पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङ जिल्ला नेतृत्वमा भएको प्रतिस्पर्धामा सभापति देउवा पक्षीय टकराज गुरुङ सभापतिमा विजयी बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पक्षधर गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदै टकराज सभापति बनेका हुन् । कूल १ हजार ३ सय ३९ मत खसेकोमा विजयी टकराजले ७ सय १७ मत प्राप्त गर्दा गमप्रसादले ५ सय ८५ मतमा चित्त बुझाए ।
लामो समयसम्म कांग्रेसको कोइराला परिवारसँग नजिक रहेका जिल्ला विकास समितिका पूर्वसभापति शंकरकान्त जोशीको सहयोगमा उनी सभापति बनेका हुन् । शंकरकान्त जोशी तथा वृषराज गुरुङ समूहको सहयोगमा टकराज सभापति बनेसँगै लमजुङ कांग्रेसको राजनीतिमा नयाँ तरङ्ग आएको छ । रमाइलो त के छ भने, नयाँ गठबन्धन बनाएका शंकरकान्त स्वयं महाधिवेशन प्रतिनिधिमा हारेका छन् ।
२००७ सालदेखि नै कांग्रेस जन्माउने थलोको रुपमा परिचित छ– लमजुङ । २००६ साल साउन ११ गते लमजुङको दुराडाँडाबाट हलोको अनौ समातेर शेषकान्त अधिकारी नेतृत्वको समूहले सुरु गरेको राणा विरोधी अभियान कालान्तरमा परिवर्तनको संवाहक बन्यो । हलो क्रान्तिमा होमिएकाहरु कांग्रेस बने । कांग्रेस जन्माउने थलोको रुपमा दुराडाँडा र लमजुङले नयाँ परिचय बनायो । कांग्रेसको हकमा त्यही लमजुङले ठूला नेता त जन्माएन तर प्रभाव छिमेकी जिल्लासम्म कायमै रह्यो । छिमेकी तनहुँका गोविन्दराज जोशी र रामचन्द्र पौडेलहरुले पछिसम्म पनि दुरडाँडाको कथा भन्नुपर्ने अवस्था आइरह्यो । २०४८ सालको चुनावमा एकलौटी गरेको कांग्रेसको राजनीतिमा लमजुङमै जन्मेका र कोइराला परिवारसँग साइनो जोडिएका दिलबहादुर घर्तिको प्रवेश भयो । लमजुङ कांग्रेसमा बहादुर समूह भनेर चिनिएका केन्द्रीय सदस्य दिलबहादुर घर्ती, तीनपटक संसदीय निर्वाचन जितेका पूर्वमन्त्री रामबहादुर गुरुङ, जिल्ला सभापति भेषबहादुर पौडेल र संविधान सभा सदस्य चन्द्रबहादुर कुँवरको मनामानीप्रति कांग्रेसभित्र नै विद्रोह भयो । बहादुर समूहको हस्ती थिए–पूर्वसभापति शंकरकान्त जोशी । जोशीकै भरमा यो समूह बलियो बन्यो ।
१३ औं महाधिवेशनबाट भेषबहादुर पौडेललाई सभापति जिताउन पनि उनै जोशीको निर्णायक समर्थन रह्यो । यो चुनावमा भने जोशीले बहादुर समूह छाडिदिए । जिल्लाको राजनीतिमा प्रतिद्वन्द्वी रहेका नेता तुलसीनारायण श्रेष्ठसँग गठबन्धन बनाइदिए ।दोस्रो संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका श्रेष्ठलाई हराउन पनि जोशी लागिपरेको श्रेष्ठ समुहले आरोप पनि थियो ।
