तनहुँ – दमौलीको अनसन चौतारीसँगै रहेको खुला मञ्चमा नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को नयाँ नेतृत्व चयन गर्न मतदान भईरहेको थियो । बाहिर प्रशासनचोक देखी कृषी ज्ञान केन्द्रको कार्यलयसम्म भिड जात्रै देखिन्थ्यो । सडक महोत्सवको झ–झल्को दिने भिडमा कोही ‘नमस्कार हजुर ! मलाई आफ्नो मत दिएर जिताई दिनुहोला’ भन्दै थिए । कोही आफु निकटका मतदाता आउने वित्तिकै अरुले उछिट्याइदेला जस्तो गरेर च्याप्प समाएर डो¥याउँदै लाइन÷प्रवेशद्धारसम्म पु¥याइरहेका हुन्थे ।
छातीमा ब्यानर टाँसेर आफ्ना मान्छेलाई भोट माग्नेहरु पनि प्रश्सत थिए । भोट मागेर आफ्ना मान्छेलाई विजयी गराउने प्रयास भरपुर भईरहेको थियो । कांग्रेसी नेता कार्यकर्ताको त्यो भिडमा बेलाबखत नाच्दै गाउँदै मत मागेको दृश्यले सबैलाई तान्थ्यो । यो भिड र दृश्य सोमबार विहानदेखी साँझसम्म दमौलीमा दोहोरिरह्यो ।
प्रशासन चोकदेखी कृषी ज्ञान केन्द्रको कार्यालयसम्मका कुनै घर खाली थिएनन् सायद उम्मेद्वारको प्रचारप्रसारमा टाँगिएका तुल व्यानरले । पर्खाल, रुख, बिजुलीको पोल र तारमा पनि उम्मेद्वारको प्रचारप्रसार सामाग्रीले भरिएको थियो । पार्टीको प्रतिनिधि सभा क्षेत्र हाँक्ने र केन्द्रिय महाधिवेशनमा सहभागि हुने नेतृत्व चयनमा भएको अधिवेशन आम निर्वाचन भन्दा कम देखिन्थेन् ।
यस्तै, दृश्य शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा पनि थियो । जहाँ क्षेत्र नम्बर २ को अधिवेशन थियो । पृथ्वी राजमार्गदेखी जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको प्रवेशद्धारसम्म ठेलमठेल भिड थियो । उम्मेद्वारको फोटो टाँसिएका रंगिविरंगी प्रचार सामाग्री यत्रतत्र थिए । बिरामी लिएर अस्पताल आउजाउ गरेका सवारीलाई भिड छिचोल्न सकस थियो । पैदलै अस्पताल पुग्ने बिरामीलाई पनि मुस्किल हुने भिड थियो ।
सोमबार देखिएको अधिवेशनको रौनकले अब हुने आम निर्वाचनको खर्च बढाएको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । गोजीमा दाम नहुने नेता कार्यकर्ताले चुनाव लड्नै नसक्ने बनाईदिएको उनीहरुको भनाई छ ।
कांग्रेस तनहुँका सभापति बैकृण्ठ न्यौपानेले पनि नेता कार्यकर्ताको अनुमानमा सहमत छन् । पार्टीको आन्तरिक निर्वाचनमा देखिएको तडकभडकले आम निर्वाचनलाई अझै खर्चिलो र भड्किलो बनाउने उनी स्विार्छन् । ढोरपाटनकर्मीसँग संक्षिप्त प्रतिकृया दिदै न्यौपानेले भने ‘अधिवेशन अलिक बढी खर्चिलो र भड्किलो भयो । पार्टीले यसलाई रोक्नुपर्ने देखियो ।’ पार्टीको आन्तरिक निर्वाचन भएकाले यति बिघ्न भड्किलो नगर्नुपर्ने उनको तर्क छ । ‘मिडियादेखी प्रविधिसम्म सबै युज भा’को छ । दिनभर मादल ठोक्ने, नाच्ने गाउन देखियो । तर अधिवेशन शान्तीपुर्ण तरिकाले सकियो’, उनले बताए । उनी भन्छन्, ‘आम निर्वाचनमा यस्ले खर्च बढाउँछ । जस्ले खर्च गर्न सक्छ उसैले जित्ने भो चुनाव त ।’
जिल्लाको दुवै क्षेत्रमा मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । क्षेत्र नम्बर १ मा कूल ९५४ मध्ये ९३१ मत खसेको छ । बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । प्राविधिक कारणले केही ढिला मतदान सुरु भएको क्षेत्र नम्बर २ मा ८६६ मध्ये ८६० मत खसेको निर्वाचन समितिले जनाएको छ । दुवै क्षेत्रमा सोमबार रातिबाट मतगणनाको थाल्ने तयारी छ । मंगलबार सम्ममा मतपरिणाम आउने अनुमान छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा प्रदेश सभा क्षेत्रिय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएको छ । संस्थापन देउवा पक्ष निकट केन्द्रिय सदस्य शंकर भण्डारी, धुर्व वाग्ले, आमन्त्रित केन्द्रिय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको प्यानल खडा गरी निर्वाचनमा होमिएका हुन् ।
केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको प्यानल पनि चुनावी मैदानमा छ । जिल्ला सभापति न्यौपाने र कार्यवाहाक सभापति आले बरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेता हुन् । तर यि दुवै नेता अधिवेशनको समय फरक प्यानलमा लागेका छन् ।
क्षेत्र नम्बर १ को सभापतिमा विश्व बास्तोला र श्याम मौरातीबीच प्रतिस्पर्धा भएको छ । बास्तोला पौडेल निकटका नेता भएपनि संस्थापन समुहका नेता हावि प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन् । मौरतीले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेद्वारी दिएका हुन् । सचिवका उम्मेद्वार चुडामणि दाहाल, दयानीधि नराल, तारानरेश पौडेल, राजु बानियाँ हुन् । सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पौडेल, शैलेश खातीले प्रतिस्पर्धा गरेका छन् ।
यस्तै क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुडामडणी खनालको भिडन्त भएको छ । खनाल बरिष्ठ नेता पौडेल निकट नेता भनिएपनि भण्डारी, वाग्ले, भट्टराई र आलेको प्यानलबाट उम्मेद्वार बनेका हुन् । पण्डित पौडेल र न्यौपाने प्यानलको उम्मेद्वार हुन् । क्षेत्र नम्बर २ को सचिवमा जीवनचन्द्र ठकुरी, पुर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेको प्रतिष्पर्धा छ । सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारु चुनावी परिक्षामा छन् ।





