पोखरा – कास्की कांग्रेसका एक खेलाडी हुन्,शुक्रराज शर्मा । कास्की कांग्रेसको १७ वर्ष नेतृत्व गरेका उनी कुनै समय कांग्रेसको पर्यायवाची थिए । कास्की कांग्रेसलाई सपारेको र बिगारेको दोष उनीमाथि नै लगाइन्छ । २०४८ र २०५१ सालको संसदीय चुनावमा टिकट पाएपनि उनले जितेनन् । २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर ३ को पाएको टिकट पनि उनलाई फापेन । त्यसो त,उनी यसअघि जिल्ला सभापतिको चुनावमा कृष्ण केसीसँग नराम्रोसँग पराजित भए । प्रत्यक्ष चुनाव लड्न अब उनलाई उमेरले साथ नदिने आँकलन गरिएपनि उनले सक्रिय राजनीति छाडेका छैनन् । लामो समय संस्थापन अर्थात् कोइराला परिवारसँग नजिक रहेरै उनी शक्तिकेन्द्र बने । कांग्रेसको १४ औं महाधिवेशनमा उनले गण्डकी प्रदेश सभापति हुने आकांक्षा पालेका छन् । तर, स्रोतका अनुसार अहिले उनी बिस्तारै कोइराला परिवारसहित वरिष्ठ नेता रामचन्द्र पौडेलसँग टाढिएका छन् । रामचन्द्र पौडेलले शुक्रराजको आलोचना गरेपछि र शशांक कोइरालाले प्रदेश सभापतिमा कास्कीकै यज्ञबहादुर थापालाई साथ दिने बुझेपछि उनी क्याम्प परिवर्तन गर्ने सुरसारमा देखिएको स्रोतले दावी ग¥यो ।
शुक्रराज काका खुट्टा उचालेर सभापति शेरबहादुर देउवा क्याम्पमा जाने सुरसारमा हुुनुहुन्छ’,उनीसँग लामो संगत गरेका एक युवाले भने,‘ उहाँ राष्ट्रिय सभाको सदस्य दिएपनि देउवामा जाने निश्चित छ ।’ तर, आफै महाधिवेशन प्रतिनिधि उम्मेद्वार भएकाले उनी हालसम्म खुलेका छैनन् । बरु, कास्कीको क्षेत्रीय सभापति र पदाधिकारीमा आफू अनुकूलका मान्छे ल्याउन विभिन्न क्षेत्रमा फरक–फरक व्यक्तिसँग गुट बनाएका छन् । शुक्रराजको तर्फबाट कास्की क्षेत्र नम्बर १ क मा मुरारी कोइरालाको प्यानललाई उनीसहित कास्की सभापति कृष्ण केसीको समर्थन छ । अर्का उम्मेदवार दुर्गा सुवेदीलाई यज्ञबहादुरको समर्थन छ । कास्की १ ख मा अर्जुन गुरुङलाई यज्ञबहादुर थापाको र कृष्ण कोइरालालाई शुक्रराज तथा कृष्ण केसीको समर्थन रहेको छ ।
निर्वाचन क्षेत्र नंबर २ क मा वर्षाकेशव पराजुली र दीनेश आचार्य मैदानमा छन् । दीनेशलाई रामचन्द्र पौडेल समूहसहित देवराज चालिसेको साथ छ । देवराज चालिसे गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नजिक छन् ।
क्षेत्र नम्बर २ ख मा दीपेन्द्र मर्सानीलाई शुक्रराज र समूह एवं सुवास सिग्देललाई देवराज चालिसेको समर्थन छ । यो क्षेत्रमा देवराज एकातिर र अन्य नेताहरु अर्को समूहमा छन् । दीपेन्द्रलाई मन्त्रीहरु कुमार खड्का र विन्दुकुमार थापाको पनि समर्थन रहेको स्रोतले दावी ग¥यो ।
क्षेत्र नम्बर ३ को क मा दीपकराज पौडेल र पुष्पेन्द्र पाण्डे भिड्दै छन् । तीमध्ये पुष्पेन्द्रलाई शुक्रराज शर्मा तथा महादेव गुरुङको साथ छ । यसैगरी ३ कै ख मा जीवननाथ पौडेल र दीपकवीर कुँवर प्रतिस्पर्धामा उत्रिएका छन् । जीवननाथलाई महादेव गुरुङ तथा शुक्रराज समूहको साथ छ भने अर्को पक्षलाई मनोज गुरुङले साथ दिएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज कास्कीका सबै निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेश सभा निर्वाचन हुन लागेको हो । कास्कीमा ३ निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्रअन्तर्गत सभापति (१), उप सभापति (२), सचिव (२), सहसचिव (२), प्रत्यक्षतर्फ खुल्लामा ७ तथा महिलातर्फ ३ सदस्यका लागि निर्वाचन हुने कार्यक्रम छ । यस्तै समानुपातिक आदिवासी जनजाति (महिला–पुरुष) खसआर्य महिला तथा खुल्ला, दलित र अल्पसंख्यक, मुस्लिम वा मधेसी वा थारुबाट १ सिटका लागि निर्वाचन हुँदैछ । कास्कीमा नेपाली कांग्रेसको केन्द्रीय गुटको प्रभाव कम देखिएपनि उम्मेदवारहरु सबैजसो निर्वाचन क्षेत्रमा गुट नै बनाएर चुनावमा होमिएका छन् । उम्मेद्वारी दर्ता गर्दासम्म गुटबारे केही नबताइए पनि सभापतिका प्रत्यासीहरुले आफू अनुकूलको गुट बनाएको र मतदानको लागि त्यसरी नै ‘लविङ’ गरेको कांग्रेस स्रोतले बताएको छ ।
४ जना निर्विरोध
निर्वाचन क्षेत्र २ क को सहसचिवमा निलम बाटाजु कर्माचार्य र सुरेश खवास निर्विरोध रुपमा निर्वाचित भएका छन् । उम्मेदवारी दिएकी कमलकुमारी केसीले उम्मेदवारी अन्तिम समयमा फिर्ता लिएपछि निर्विरोध भएको हो ।
यस्तै निर्वाचन क्षेत्र ३ को ‘ख’ तर्फको प्रदेश प्रतिनिधिमा गणेशबहादुर भट्टराई र देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । भट्टराई पोखरामा चर्चित पर्यटन व्यवसायी हुन् । उनी हालै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । देवेन्द्र केसी पनि युवा पर्यटन व्यवसायी हुन् ।





