहुने उनको धारणा थियो ।





