बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन प्रतिनिधिमा बागलुङ क्षेत्र नं. २ बाट पाँचै जना सर्वसम्मत चयन भएका छन् । उक्त क्षेत्रबाट दलित तर्फ देवकुमार नेपाली सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा छनोट भएका हुन् । एक जना मात्रै महिला प्रतिनिधि हुन पाउने क्षेत्र नं. २ मा यमुना राना सर्वसम्मत चयन भएकी छन् । तीन जना प्रतिनिधि छनोट हुन पाउने क्षेत्र नं. २ बाट तुलसी अर्याल, मोहनलाल शर्मा र सुनिल शेरचन सर्वसम्मत चयन भएको पार्टी सचिव बिष्णु भुसालले जानकारी दिए । क्षेत्र नं. १ मा भने दलित सदस्य बाहेक बिहिबार उमेद्वारी परेका सबैको उमेद्वारी कायम छ । निर्वाचन कार्यतालिका अनुसार कात्तिक २६ गते दिउँसो सम्म उमेद्वारी फिर्ताको समय छ । महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. १ मा पनि सर्वसम्मत चयन गर्न जिल्ला कार्यसमितिले भरपुर प्रयास गर्ने सचिव भुसालले बताए ।





