बागलुङ – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङले जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार जिल्लाभर एकैपटक भएको वडा अधिबेशनबाट जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन भएको जिल्ला इन्चार्ज बलावती शर्माले बताईन् ।
८५ वडा रहेको जिल्लामा २० वडामा कामको सिजन भएकाले तोकिएको समयमा अधिबेशन गर्न नसकेको उनले बताईन् । जिल्लाको ताराखोला, ढोरपाटन, बागलुङ र बडिगाड गाउँपालिकाका अधिकांश वडामा अधिबेशन सम्पन्न भएको छ ।
माओवादीले वडा अधिबेशनमानै युवा, महिला र पिछडीएको वर्गलाई प्राथमिकता दिएको छ । अधिबेशन सम्पन्न भएका अधिकांश वडामा युवा नेतृत्व आएको शर्माले बताईन् ।
३५ प्रतिशत महिला, ४० प्रतिशत युवा र वडामा रहेको सदस्य संख्याको आधारमा जनजाती तथा दलित सदस्य वडा कमिटिमा चयन भएका छन् । शनिबार भेला हुन बाँकी रहेका वडाहरुमा मंसिर ९ गतेसम्म अधिबेशन गरिसक्ने माओवादीले जनाएको छ । मंसिर १० गते पालिका अधिबेशन हुने भएकाले त्यसअघिनै वडा अधिबेशन सकिने छ ।





