पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा सोमबार भएको चुनावअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल निकट उम्मेदवारहरु अगाडि देखिएका छन् । कास्की क्षेत्र नम्बर १ को ४ सय मतगणना हुँदा कास्की सभापति कृष्ण केसीले सघाएका राजेन्द्रमणि अधिकारी अगाडि देखिएका छन् ।
उनले २ सय १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी बुद्धिमान गुरुङले १ सय १८ मतमात्रै पाएका छन् । कुल मतदाता ८५३ रहँदा त्यहाँ ८ सय ४१ मत खसेको थियो ।सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पनि पुरानै अनुहारहरु अगाडि देखिएका छन् । सचिवमा ओमप्रकाश गुरुङ,जिेतन्द्र गुरुङ,शोभामोहन पौडेल र सरोज केसीबीच भिडन्त भएको छ । सरोज केसी र ओमप्रकाश गुरुङले त्यहाँ अग्रता लिएका छन् । सहसचिवमा पनि उपेन्द्र न्यौपाने, किरण थापा,मोति गिरी र सुजाता गुरुङ मैदानमा छन् ।
कास्की कांग्रेसमा केन्द्रमाजस्तो गुट नभएपनि यहाँका नेताहरुले आफू अनुकूलका नेताहरुको प्यानल बनाएका थिए । क्षेत्र नम्बर २ मा सभापतिको लागि पुण्डरीप्रसाद बराल र केशवप्रसाद निर्दोषी मैदानमा उत्रिँदा सचिवको लागि सरोजनारायण बराल, गायत्री पराजुली, देवकृष्ण पराजुली, हिमराज अधिकारी र महेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । समाचार तयार पार्दासम्म यहाँ केशवप्रसाद निर्दोषी अगाडि देखिएका छन् । अन्य पदमा पनि उनकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् । सहसचिवमा भावना श्रेष्ठ, शिवराज देवकोटा, माधव कँडेल, दीपेन्द्र बराल, र विश्वराज आचार्यबीच प्रतिस्पर्धा छ । क्षेत्र नम्बर २ मा ४ सय ९९ मत ४ सय ९५ मत खसेको थियो ।
क्षेत्र नम्बर ३ मा मनोज गुरुङ र खिमलाल बास्तोलाबीच तीव्र प्रतिस्पर्धा छ भने सचिवमा भरतबहादुर केसी, मेखबहादुर तामाङ, राजाराम पौडेल र लक्ष्मीप्रसाद पौडेलले उम्मेदवार छन् । सहसचिवमा आइन्दल गुरुङ, धरमबहादुर लामिछाने, शीतल अधिकारी र महेश तिमिल्सिना भिडन्तमा छन् । यद्यपि, यो समाचार तयार पार्दासम्म अन्तिम मत परिणाम आइसकेको छैन । ७ सय ३६ जना मतदाता रहेकोमा त्यहाँ ७ सय २६ मत खसेको थियो ।
क्षेत्रीय सभापतिसँगै महाधिवेशन प्रतिनिधि चयनमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला र प्रदेश सभापति एवं केन्द्रीय सदस्य र पदाधिकारीमा उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि रहनैपर्ने भएकाले पनि महाधिवेशन प्रतिनिधिमा कडा प्रतिस्पर्धा देखिएको हो । महाधिवेशन प्रतिनिधिमा आउने अनुहारले नै आउँदो नेतृत्व छान्ने भएकाले सबैको चासो महाधिवेशन प्रतिनिधिमा देखिएको छ’,कांग्रेसका एक नेताले भने,‘महाधिवेशन प्रतिनिधिको मैदानमा उत्रिएका चर्चित नेताहरुका कारण पनि यो चुनाव विशेष रहेको हो । कास्कीको हकमा यहाँका सबै नाम चलेका नेताहरु महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका छन् । यद्यपि,समाचार तयार पार्दासम्म नाम चलेका नेताहरुले अग्रता लिएका छन् ।