जोशीले १२ औं महाधिवेशनमा श्रेष्ठलाई हराएका कृष्ण कोइरालालाई पनि आफूसँगै लगिदिए । जसका कारण त्यहाँ देउवा पक्षीय टकराजले बाजी मारे । जोशीले जता समर्थन जनायो, उसैले चुनाव जित्छ भन्ने थेगो जिल्लामा यसपटक पनि प्रमाणित गरिदिए ।
यसरी बन्यो गठबन्धन
२०४९ सालमा जिल्ला विकास समिति लमजुङको सभापतिमा निर्वाचित भएका शंकरकान्त जोशी २०५७ सालमा कांग्रेस लमजुङको सभापति निर्वाचित भएका थिए । त्यसयता, लमजुङ कांग्रेसको राजनीतिमा उनको निर्णायक पकड छ । जोशी समूह यो पटक प्रदेश सभा २ का सभापति रहेका बृषराज गुरुङलाई जिल्ला सभापतिमा उठाउन चाहन्थ्यो । तर, पौडेल समुहले सभापतिमा गमप्रसाद गुरुङलाई अघि सारेपछि उनीहरुमा विवाद चर्कियो । विवाद मिल्न नसक्दा जोशी र कोइराला आफ्नो टिमसहित देउवा पक्षसँग मिल्न पुगे । यद्यपि, पौडेल पक्षबाट विद्रोह गरेका पूर्व सभापतिद्धय जोशी र कोइराला दुबैले आफुहरु देउवा गुटमा नगएको दावी गरेका छन् ।
तर,स्रोतका अनुसार केन्द्रका नेताहरुको उपेक्षा पनि एउटा कारण रहेको जोशी पक्षका एक नेताले बताए । कांग्रेस लमजुङको राजनीतिमा जीवनभर पौडेल पक्षमा लाग्दासमेत सधै उपेक्षामा पर्ने गरेको उनको समुहको भनाई छ । कांग्रेस लमजुङमा देउवा पक्षसँग मिल्नुपर्ने परिस्थिति बनेको जोशीले बताए । ‘पार्टीभित्र दादागिरी र हेपाहा प्रवृत्ती देखियो,’ उनले भने, ‘राजनीतिमा कोसँग मिल्ने र कोसँग नमिल्ने भन्ने कुरा परिस्थितिमा भर पर्दोरहेछ ।’
गतबर्ष जेठमा बेसीशहरका कार्यकर्ता विजय श्रेष्ठले जोशीलाई कुटपिट गरे । उक्त घटनाका दोषीलाई कारवाहीका सवालमा पार्टीले कुनै भूमिका नखेलेको भन्दै उनले पार्टीको जिल्ला सदस्यबाट राजिनामा बुझाएका थिए । त्यसयता, जोशी पौडेल समुहबाट टाढिदै गएका थिए । कांग्रेस लमजुङका पूर्वसभापति कृष्णप्रसाद कोइराला पनि केन्द्रीय सदस्य दिलबहादुर घर्तीका विरुद्ध गठबन्धन बनाउन पुगेको बताए ।
‘हामीमाथि केन्द्रीय सदस्य दिलबहादुर घर्ती ज्युले अन्याय गर्नुभयो, कुनै संरक्षण गर्नुभएन, उनले भने, त्यसैका विरुद्ध जिल्लामा हामी मिलेका हौं, देउवा गुटमा लागेका हौइनौं,’ उनले भने ।
पुन : मतगणना गर्न माग
नेपाली कांग्रेस लमजुङको अधिवेशनबाट जिल्लाबाट प्रतिनिति सभा जितेर मन्त्री बनेकादेखि पूर्वसभापति समेत पराजित भएका छन् । काँग्रेस क्षेत्र नम्बर १ बाट निर्वाचन जितेर मन्त्री बनेका डा. रामचन्द्र अधिकारी महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन् । यता, नेता शंकरकान्त जोशीले चाहिँ ७ मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गरेका छन् । उनले केन्द्रीय निर्वाचन समितिमा निवेदन पनि दिएका छन् । मतगणनामा धाँधली भएको उनको आरोप छ ।





