काठमाडौं/ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गरिसकेका छन् ।
त्यस्तै, सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी भएका छन् ।
महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका र्याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरिरहेका छन् ।
महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।
यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ। उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताएका थिए। ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ । मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् ।
भट्टराईका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् । प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला छन् ।
कुल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहने बताइएको छ ।
महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुँदैछ। महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको भट्टराईले जानकारी दिए ।





