तनहुँ/ तनहुँमा नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दवदवा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा छन् । तसर्थ पनि पार्टीको आन्तरिक निर्वाचनमै कसले बाजी मार्ला ? कस्ले पराजय भोग्नुपर्ला ? भन्ने विषयलाई खुब चासोको साथ हेरिएको छ ।
क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि पदमा दलित खुलातर्फ गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोवाटे विक चुनावी मैदानमा छन् । आदिवासी जनजाति महिलामा प्रदेश सभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियार दलित महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
खस आर्यबाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँ, आदिवासी जनजातिमा व्यास नगरपालिका–१३ का वडाध्यक्ष लेखबहादुर राना, अल्पसंख्यकमा व्यास नगरपालिका–१ का वडाध्यक्ष खरसिंह दरै महाधिवेशन प्रतिनिधि पदमा निर्वाचन लड्दैछन् । खुला महिलातर्फ आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको उम्मेद्वारी परेको छ । संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन् ।
क्षेत्र नम्बर २ मा संविधानसभा सदस्य ध्रुव वाग्ले, झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ खुल्लातर्फ महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेका छन् । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना खुल्ला महिलातर्फ, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ जनजाति पुरुषतर्फ, ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा जनजाति महिलातर्फ, म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य रामकृष्ण विक दलित पुरुषतर्फ, जिल्ला समन्वय समिति सदस्य दिव्यश्वरी विक दलित महिलातर्फ र घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गंगाबहादुर कुमाल अल्पसंख्यकतर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका हुन् । जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापाले जनजातितर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन् । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् ।
चुनावी गुट
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा दुईवटा प्यानल चुनावी मैदानमा होमिएका छन् । संस्थापन देउवा पक्ष निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको प्यानल खडा भएको छ ।केन्द्रीय सदस्य प्रदीप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपानेको प्यानल पनि चुनावी मैदानमा छ । जिल्ला सभापति न्यौपाने र कार्यवाहक सभापति आले वरिष्ठ नेता पौडेलका ‘हार्डलाइनर’ नेता हुन् । तर यी दुबै नेता अधिवेशनको समय फरक प्यानलमा लागेका छन् । संस्थापन देउवा पक्षले वरिष्ठ नेता पौडेललाई गृह जिल्लामै कमजोर सावित गराउनलाई ‘हार्डलाइनर’ नेतालाइ नै विभाजन गरेको प्यानल खडा गरेकोे राजनीतिक वृत्तमा चर्चा सुनिन्छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनमा प्राप्त मतलाई विश्लेषण गर्दा क्षेत्र नम्बर १ मा पौडेल समुह बलियो देखिन्छ । क्षेत्र नम्बर २ मा भने संस्थापन समुह बलियो ठानिएको छ । तर, अन्तिम मत परिणाम नआउन्जेल यसै भन्न सकिने अवस्था नरहेको नेताहरु बताउँछन् ।
यि हुन उम्मेद्वार
क्षेत्र नम्बर १ को सभापतिमा विश्व बास्तोला र श्याम मौरातीबीच प्रतिस्पर्धा हुँदैछ । बास्तोला पौडेल निकटका नेता भएपनि संस्थापन समुहका नेता हावि प्यानलबाट मैदानमा उत्रिएका हुन् । मौरतीले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेद्वारी दिएका हुन् । सचिवका उम्मेद्वार चुडामणि दाहाल, दयानिधी नराल, तारानरेश पौडेल, राजु बानियाँ हुन् । सहसचिवमा अर्जुन अधिकारी, युवराज आले, रविन पौडेल, शैलेश खातीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्षेत्र नम्बर २ को सभापतिमा कृष्णराज पण्डित र चुडामणि खनालको भिडन्त हुँदैछ । खनाल वरिष्ठ नेता पौडेल निकट नेता भनिएपनि भण्डारी, वाग्ले, भट्टराई र आलेको प्यानलबाट उम्मेद्वारी दिएका हुन् । पण्डितले पौडेल र न्यौपानेको प्यानलबाट उम्मेद्वारी दिएका हुन् । क्षेत्र नम्बर २ को सचिवमा जीवनचन्द्र ठकुरी, पुर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेको उम्मेद्वारी परेको छ । सहसचिव पदमा चित्रबहादुर राना, टुकराज श्रेष्ठ, नरसिङ राना र यामबहादुर थापा सारु चुनावी परिक्षामा छन् ।





